भर्खरै :

हरेक संवादमा कहीं न कहीं अनुवाद अन्तर्निहित हुने गर्दछ

(नेपाली भाषामा प्रकाशित ‘खबुज’ उपन्यासबारे धेरैलाई थाहा हुनुपर्छ । खाडी मुलुकमा श्रम बेच्न गएका युवाहरूकोजीवनका उकालीओरालीबारे लेखिएको सो उपन्यास नेपालमा निकै लोकप्रिय भयो । त्यो उपन्यासका लेखक हुन् बेन्यामिन । उनी मलायालम भाषामा साहित्य लेख्ने साहित्यकार हुन् । हालै उनको अर्को उपन्यासको अङ्ग्रेजी अनुवाद ‘जस्मिन डेज’ प्रकाशित भएको छ । मलायालम भाषाबाट त्यो कृतिको अङ्ग्रेजी अनुवाद गरेकी छिन्–शाहनाज हबिबले । यसै सालदेखि विभिन्न भाषाबाट अङ्ग्रेजी भाषामा अनुवाद कृतिलाई दिइन थालेको जेसीबी साहित्य पुरस्कार त्यही कृतिले जितेको छ । आफ्नो अनुवाद कार्यको थालनीकै कृति पुरस्कृत हुँदा दङ्ग छिन्–शाहनाज हबिब । उनै अनुवादक शाहनाज हबिबसँगै स्क्रोल.आइएनका लागि उर्वशी बहुगुणाले गरेको कुराकानीको नेपाली अनुवाद प्रस्तुत छ–सं) 
‘जस्मिन डेज’ उपन्यासले जेसीबी पुरस्कार जित्यो । तपाईंको लागि यसको अर्थ के हो ?
एकै वाक्यमा भन्नुपर्दा म निकै उत्साहित भएँ । विशेषतः म उपन्यासकार बेन्यामिनको लागि खुसी भएँ । किनभने बेन्यामिन यो सम्मानको लागि योग्य पात्र हुन् । ‘जस्मिन डेज’ एउटी युवतीको बारेमा लेखिएको उपन्यास हो । त्यो युवतीले आफूले कुनै किताब लेख्दै छु भन्ने कुरा थाहा नपाएर नै किताब लेखिरहेको हुन्छे । पुरस्कार जितेपछि आफ्नो जीवनभन्दा बाहिरका मानिसलाई पनि आफ्ना शब्दले कसरी प्रतिध्वनित गर्नसक्छ भन्ने कुरा त्यो पात्रले महसुस गरेकी हुनुपर्छ भनी विचार गरें ।
तर…साथै मलाई कस्तो अनौठो अनुभव पनि भयो । मेरो विचारमा शब्दसँग काम गर्ने हामी अधिकांश लेखकहरू अस्वीकार्यता र आफ्ना प्रियजनसँगको टाढा बस्नुपर्दा यति जब्बर बनिसकेका हुन्छौं, केही कुरा जित्न पाउँदा हामी औधी खुसी भइहाल्ने रहेछौं ! जस्मिन डेजले यो पुरस्कार पाउनु भनेको अनुवादले पनि पुरस्कार जितेकै हो । एक जना अनुवादक र अनुवाद कृतिका पाठकको नाताले यसले मलाई आशावादी बनाएको छ ।
अनुवाद वा त्यस्तै छायाँमा परेका लेखनका सम्बन्धमा अन्य साहित्यिक पुरस्कार दिने संस्थाहरूबारे तपाईंका सुझाव के छन् ?
पुरस्कारहरू त राम्रा हुन् । तर लेखन र अनुवादको लागि हामीकहाँ अरू थप अनुदान वा लेखनवृत्ति भए अझ राम्रो हुने थियो । त्यस्तो व्यवस्था भए लेखक वा अनुवादक वा कविले कम्तीमा कृति लेखुञ्जेल आफ्नो सम्पूर्ण समय र ध्यान लेख्दै गरेको विषयमा केन्द्रित गर्नसक्ने थिए । लेखन प्रक्रियामा धेरै ऊर्जा र सङ्घर्षको आवश्यकता पर्ने गर्दछ । लेखनवृत्तिले लेखकलाई अझ बढी जोखिमपूर्ण काम गर्न उत्साहित गर्नेछ । उनीहरूले आर्थिक रुपमा सम्भव नभएका अनुवादका काम गर्नसक्नेछन् । मूलधार वा बजारमा कुनै प्रकारको आकर्षण नभएका निबन्ध लेख्न लेखकलाई उत्साहित बनाउनेछ । हामीलाई अरू कुनै पनि समयमा भन्दा अहिले त्यस्तो लेखनवृत्तिको आवश्यकता परेको छ ।
तपाईंले आफ्नो पछिल्लो एउटा अन्तर्वार्तामा ‘भन्न खोजेको अर्थ’ र ‘वास्तविक अर्थ’ बीचको दूरीको विषयमा भन्नुभएको थियो । ‘जस्मिन डेज’ मा बुबाले संयोगवश छोरीलाई उसको जन्म दिनमा क्रिसमस कार्ड उपहार दिएको प्रसङ्गको सन्दर्भ जोडेर त्यसमा प्रकाश पार्न खोज्नुभएको थियो । अर्थका दुई किसिमबीचको दुरीबारे केही थप चर्चा गर्नुहुन्छ ? हाम्रो दैनिक जीवनभित्रै अनुवादको सन्दर्भमा यो दुरी कसरी आउने गरेको पाउनुहुन्छ ?
