भर्खरै :

युथ एथ्लेटिक्स प्रशिक्षण सम्पन्न

काठमाडौँ, १९ कात्तिक  ः जुनियर खेलाडीमा रहेको प्रतिभालाई स्तरवृद्धि गर्ने उद्देश्यले राष्ट्रिय खेलकूद परिषद् (राखेप) अन्तर्गतको नेपाल खेलकूद विज्ञान प्रतिष्ठानद्वारा सञ्चालित युथ एथ्लेटिक्स प्रशिक्षण शिविर आज सम्पन्न भएको छ ।
आठौँ राष्ट्रिय खेलकूद प्रतियोगिता र नेपालमै हुन लागेको १३औँ साग प्रतियोगितालाई मध्य नजर गर्दै प्रतिष्ठानले राष्ट्रपति रनिङ शील्ड प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीलाई १० दिने प्रशिक्षण दिएको थियो । परिषद्ले विसं २०७२, २०७३ र २०७४ मा सञ्चालन भएको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताका लागि व्यक्तिगत प्रतिस्पर्धामा स्वर्ण पदक विजेता खेलाडीलाई सहभागी गराई प्रशिक्षण दिएको हो ।
यही कात्तिक १० गतेदेखि शुरु भएको प्रशिक्षण आज सम्पन्न भएको परिषद्ले जनाएको छ । प्रशिक्षणमा १३ वर्षदेखि १९ वर्षसम्मका ७२ खेलाडी सहभागी थिए । तेक्वान्दो, कराते, उसु र एथ्लेटिक्समा पहिलो भएका खेलाडीलाई सम्बन्धित खेलका प्रशिक्षकले सो प्रशिक्षण दिनुभएको थियो । कराते खेलाडीलाई गङ्गाराम महर्जन र कुशल श्रेष्ठ, तेक्वान्दोलाई नवीनकुमार श्रेष्ठ र हीरा थापा, एथ्लेटिक्सलाई चन्द्र गुरुङ, धनिराम चौधरी, राकेश बज्राचार्य र पद्मा चौधरी तथा उसुलाई गोपाल श्रेष्ठ र प्रकाश महर्जनले प्रशिक्षण दिनुभएको थियो ।
तेक्वान्दो र उसु त्रिपुरेश्वर राखेप कभर्डहलमा तथा एथ्लेटिक्सको प्रशिक्षण मूलपानीस्थित क्रिकेट मैदानमा भएको थियो । राखेपका कोषाध्यक्ष शैलेश कर्माचार्यले विद्यालय तहदेखि नै राष्ट्रिय प्रतियोगिता हुँदै दक्षिण एशियाली खेलकूदसम्म खेलाडीले नतिजामूलक उपलब्धि हासिल गराउने उद्देश्यले प्रशिक्षण आयोजना गरिएको बताउनुभयो ।
प्रशिक्षणमा सहभागी चारै खेलका उत्कृष्ट खेलाडी छनोट गरी समापनकै अवसरमा पुरस्कृतसमेत गरिएको थियो । करातेको पुरुषमा अनिश लामा र महिलामा विमला नेपाली तथा उसुको पुरुषमा प्रवीण लामा र महिलामा अस्मिता श्रेष्ठ उत्कृष्ट चुनिए । तेक्वान्दोको पुरुषमा शैलेश गिरी र महिलामा आयशा लामा तथा एथ्लेटिक्सको पुरुषमा विकास खाँड ठकुरी र महिलामा जयरानी थारु उत्कृष्ट घोषित भए । उत्कृष्ट सबैले जनही रु तीन हजार पुरस्कार प्राप्त गरे । सहभागीलाई राखेपका कोषाध्यक्ष कर्माचार्य, प्रतिष्ठानका निर्देशक नवीन उप्रेती, राष्ट्रिय टोली तयारीका निर्देशक अर्जुन विकलगायतले पुरस्कार एवं प्रमाणपत्र प्रदान गर्नुभएको थियो । (रासस)

Leave a Reply

Your email address will not be published. Required fields are marked *