नारायणमान बिजुक्छें (रोहित) नेपाली वाम राजनीतिमा आदर्श नेताका रूपमा परिचित हुनुहुन्छ । उहाँ साँचो कुरा बोल्न कसैसँग डराउनुहुन्न । सिद्धान्तमा अडिग रहनु, भावनामा नबग्नु र आबेगमा नआउनु उहाँको विशेषता हो । बिजुक्छें जे बोल्नुहुन्छ यथार्थ बोल्नुहुन्छ । प्रस्तुत छ, नेपाल मजदुर किसान पार्टी (नेमकिपा) का अध्यक्ष बिजुक्छेंसँग समसामयिक सन्दर्भमा नेपाल समय अनलाइनले गरेको कुराकानी ः–
तपाईं अचेल राजनीतिमा पहिला जति सक्रिय देखिनुहुन्न नि ?
मेरो स्वास्थ्यमा समस्या छ । घुँडा दुख्ने रोग छ । थेरापी गरिरहेको छु । मेरी पत्नी पनि बिरामी भएकीले उपचारमा बढी संलग्न हुनुपरेको छ । त्यसैले राजनीतिक गतिविधिमा कम देखिएको हुँ ।
–पार्टीको कामचाहिँ कसरी व्यवस्थापन गरिरहनुभएको छ ?
पार्टी काममा मेरो संलग्नतामा कमी आएको छैन । काम विभाजन गरेको छु । अरू साथीहरूले बढी समय दिनुहुन्छ । बाहिर जानुपरे साथीहरू जानुुहुन्छ । नजिकका ठाउँमा म पनि जाने गरेको छु ।
–राष्ट्रिय राजनीतिमा आफ्नो भूमिका खुम्च्याउन थाल्नुभएको हो ?
त्यो होइन । परिस्थितिले त्यस्तो बनाएको हो ।
–तपाईं नेपाली कम्युनिस्ट आन्दोलनको एउटा खम्बा हुनुहुन्छ । अहिले कम्युनिस्ट नेतृत्वको दुईतिहाइ सरकारले कस्तो काम गरिरहेको देख्नुहुन्छ ?
अरू कुरा त छोडिदिऊँ, उहाँहरू आफैंले लेखेको घोषणापत्रअनुसार पनि काम भइरहेको छैन । कम्युनिस्टले गर्ने काम गर्नुभएको छैन । भूमिमा किसानको मोहियानी हकको व्यवस्था गर्न सक्नुभएको छैन । हामीले नेपाली जनतालाई काम दिने हो, विदेश पठाउने होइन तर अहिले त युवा बेचिएसरह छन् । बजारमा युवाको मूल्य तोकिएको छ । कम्युनिस्ट सरकारले गर्ने काम के यही हो ?
–यो कम्युनिस्ट सरकार त हो नि ?
हामी यसलाई कम्युनिस्ट सरकार मान्दैनौँ । यसमा कम्युनिस्ट सरकारको कुनै चरित्र छैन ।
–यसको चरित्र कस्तो हुनुपथ्र्यो ?
जमिन जोत्नेको नाममा हुने र मोहियानी हकलाई प्राथमिकता दिनुपथ्र्यो । युवालाई योग्यताअनुसारको काम र कामअनुसारको ज्यालाको बन्दोबस्त हुनुपथ्र्यो । व्यक्तित्व विकासमा समान अवसरको व्यवस्था हुनुपथ्र्यो । यस्ता कुरामा सरकार चुकेको छ ।
–ठूला दुई कम्युनिस्ट पार्टी मिलेको कुरा ऐतिहासिक होइन र ?
उनीहरूमा कम्युनिस्ट चरित्र नै छैन । उनीहरूबाट कम्युनिस्टले गर्ने कुनै पनि काम भएको छैन । त्यसैले यसलाई कम्युनिस्ट एकता भन्न मिल्दैन । मैले त यिनीहरूलाई पहिलादेखि नै भाइ काङ्ग्रेस भन्दै आएको हुँ ।
–दुई पार्टी मिल्नुको कारणचाहिँ के होला ?
यो भारतको डिजाइन हो ।
–एमाले र माओवादीमा को भारततिर ढल्केका हुन् ?
व्यवहारले दुवै उस्तै देखिन्छन् । माओवादी भारतमै जन्म्यो, भारतमै विकसित भयो र भारतकै हतियारले नेपालमा उपद्रो ग¥यो । पुल उडाउने, स्कूल ध्वस्त पार्नेलगायतका धेरै विध्वंस ग¥यो । एमालेले महाकाली सन्धिमा सही गरेकै हो । उनीहरूबीच अहिले भारतले नै मेल गराइदियो ।
–नेपाली कम्युनिस्ट आन्दोलनलाई कमजोर बनाउन भारतीय डिजाइन छ भन्न खोज्नुभएको हो ?
हो, कम्युनिष्टहरूलाई बद्नाम गराउने भारतको योजना हो । नेपाली जनता र चीनबीचको सम्बन्ध राम्रो मानिन्छ । जुन कुरा भारतलाई मन पर्दैन । यसका साथै नेपालमा माओ त्सेतुङ विचारधाराको प्रभाव छ । त्यो पनि भारतलाई मन पर्दैन । माओवादको नामबाट चीनलाई हान्छांँै भन्ने भारतीय डिजाइन हो । सो डिजाइनअनुसार भारतले माओवादका नाममा पार्टी गठन गर्न लगाएर देशलाई क्षतविक्षत गर्न लगायो ।
–तपाईंहरूसँग एकताका लागि प्रस्ताव आएन ?
आएको छैन । आएको भए पनि त्यो प्रस्ताव असफल हुन्थ्यो । हामीले सधैं उनीहरूको आलोचना गर्दै आएका छौँ । सैद्धान्तिकरूपले उनीहरू आफूलाई अडानमा राख्नै सक्दैनन् ।
–तिनीहरू त आफूलाई कम्युनिष्ट नै दाबी गर्छन् नि ?
दोस्रो विश्वयुद्धपछि युरोपमा धेरै समाजवादी दल थिए । तिनीहरू सबैले ‘समाजवाद’ नामको टोपी लगाउँदा लगाउँदै टोपीको आकारै बिग्रेको थियो ।
–तपाईंहरूले पार्टीको नाम नेमकिपा किन राख्नुभयो ?
हामीले पार्टीको नाम कम्युनिस्ट राखेनाँै । म एकपटक दैलेखको एक कार्यक्रममा थिएँ । त्यहाँ एउटा प्रश्न आयो, ‘लाइट आउँदै छ के हो ?’ लाइट भनेको के हो भनेर बुझ्दै जाँदा ‘नक्सलाइट’ भनेको रहेछ । त्यसबेला भारतमा नक्सलाइट आन्दोलन चलिरहेको थियो । विदेशी शब्दले अर्थमा धेरै फरक पर्ने हुँदा मजदुर किसान राख्दा जनतालाई बुझ्न सजिलो छ ।
–एमाले माओवादी एकतामा कुनै स्वार्थले काम गरेको छ भन्न खोज्नुभएको हो ?
नेपाली काङ्ग्रेस, माओवादी र मधेसी दल एक भएर एमालेलाई एक्लो पारेको भए एमाले चुप लागेर बस्दैनथ्यो । सत्ता नपाएपछि भारतको विरोध गथ्र्याे । यो स्थिति आउन दिनुहुन्न भनेर भारतले आफ्नो भाइ नेपाली कांग्रेसलाई बाहिर राखेर दुई कम्युनिस्ट पार्टीलाई मिलाएको हो ।
–नेपाली राजनीतिका दुई पात्र केपी शर्मा ओली र प्रचण्डको सक्रियतालाई तपाईंले कसरी मूल्याङ्कन गर्नुभएको छ ?
उहाँहरू दुवै सक्रिय हुनुहुन्छ ! पानीमा डुब्न लागेपछि हातखुट्टा त चलाउनैप¥यो । उहाँहरूसँग अर्को उपाय छैन । अन्तिम क्षणसम्म लड्ने विधि यही हो  । कि पानीमा बग्न तयार हुनुप¥यो, नभए पौडन हातखुट्टा चलाउनैप¥यो । उहाँहरू बगे इतिहासको फोहोर फाल्ने भाँडोमा पुग्नुहुनेछ ।
–एमाले र माओवादी मिल्दा एमालेकरण भयो कि माओवादीकरण ?
न एमाले न माओवादी, खराब जति सबै एक भएका हुन् ।
–एकीकरणपछि पनि नेकपामा विवाद देखिएको छ नि ?
त्यो उनीहरूको हातको कुरा होइन, बाहिरको कुरा हो । अरुले मिल भने मिल्छन् फुट भने फुट्छन् ।
–दुईतिहाइको वर्तमान सरकारले पाँचवर्षे कार्यकाल पूरा गर्ला त ?