भारतजस्तो देशमा हामी दैनिक जीवनमा बहुभाषाको प्रयोग गर्छौँ । एउटा भाषा घरभित्र प्रयोग गरिरहेका हुन्छौँ भने कार्यालयमा अर्कै भाषा प्रयोग गरिरहेका हुन्छौँ । अनि फेरि बजारमा अर्कै भाषा बोलिरहेका हुन्छौँ । भाषिक एकरुपता भएका ठाउँहरूको तुलनामा हाम्रो ठाउँमा दैनिक रुपमा हामी धेरै अनुवाद कर्म गरिरहेका हुन्छौँ । तर त्योभन्दा पनि पर, हरेक संवादमा कुनै न कुनै रुपमा अनुवाद अन्तर्निहित रहने गरेको हुन्छ । भलै त्यो सीमित मानिसले मात्र बुझ्ने खालको किन नहोस् । भाषिक दुरी नभएको अवस्थामा पनि अरू धेरै थरी दुरी हुनसक्छन् । जस्तै विभिन्न पुस्ता, लिङ्ग, लैङ्गिकता, सामाजिक वर्ग, धर्म आदिका कारण पनि अनुवादमा भाषिक दूरी आउन सक्दछन् । एकै परिवारमा हुर्केका दाजुभाइ र दिदीबहिनीबीच पनि ‘अनुवाद’ को आवश्यकता पर्नसक्दछ किनभने उनीहरूका अनुभव नितान्त भिन्न–भिन्न हुने गर्दछ । कहिलेकाहीं यस्ता दुरी अचानक अनपेक्षित रुपमा आउने गर्दछ । सम्बन्धको आत्मीयता र यस्ता दूरीबीचको घर्षण ज्यादै पीडादायी हुने गर्दछ । ‘जस्मिन डेज’ मा बाबु–छोरीबीचको सम्बन्धमा त्यस्तै भएको छ ।
‘जस्मिन डेज’ उपन्यासले नै तपाईंलाई किन तान्यो ?
विशेषतः मलाई उपन्यासकी कथावाचिकाले आकर्षित ग¥यो । ज्यादै शक्तिशाली, रमाइलो, कुरा गरिरहनुपर्ने स्वभावकी त्यो युवतीले पुरुषहरूको अधिकता भएको घरमा पनि आफूलाई सम्हालेकी हुन्छिन्, अझ आफ्नो हप्कीदप्कीसमेत चलाएकी हुन्छिन् । मलाई उपन्यासमा चित्रित अनाम पश्चिम एसियाली सहरले पनि तान्यो । त्यही सहरमा यो सिङ्गो उपन्यास बुनिएको छ । मलायालमका अधिकांश परिवारजस्तै मेरो परिवारका सदस्य पनि खाडी देशमा छन् । त्यही भएर पनि मलाई खाडी देशका आप्रवासी मजदुरहरूको जीवनका विभिन्न आयामबारे विशेष चासो रह्यो । त्यहाँ कसरी विभिन्न देश र पृष्ठभूमिबाट आएका मजदुरहरूबीच अन्तरक्रिया हुने होला, त्यस्तो परिस्थितिमा उनीहरूको अपनत्वभाव कस्तो होला ? यस्ता धेरै प्रश्नप्रति मेरो उत्सुकता छ । यस्ता विषयमा थुप्रै अमेरिकी आप्रवासी साहित्य लेखिएका छन् । तर अरू देशबाट जाने आप्रवासी मजदुरहरूका बारेमा त्यत्ति धेरै कथा लेखिए जस्तो मलाई लाग्दैन ।
अनुवाद थाल्दा तपाईंको सुरूका केही कदम कस्ता हुने गर्थे ?
म सेतो मैनबत्ती बाल्थें अनि पूरै जीउभरि सेतो कपडा लगाउँथें…हाहाहा, ठट्टा गरेकी । सुरूमा त म किताब नै पढ्छु । कृतिको अर्थको गहिराइ बुझ्ने प्रयास गर्छु । किताबका पानाका खाली ठाउँमा म टिप्पणी केर्ने गर्छु वा मैले राम्ररी नबुझेका शब्दका अर्थबारे लेख्ने गर्छु । म पुस्तकाकारमै पुस्तक पढ्न रुचाउँछु । तर जब म पृष्ठ–पृष्ठको अनुवाद थाल्छु, मलाई पुस्तकको डिजिटलप्रतिमै काम गर्न सजिलो लाग्छ । मेरो ल्यापटपको स्क्रीनमा दुवै मूल पाठ र अनुवाद गर्दै गरेको पाठ राखेर काम गर्दा सजिलो महसुस गर्दछु । (ल्यापटप र किताबबीच ओहोरदोहोर गरिरहनुभन्दा यो सजिलो तरिका पनि हो ।)
अनुवादकको रुपमा ‘जस्मिन डेज’ जस्ता कथाभित्रका सांस्कृतिक पृष्ठभूमिबारे तपाईंले कसरी थाहा पाउनुभयो ? जस्तैः सुन्नी र शिया मुसलमानहरूको पहिचान, लिङ्ग, खाडी क्षेत्रका आप्रवासी हुनुको वास्तविकता आदि । विशेष शब्द, शब्दावली र संवादको अङ्ग्रेजी अर्थको लागि तपाईंले खाडी देशमा गएका कोही साथी वा अरु कोही मजदुरका अनुभवको सहायता लिनुभएको थियो ?
सुन्नी र शिया मुसलमानका पहिचान, लिङ्ग, खाडी क्षेत्रमा आप्रवासी हुनुको वास्तविकतासम्बन्धी सांस्कृतिक पृष्ठभूमिबारे मैले खासै कुनै अलमल सामना गर्नुपरेन । किनभने त्यस्ता विषयमा मैले बेन्यामिनले कोरेको गोरेटोमै हिंडेको थिएँ । मैले उनको कथालाई पुनव्र्याख्या गर्न खोजेकी थिइनँ । कुनै विशेष शब्द वा संवादको टुक्राको सन्दर्भमा म उपन्यासकी पात्रजस्ती कोही मैले चिनेजानेकी युवतीलाई सम्झिएर लेख्थेँ । विदेशी भूमिमा आफ्नो सुरक्षा खोज्ने मानिसको बीचमा आफ्नो पहिचान र शक्ति खोज्ने युवतीहरूको म कल्पना गर्थेँ ।
‘जस्मिन डेज’ तपार्इंको साहित्य अनुवादको पहिलो कृति हो । यो कृतिको प्रकाशनप्रति प्रतिक्रिया कस्तो होला भन्नेबारेमा तपाईं चिन्तित हुनुहुन्थ्यो ?
पक्कै पनि थिएँ । अनुवादकै क्रममा म हेलेन वेनिजवेगको कृति ‘बेसिक ब्ल्याक विथ पल्र्स’ किताब पढ्दै थिएँ । त्यसका मूल पात्रलाई हवाईजहाजमा बस्दै गर्दा क्लाउस्ट्रोफोविक (बन्द कोठामा बस्दा हुने शारीरिक अप्ठ्यारो) हुन्छ । उसले भन्छ, “म दुईवटा भाषामा सड्ढट भोग्न तयार छु ।” तत्कालै मलाई मैले ज्ञान हासिल गरेको अनुभव भयो !
मलाई सबभन्दा ढुक्कको कुरा त मेरा सम्पादकहरू ज्यादै सहयोगी र विश्वासयोग्य थिए । त्यसकारण मैले धेरै चिन्ता लिनुपर्ने अवस्था भएन । तर कोही मलायाली भाषा जान्ने पाठकले यो अनुदित कृति पढे अर्को पटक म केरला जाँदा पक्कै पनि पुस्तकको छेउमा लेखिएका केही टिप्पणी मलाई देखाउनेछन् र यसको अझ प्रभावकारी अनुवाद कस्तो हुनसक्छ भनेर मलाई सल्लाह दिनेमा म विश्वस्त छु ।
मलायाली भाषा र अङ्गे्रजी भाषाबीचको पुल निर्माणको प्रक्रियाबारे केही भन्नुहुन्छ ? यी दुई भाषाबीचको सम्बन्ध कस्तो लाग्छ ?
शक्ति संरचनालाई एकातिर राखौं । भाषिक संरचनाको कुरा गरौं । मलायाली भाषा ग¥हुँगो भाषा हो । लामा वाक्य विचारले खँदिला हुन्छन् । तर अङ्ग्रेजी भाषाका लामा–लामा वाक्यहरू बुझ्न गा¥हो र अगठिलो हुने गर्दछन् । तथापि अङ्ग्रेजी भाषा शब्दमा भने धनी भाषा हो । मलायाली भाषामा नभएका धेरै शब्दको लागि अङ्ग्रेजी भाषासँग भण्डार नै छन् । साहित्यिक अनुवादमा त्यति उपयुक्त नलाग्ने मलायालीमा धेरै अवधारणा वा अभिव्यक्ति पनि छन् । उदाहरणको लागि, ‘जस्मिन डेज’ भित्र चित्रित जुलुसबारे एकजना मलायाली युवकले सामाजिक सञ्जालमा “हामी आफूले आफैंको सुश्रुषा गर्ने मानिस हौं, त्यसैकारण हामी सुरक्षित छौँ ।” भनेर लेख्छ । तर मलायालम भाषामा उपन्यासको पात्रले आफ्ना मलायाली सहपाठीहरूको आलोचना गर्दै त्यसो भनेको हुन्छ । आफ्नोमात्र स्वार्थ हेर्ने मलायाली सहपाठीको आलोचना गर्दै पात्रले यस्तो बोलेको हुन्छ । यसको अर्थ ‘हामी आफ्नो लागि मात्र हेर्छौँ, अरुको बेवास्ता गर्छौँ’ भन्ने हो । अङ्ग्रेजी भाषामा भने एक प्रकारले सदाशयता वा उत्प्रेरणाजस्तो भाव दिएको छ–यो वाक्यले । अङ्ग्रेजीमा यसको भाव, ‘हामी स्वाधीन मानिस हौँ, हामी समस्या समाधान कसरी गर्ने राम्ररी जान्दछौँ । हामी सुरक्षित छौँ ।’ यहाँ भाषिक दूरी देखिएको छ । समुदायप्रति केन्द्रित मलायाली समुदायमा आफ्नो मात्र स्वार्थ हेर्नु भनेको एक प्रकारको सानो अपराध हो । त्यसकारण मैले त्यो वाक्यको अनुवाद यसरी गरें, “हामीलाई आफ्नो भलो कसरी हुन्छ थाहा छ ।”
तपार्इंलाई मनपर्ने केही अनुवादकहरू ?
धेरै जना छन् । अनुवादक को हो भनी याद नै नगरी धेरै किताब पढिन्छ । आफैं कविता लेख्न नजाने पनि लेख्न पाए हुने भनी सोच्ने मजस्तो मान्छेलाई एलिजावेथ विशोपले विशेष रुपमा प्रभावित बनाउने गर्दछ । उनले विभिन्न भाषामा लेखिएका कविता अङ्ग्रेजीमा अनुवाद गरेकी छिन् । आजभोलि म एमआर रेनुकुमारले सम्पादन गरेको र अभिरामी गिरिजा श्रीराम तथा एन रविशड्ढरले अनुवाद गरेको मलायाली दलित लेखकहरूका कथासङ्ग्रह ‘डन्ट वान्ट कास्ट’ पढ्दै छु ।
तपाईंलाई अनुवाद गर्न पाए हुने जस्तो लागेको कुनै कृति छ ?
आजभोलि मलाई अनुवाद गर्न पाए हुने जस्तो कृति द्यभल ख्बगनजल त्तगष्लतभत को एष्भअभ म्भ च्भकष्कतबलअभ का गीतहरू हुन् ।
अनुवादक जेस्सिका मुरले एउटा काव्यात्मक उपन्यास अनुवाद गर्ने क्रममा कवितासम्बन्धी अर्को एउटा अलगै कृति नै लेखेकी थिइन् । “कविताका हरफहरू अनुवाद गर्दै गर्दा कविताका नयाँ अंश उफ्रेर आफूसामु आउने गर्दछन् ।”, उनले लेखेकी थिइन् । अनुवादको क्रममा त्यसरी केही नयाँ मौलिक लेखनका टुक्राहरू जन्माउनुभएको छ कि ?
अहँ, छैन । मैले भर्खर त दुईवटा कृति अनुवाद गरेँ । त्यसकारण मसँग त्यस्तो गहिराइ र विस्तारित अनुभव भइसकेको छैन ।
आजभोलि तपाईं के गर्दै हुनुहुन्छ ?
एउटा उपन्यास लेख्दै छु । अगथा क्रिस्टीको ‘मर्डर इन मेसोपोटामिया’ को पुरातत्व उत्खननमा एकजना भारतीय भान्छेको चर्चा गरिएको छ । मलाई त्यहाँ कसरी त्यो भारतीय भान्छे पुग्यो भन्ने उत्सुकता लागेको थियो । त्यही विषयमा उपन्यास लेख्दै छु ।
नेपाली अनुवादः नीरज

Leave a Reply

Your email address will not be published. Required fields are marked *