भर्खरै :

नेपालमै पहिलो मिक्स पार्क भलिबल सम्पन्न

काठमाडांै, २० कार्तिक । युवा खेलकुद समूह नेपाल र जिल्ला भलिबल सङ्घ भक्तपुरको आयोजनामा मङ्गलबार भक्तपुरको सहिद स्मृति खेल मैदानमा नेपालमै पहिलो पटक मिक्स पार्क भलिबल प्रतियोगिता भयो ।
प्रतियोगिताको उद्घाटन नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सचिव तथा प्रतिनिधिसभा सदस्य प्रेम सुवालले गर्नुभयो ।
कार्यक्रममा सांसद सुवालले समाजवादी देशमा व्यक्तित्व विकासमा सबैलाई समान अवसर हुने उल्लेख गर्दै खेल खेलको लागि मात्र नभई देशको सार्वभौमिकता र इज्जतको लागि खेलिनुपर्ने धारणा राख्नुभयो ।
सांसदले संरा अमेरिकी साम्राज्यवादको कडा नाकाबन्दी झेलेर पनि समाजवादी देश क्युवा र प्रजग कोरियाले देशको सार्वभौमिकता रक्षा गर्ने उद्देश्यका साथ खेलकुदको विकास गरिरहेको बताउनुभयो । उहाँले कुनै पनि पार्टी व्यवहारबाट कम्युनिष्ट हुनुपर्ने चर्चा गर्दै वर्तमान सरकारले आफूलाई नामले नभई कम्युनिष्ट सावित गर्न नसकेको धारणा राख्नुभयो ।
नगर खेलकुद समितिका पूर्वअध्यक्ष रवीन्द्र खर्बुजाले खेलाडीहरूलाई विकृति र कुलतमा लाग्नबाट जोगाउन सामाजिक गतिविधिमा जोड दिनुपर्ने बताउनुभयो ।
जिल्ला भलिबल सङ्घ भक्तपुरका अध्यक्ष विनोदचरण रायको सभापतित्वमा भएको कार्यक्रममा युवा खेलकुद समूह नेपालका अध्यक्ष तथा भलिबलका अन्तर्राष्ट्रिय रेफ्री गौतमप्रसाद लासिवा, भक्तपुर नपा युवा तथा खेलकुद समितिका संयोजक श्यामकृष्ण खत्रीलगायतले बोल्नुभएको थियो ।
मङ्गलबार सम्पन्न मिक्स पार्क भलिबल प्रतियोगितामा बाह« वटा टीमले सहभागिता जनाएका थिए । प्रतियोगितामा ५ वडा खेलकुद समिति प्रथम, ८ वडा खेलकुद समिति द्वितीय, पद्म मावि तृतीय र वागीश्वारी मावि तृतीय भएका छन् । विजेतालाई रवीन्द्र खर्बुजाले पुरस्कार वितरण गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *