भर्खरै :

देशको सार्वभौमिकता रक्षा गर्ने नयाँ पुस्ताको आवश्यकता

भक्तपुर, १७ कार्तिक । भक्तपुर नगरपालिकाको आयोजनामा कार्तिक ११ देखि १७ गतेसम्म सञ्चालित भक्तपुर नगरव्यापी विद्यालयस्तरीय टेबुलटेनिस, भलिबल, फुटसल, कबड्डी, खोखो, एथ्लेटिक्स, बुद्धिचाल, ब्याडमिन्टन, कराँते, उसु, तेक्वान्डो, पोर्टबल र कसिमला पाँय प्रतियोगिताको पुरस्कार वितरण कार्यक्रम शनिबार सम्पन्न भयो ।
कार्यक्रममा नेपाल मजदुर किसान पार्टीका सचिव एवं सांसद प्रेम सुवालले खेल प्रतियोगिता अनुशासित र मित्रवत् तरिकाले खेलिनुपर्ने र खेल प्रतियोगिताहरूले राष्ट्रिय÷अन्तर्राष्ट्रिय स्तरका खेलाडीहरू उत्पादन गर्न मद्दत पुग्ने बताउनुभयो ।
देशलाई अन्तर्राष्ट्रिय रुपमा चिनाउने काम खेलाडीले गर्ने हुँदा विद्यार्थीको शारीरिक र मानसिक विकासको निम्ति खेलकुदलाई अनिवार्य संवैधानिक व्यवस्थाको रुपमा उल्लेख गर्न संसदमा सङ्घर्षरत रहेको उहाँले बताउनुभयो ।
संविधान संशोधनमा वंशजको आधारमा नागरिकताको बन्दोबस्त हुनुपर्ने र हिमाल, पहाड, तराई समावेश प्रदेश निर्माणको निम्ति संसदमा आवाज उठाउँदै आएको चर्चा गर्दै सांसद सुवालले देशको सार्वभौमिकता रक्षा गर्ने नयाँ पुस्ताको आवश्यकता रहेको औंल्याउनुभयो ।
निर्मला पन्तका हत्यारालाई सरकारको संरक्षण भएको हुनसक्ने आशङ्का व्यक्त गर्दै उहाँले रक्षक नै भक्षक हुने किसिमले सरकारले कार्य गरिरहेको बताउनुभयो ।
भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले आजका विद्यार्थी भविष्यका कर्णधार हुन्, खेलकुद प्रतियोगिताले विद्यार्थीहरूमा अनुशासनको विकास गर्ने र समाजप्रति जिम्मेवार हुन सिकाउने बताउनुभयो । उहाँले खेलाडीहरू आर्थिक प्रलोभनमा पर्ने, विदेश पलायन हुने खतरा भएको बताउँदै सरकारको खराब नीतिकै कारण खेलाडीहरू ओझेलमा परेको बताउनुभयो ।
खेलकुद र शिक्षालाई समान रुपमा अगाडि लानुपर्ने बताउँदै प्रमुख प्रजापतिले नगरपालिकाको हरेक काममा नगरवासीहरूको साथ र सहयोग रहेको हुँदा काम गर्न सजिलो भएको बताउनुभयो ।
नेपाल मजदुर किसान पार्टीका प्रदेश नं. ३ का प्रदेशसभा सदस्य सृजना सैंजुले भक्तपुर नगरपालिकाले खेलकुदमार्फत अन्य नगरपालिकाको लागि उदाहरणीय शिक्षा दिइरहेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘‘खेल आत्मसुरक्षाको निम्ति हो । सामूहिक कार्यको अग्रसरताको निम्ति पनि खेल आवश्यक छ ।’’
कार्यक्रममा भक्तपुर नगरपालिका वडा नं. १ का वडा अध्यक्ष श्यामकृष्ण खत्रीले स्वागत मन्तव्य दिनुभएको थियो । वडा नं. ७ का वडा अध्यक्ष उकेश कवां र वडा नं. ९ का वडा अध्यक्ष रवीन्द्र ज्याख्वले पनि बोल्नुभएको थियो ।
भक्तपुर नगरव्यापी विद्यालयस्तरीय खेलकुद प्रतियोगितामा भक्तपुरका ९२ वटा स्कूलमध्ये ६९ वटा स्कूलले सहभागिता जनाएका थिए । प्रतियोगिताका विजयी खेलाडी र विद्यालयलाई प्रमाणपत्र र खेल सामग्री वितरण गरिएको थियो ।
प्रतियोगिताका उत्कृष्ट खेलाडीहरूमा कराँते खेलमा रोम्बस स्कूलका सुजल कोण्डा र साइनिङ स्कूलका प्रियन्सा तामाङ, एथ्लेटिक्स खेलतर्फ जेसिज माविका कुजल धुख्वा र स्वागता खाइजु, भलिबल खेलमा पद्म माविका हिमाल बस्नेत र वागीश्वरी माविका मञ्जु लागेजु, टेबलटेनिस खेलमा एभरेष्ट इ. स्कूलका वसिस दुवाल र विद्या विकासका पूर्णिमा गोठे उत्कृष्ट खेलाडी छनोट भएका थिए ।
साथै बुद्धिचाल खेलमा ब्राइट स्टार इ. स्कूलका किमत बाटी र बाल विकास से. स्कूलका कृशला प्रजापति, कबड्डी खेलमा वागीश्वरी माविका निर्जल खत्री र ख्वप्रिङ एकेडेमीका निकिता कुसी, ब्याडमिन्टन खेलमा प्रोक्सिमा इन्टरनेसनल स्कूलबाट रिजन ख्याजु र सामुदायिक स्कूलका एन्जल बासुकला, फुटसल खेलमा ख्वप माविका सुदर्शन श्रेष्ठ, टेक्वान्डो खेलमा रोम्बस नेसनल स्कूलका रोशन बासी र साइनिङ स्टुडेन्ट एकेडेमीका मनिषा ग्वाछा, खो–खो खेलमा ब्राइट स्टार स्कूलका रोहन सुवाल र सूर्यविनायक स्कूलका शेख फिरोज आलाम, पोर्टबल खेलमा प्रभात इ. स्कूलका युनिष बासुकला र ब्राइट स्टार इ. स्कूलका प्रसन्ना सुजखु, उसु खेलमा जेसिस स्कुलका एभ्रिल कायष्ठ र अर्जुन धौभडेलले उत्कृष्ट खेलाडीको उपाधि पाएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *