वासिङ्टन, १९ कार्तिक  । हत्या गरिएका साउदी पत्रकार जमाल खशोग्जीका छोराहरूले साउदी सरकारसमक्ष बाबुको शरीर देखाउन आग्रह गरेका छन् ।
अमेरिकी टेलिभिजन नेटवर्क सिएनएनलाई दिएको अन्तर्वार्तामा छोराहरूले खशोग्गीको शवको धार्मिक विधिअनुसार दाहसंस्कार गर्न साउदी सरकारसँग यस्तो आग्रह गरेका हुन् ।
खशोग्गीलाई टर्कीको इस्तानबुलस्थित साउदी अरेबियाको महाबाणिज्यदूतावासमा अक्टोबर २ तारिखका दिन साउदी सुरक्षाकर्मीको एक टोलीले हत्या गरेको थियो । टर्कीका राष्ट्रपतिले उक्त हत्या साउदी अरेबिया सरकारको उच्च नेतृत्वको आदेशपछि भएको दाबी गर्दै आउनुभएको छ ।
सिएनएनसँग वासिङ्टनमा कुरा गर्दै अब्दुल्लाह खशोग्गी र उनका भाइ सलाहले बाबुको शरीर साउदी अरेबियाको मदिनास्थित अल–बाकीमा दाहसंस्कार गर्नेगरी साउदी सरकारसँग आग्रह गरिएको बताउनुभयो ।
टर्कीका सरकारी वकीलले जमाल खशोग्गीलाई महावाणिज्यदूतावासमा प्रवेश गरेलगत्तै हत्या गरिएको बताउनुभएको छ । उहाँले खशोग्जीको शरीर टुक्राटुक्रा पारेको समेत बताउनुभयो ।
टर्कीका राष्ट्रपति रिसेप तयिप एर्डोआनका सल्लाहकार यासिन आक्टेले शुक्रबार एक लेख प्रकाशित गरी जमाल खशोग्गीको हत्यापश्चात शवलाई तेजाबमा डुबाइएको हुनसक्ने बताउनुभएको छ । सलाहले सिएनएनसँग भन्नुभयो, “मलाई जमालका बारेमा अति राजनीतिकरण हुन थालेको अनुभव भइरहेको छ । जमाल कहिल्यै साउदी सत्ताको विद्रोही हुनुहुन्थेन । उहाँको अटल विश्वास राजतन्त्रप्रति थियो ।”
अब्दुल्लाहले बुबाको हत्याका बारेमा स्पष्ट जानकारी र सूचना प्राप्त नभएको बताउनुभयो । उहाँले प्राप्त जानकारीहरू भ्रमित गर्ने किसिमका रहेको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “यो सामान्य परिस्थिति होइन र उहाँको मृत्यु सामान्य पक्कै होइन ।” सलाहले जोड दिँदै भन्नुभयो, साउदी राजाले दोषीहरू सबैलाई कानुनको कठघरामा उभ्याउने बताउनुभएको छ । मलाई राजाको वचनप्रति विश्वास छ ।(एएफपी)