यो पनि बाह्य पक्षको हातमा छ । उनीहरू देश र जनताको हितमा काम गरेर स्वतन्त्र ढङ्गले अगाडि बढे भने विदेशीले मिल्न दिँदैन । माओवादीले भारतमा बसेर गतिविधि गर्दा हामीले बाबुराम र प्रचण्डलाई भेटेका थियौँ । हामीले उहाँहरूलाई भनेका थियौँ, “तपाईंहरूले भारतले भनेजस्तो काम गरेमा हाम्रो देश जानेछ, उसले भनेको नमान्ने हो भने तपाईंहरूको ज्यान जानेछ ।” मार्नु भनेको पदले मार्नु हो, विचारले मार्नु हो । अहिले त्यस्तै भएको छ ।
–नेपालमा किन भारतको मात्रै हस्तक्षेप हुने गर्छ ?
खुला सिमाना छ । अहिले त माइक्रो मेनेजमेन्ट अर्थात् स–साना ठाउँ र विषयमा समेत भारतको संलग्नता हुने गरेको छ । निर्मला हत्याकाण्डमा साकारले किन अपराधी समाउन सकेको छैन ? एसपी डिल्लीराज विष्ट परिवार र बम दिदीबहिनी परिवारसँग प्रचण्डजीको घनिष्ट सम्बन्धले पो यस्तो अवस्था आएको हो कि भन्ने शङ्का व्यापक छ । पहिला एसपी विष्टले कुन सालमा जागिर खाए, उनको कहाँकहाँ पोस्टिङ भयो, कुनकुन बेला बढुवा भयो ? यी कुरा बाहिर आउनुपर्छ । मैले घटनामा सरकार संलग्न छ भन्न खोजेको होइन तर अपराधीलाई सरकारले नै संरक्षण गरिरहेको जनमत छ । सुनिन्छ, प्रधानमन्त्री यस विषयमा दबाबमा हुनुहुन्छ । त्यो कसको दबाब हो ? अपराधीलाई छोयो भने सरकार ढल्छ । त्यसलाई जोगाउने शक्ति भारत नै हो । नत्र भारतमा भए पनि अपराधी पक्राउ पर्थे† नेपालमा भए पनि पक्राउ पर्थे । अब त्यो अपराधी नेपालमा रहेको भारतीय राजदूतावासभित्र हुनुपर्छ भन्ने शङ्का नेपाली जनतामा उत्पन्न भएको छ ।
–स्थिरता र समृद्धिका कुरा बेकारका हुन् त ?
अवश्य । सबै भारतीय दूतावासको इसारामा चल्छन् । सरकारले कुरा एउटा गर्छ, काम अर्को भइरहेको हुन्छ । “मैले भनेको कुरा सुन्दैनन्” भनेर प्रधानमन्त्री त्यसै कराउनुभएको होइन । कुनै काम गर्न वा रोक्न भारतीय ‘इन्ट्रेस्ट’ कै दबाब हुन्छ ।
–उत्तरी छिमेकीको केही भूमिका हुँदैन ?
उनीहरू सिधै भन्छन्, “हामी अरुको भित्री मामलामा हस्तक्षेप गर्दैनौँ ।” उनीहरू पञ्चशील सिद्धान्तको आधारमा सम्बन्ध राख्छन् । उत्तरको बाटो बन्द छ । सरकारले यसमा चासो दिएको छैन ।
–नेपालमा गणतन्त्र ल्याउन भारतको भूमिका थिएन ?
भारतको भूमिका थियो । यसको पछाडि पनि स्वार्थ छ । कोदारी राजमार्गमा ‘राजा’ नामको ठूलो ढुङ्गा छ, त्यसलाई हटाएपछि बाटो खुल्छ भन्ने थियो । भूकम्पले बाटो छेक्यो । परम्परागत राजतन्त्र बदल्न गा¥हो हुन्छ । तर वर्तमान शासकहरूलाई बदल्न सजिलो हुन्छ । त्यही भएर नेकपाका नेताहरू दिल्ली दौडमा जाने गर्छन् ।
–राजनीतिक आवेगमा राजतन्त्र फालेर गल्ती भएको हो त ?
सामन्ती, अर्धसामन्ती, औपनिवेशिक र अर्धऔपनिवेशिक अवस्थामा सबैभन्दा कमजोर विन्दु भनेको राजतन्त्र हो । हेर्दा बलियोजस्तो देखिए पनि भित्र मक्किइसकेको हुन्छ । पुरानो भइसकेको वस्तुलाई सानो धक्का दिएपछि ढलिहाल्छ । पुरानो रूख हावा आएपछि ढल्छ । तर यसलाई ढाल्न हावाचाहिँ दक्षिणबाटै आएको हो । यस मामिलामा त दक्षिण र पश्चिम सबै मिले ।
–नेपालमा सङ्घीयता टिक्ला त ?
