साओ पाउलो, ३ नोभेम्बर । ब्राजिलमा नवनिर्वाचित फासीवादी राष्ट्रपति जेयर बोल्सोनारोले क्युवासँग कूटनीतिक सम्बन्ध कायम राख्नुमा कुनै तुक नभएको बताएका छन् । ब्राजिलको अखबारलाई दिएको अन्तर्वार्तामा संरा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पकै कुरामा लय मिलाउँदै उनले क्युवाली सरकारले मानव अधिकार उल्लङ्घन गरेको आरोप लगाए ।
संरा अमेरिकाको राष्ट्रिय सुरक्षा सल्लाहकार जोन बोल्टनले ब्राजिलमा जायर बोल्सोनारोको चुनावी विजयको प्रशंसा गर्दै सो क्षेत्रको लागि यसलाई सकारात्मक विकासको रुपमा चर्चा गरेका थिए । बोल्टनको यस्तो अभिव्यक्ति सार्वजनिक भएको भोलिपल्ट बोल्सोनारोले संरा अमेरिकी सरकारप्रति लय मिलाउँदै समाजवादी देश क्युवाको आलोचना गरेका हुन् ।
आफ्नो पछिल्लो मन्तव्यमा सुरक्षा सल्लाहकार बोल्टनले भेनेजुयला, क्युवा र निकारागुआका प्रजातान्त्रिक सरकारको आलोचना गर्दै ‘तानाशाही शासनको त्रिदेश’को उपमा दिएका थिए ।
अन्तर्वार्तामा क्युवाले सहयोग गर्दै आएको ‘मोर डाक्टर्स’ कार्यक्रमको बोल्सोनारोले आलोचना गरेका थिए । सो कार्यक्रमअन्तर्गत ब्राजिलका अति विपन्न तथा दुर्गम क्षेत्रमा ११ हजार क्युवाली डाक्टरहरू काम गरिरहेका छन् । सन् २०१३ बाट सो कार्यक्रम सुरू गरिएको थियो ।
बोल्सोनारोको भनाइअनुसार क्युवाली डाक्टरको तलबको ७५ प्रतिशत क्युवा सरकारले बेहोर्दै आएको र उनीहरूका छोराछोरीलाई ब्राजिलमा बस्न नदिइएको आरोप लगाए ।
“यस्तो बन्दोबस्त भनेको आमाहरूलाई मात्र दुःख हो । …के त्यस्तो देशसँग हामीले कूटनीतिक सम्बन्ध राख्न जरुरी छ ।”, उनले भने ।