हरि श्रेष्ठ
नई प्रकाशनका दुई कृति ‘विद्रोही प्राज्ञः प्रेमा शाह’ र गायत्री घर्तीमगरको ‘एक भूल’ महिला साहित्यकारहरूका कृति हुन् ।
प्रेमा शाह ११ असार २००२ सालमा वीरगञ्जको श्रीपुरमा एक सम्मानित परिवारमा जन्मेकी थिइन् । उनको निधन ५ पुस २०७४ सालमा अमेरिकामा क्यान्सर रोगले भएको थियो । २०२० सालदेखि २०२७ सालसम्म उनको साहित्यिक व्यक्तित्व चर्चाको शिखरमा पुगेको थियो । २०२६ सालमा उनले नेपाली विषयमा स्नातकोत्तर गरिन् र २०३१ सालमा चित्रकला (पेन्टिङ) मा बनारस विश्वविद्यालयबाट डिप्लोमा सकाइन् ।
२०२१ सालमा राष्ट्रिय नाचघरमा एउटा साहित्यिक समारोहमा प्रेमा शाहले ‘आऊ मलाई सम्भोग गर’ भन्ने शीर्षकको कविता सुनाइन् । १९ वर्षकी एक कवयत्रीले नेपालको पुरानो समाजको पर्दा नहटिसकेको बेला त्यस्तो रचना पाठ गर्नु ठूलो साहस, आश्चर्य र विस्मयको विषय थियो । त्यसैले तिनको चर्चा चलिरह्यो– मृत्युपर्यन्त ।
‘पहेँलो गुलाफ’ (कथा सङ्ग्रह–२०२३), ‘विषयान्तर’ (कथा सङ्ग्रह २०२८), २०४० सालको ‘ममी’ लघु उपन्पास, संयुक्त उपन्यासको रूपमा प्रकाशित ‘आकाश विभाजित छ’ (२०३२), रवीन्द्रनाथ ठाकुरको ‘चित्राङ्गदा’ नाटक हिन्दी भाषाबाट नेपालीमा अनुवाद आदि उनका कृतिहरू छन् ।
‘मन्ढुकी बज्यैको कथाको पेटारो’ (२०३८), ‘जिन्की र जोकर’ (२०४०), ‘इन्द्रधनुष’ (२०४२), ‘रङ्गीचङ्गी कथाहरू’ (२०४५), ‘राम्रो काम’ (२०५१) र ‘रेका केही कथा’ (२०५१) बालकथा सङ्ग्रहहरू प्रकाशित छन् । ‘रामेको कथा’ (२०४२), ‘मनु र भँगेरा’ (२०४३), ‘आनन्दको आविष्कार’ (२०४३) सहित उनका तीन बाल उपन्यास छन् । ‘उज्यालो’ नामक बाल पत्रिकाको सम्पादनमा उनी लागेकी थिइन् ।
छोरी जल शाहलाई प्रेमाको बारेमा नरेन्द्र प्रसाईंले मामाको नातामा लेख्छन्, “… कसैको घरमा जाँदा राणाको ढर्रा र ठकुरी शैली उनीमा जीवितै थियो । उनको व्यक्तित्वको चमक एकातिर विशिष्ट थियो भने अर्कोतिर उनको मान्छेप्रतिको व्यवहार नै सुगन्धित फूलझैँ थियो । उनको त्यही गुणका कारणले म पनि उनीसँग गलेकी थिएँ र म पनि उनका पछिपछि लागिरहेँ ।”
“… प्रेमा … विदुषी हुनुका साथसाथै कुलघरान र सुसंस्कारले सुसज्जित थिइन् । …. उनी आफूले खाईनखाई अरूलाई खुवाउने गर्थिन् ।”
नरेन्द्रराज प्रसाईले प्रेमा शाहका महिला र पुरुष मित्र, गुरू र साहित्यकारहरूसँगको मित्रताका साथै उनको जीवनका उकाली र ओरालीबारे पनि लेख्दै उनकी छोरी नायिका जल शाहसम्मका कुरा आकर्षक र रोचक ढङ्गले लेखेर एक चर्चित महिला साहित्यकारसँग नयाँ पाठकहरूलाई परिचय गराएका छन् । पुस्तकको आकार प्रकार आकर्षक र गाता सुन्दर छ ।
एक भूल
गायत्री घर्तीमगरको ‘एक भूल’ उनको आत्मकथा हो । रोल्पाको लिवाङमा जन्मेकी घर्तीमगरले आफ्नो ४५ औं वर्षमा ‘एक भूल’ (२०७५) प्रकाशित गरिन् । २०६२ मा ‘जिन्दगी’ भन्ने गजल सङ्गह र शास्त्रीय छन्दोबद्ध कविता सङ्ग्रह ‘राप्तीका छालहरू’
(२०७०) मा प्रकाशित भए ।
‘एक भूल’ मा गायत्री घर्तीमगरले आफ्नो विद्यालयकालदेखि आमा, एक बुहारी, एक शिक्षिका र एक नारीको रूपमा कसरी आफ्नो कर्तव्य पुरा गरिन् भन्ने आँसु, पीडा र दुःखको फेहरिस्त छ । ‘एक भूल’ ले गायत्रीको मात्रै होइन दुर्गम क्षेत्रका नेपाली महिलाको प्रतिनिधित्व गर्छ । आफ्नो लोग्नेको छली र क्रुरताबारेको बयानभन्दा पनि दुर्गम जिल्लाका विभिन्न जात–जातिका पुरुषहरूको निर्दयी आचरणको वास्तविक चित्रण छ ।
दुःखै–दुःख र पीडाकै बीचमा घर्तीमगरले त्रिभुवन विश्वविद्यालयबाट स्नातकोत्तर गरेर निर्मम पुरुषत्वको शेखी झारिन् । तर भूलमा शीर्षक नहुनु, मिति नहुनु र विषयवस्तु दोहोरिंदा कहिलेकाहीं पुस्तक पट्यार लाग्छ । शीर्षक र पुनर्उक्ति भएको भए सुनमा सुगन्ध हुन्थ्यो । पुस्तकको शीर्षक ‘भूल’ भन्दा ‘आँसु’ उपयुक्त हुनेथियो ।