म राज्य पुनर्संरचना समितिमा थिएँ । ठूला पार्टीका शीर्ष नेताहरू त्यो समितिमा कहिल्यै पनि आएनन् । कसैले महिलाको, कसैले दलितको अलग्ग प्रदेश चाहन्थे, कसैले नेपालको झण्डा फेर्ने र कसैले देशकै नाम फेर्ने कुरा लिएर आउँथे । सङ्घका कुरामा सत्ताको खेल जोडियो ।
सङ्घ कस्तो बनाउने भन्नेबारे स्विजरल्यान्डको आफ्नै मोडल छ । संरा. अमेरिका र सोभियत सङ्घको अलग्ग बन्दोबस्त छ । भारतको त अर्धसङ्घ राज्यमात्रै हो । अमेरिकामा केन्द्रले राज्य (प्रदेश) का गभर्नरलाई कुनै दबाब दिनसक्दैन । दबाब दिन सेना पठायो भने गभर्नर सर्वोच्चमा जान्छ र सेना फिर्ता पठाउने आदेश दिन्छ । भारतले केरलामा कम्युनिस्ट सरकारलाई बारम्बार भङ्ग ग¥यो । अनि हामीले चाहेको मोडल के हो भन्नेबारेको अन्योलमै सङ्घ राज्य घोषणा भयो । सङ्घमा जानुअघि राजनीतिक पार्टीहरूले आफू कुन मोडलमा जाने भन्ने दृष्टिकोण नै बनाएनन् ।
संविधान जारी हुँदा अहिलेका कतिपय मुख्यमन्त्री पनि संविधानसभामा थिए । उनीहरूले संविधानमा हस्ताक्षर गरेका छन् । उनीहरूलाई कस्तो सङ्घ भन्ने थाहा नभएको भए के आधारमा हस्ताक्षर गरेका हुन् ? यसको अर्थ उनीहरूले आ–आफ्ना उद्देश्य वा स्वार्थ राखेर सही गरे । सङ्घीयताका धेरै मोडलमा छलफल नभएको होइन । तर बाउछोराले गधा चढेको उखानजस्तो भयो । जसले चढे पनि नहुने, नचढे पनि नहुने अनि गधा छोडेर भाग्ने जस्तो भयो । अहिलेको सङ्घीयता भद्रगोल मोडलको हो । सरकारमा बस्नेलाई के गर्नुहुन्छ के गर्नुहुँदैन भन्ने पनि थाहा छैन । कुनै पनि दुनियाँमा प्रदेशसभामा गएर प्रधानमन्त्रीले भाषण दिएको मलाई थाहा छैन । हामीकहाँ प्रधानमन्त्री केपी ओलीले प्रदेशसभामा गएर भाषण दिनुभयो आफ्ना कार्यकर्ता सम्झेर । त्यो गलत थियो ।
–तपाईंले हरेक चिजमा दक्षिणको प्रभाव भन्नुभयो, धर्म निरपेक्षतामा के भयो नि ?
भारत रिसाएको धर्म निरपेक्षता भयो भनेर पनि हो । उनीहरू सिधै भन्थे, “हिन्दू राजा राम्रो छ, राजा हाम्रा पनि हुन् ।” नेपालमा धर्म निरपेक्षताका लागि पश्चिमाको हात छ । यस माध्यमबाट उनीहरू नेपालमा क्रिस्चियानिटी बढाउन चाहन्थे भनी त्यसबेला सा¥है चर्चा भएको थियो ।
–यो सबै गरेर भारतले नेपालसँग के चाहन्छ ?
भारत नेपाल चाहन्छ । प्रदेश नं २ अब रहँदैन भन्ने छ । २ नं को सङ्केत भनेको उता मिल्नु हो । यसको दोषी एमाले र माओवादी नै हुन् । काङ्ग्रेस त पहिलादेखि नै ‘भारतपरस्त’ थियो ।
–अलि प्रसङ्ग बदलौँ, राजतन्त्र गए पनि शैली फेरिएन भन्ने यसपटक दसैंमा राष्ट्रपति निवासमा भएको टीका प्रकरणले पुष्टि गरेन ?
मुलुकमा गणतन्त्र आए पनि केही सामन्ती संस्कार सँगै आएका छन् । नवजात शिशुमा गर्भको रगतको दाग भएजस्तै हाम्रा आजका शासकहरूमा सामन्ती संस्कारहरू देखिए । यो घटना पनि त्यस्तै हो । यो घट्दै जान्छ कि बढ्दै जान्छ जनतामा निर्भर हुने कुरा हो । जनताले विरोध गरे घट्छ नभए बढ्दै जाने सम्भावना पनि छ ।