भर्खरै :

लक्ष्मी पूजा– एक चर्चा

ओम धौभडेल
आफ्नै मौलिक कला सांस्कृति परम्परा रितीथितिले सम्पन्न नेवारहरूले मनाउने एक ठूलो पर्वमा तिहार (स्वन्ती नखा, यमपञ्चक) पनि हो । यस पर्वमा मनाइने काग पूजा, कुकुर पूजा, लक्ष्मी पूजा, म्हः पूजा (गोवद्र्धन पूजा) र किजा पूजा (भाइटिका) मध्ये स्वन्ती (तिहार) को तेश्रो दिन अर्थात कार्तिक कृष्ण अमावस्याको दिन काठमाडौं उपत्यकालगायतका नेवारहरूले धुमधामसँग लक्ष्मी पूजा मनाउने गर्दछन् । त्यसो त सम्पूर्ण हिन्दूहरूले यो दिन लक्ष्मीको आराधना गर्दछ । यो दिन बिहान सबेरै गाईलाई पूजा गर्ने चलन छ । लक्ष्मीको जीवित रुपमा वा बाहनको रुपमा गाईको पूजा गरिसकेपछि घर आँगन, चोक सफा राख्ने गछनर्् । पिखालाकीदेखि ढुकुटीसम्म रातोमाटोले लिप्ने गरिन्छ । जसलाई लक्ष्मी द्यो सालेगु (लक्ष्मीलाई घर भित्रयाउने) भन्दछ । यो दिन साँझपख घरघरमा दिप बाल्ने गरिन्छ । यहाँ विशेष गरी प्रजापतिहरूले बनाएको काँचो माटोको पालाँचामा तेल हाली बाल्ने गरिन्छ । त्यस रातलाई सुखरात्री स्वन्ती नक्षत्र प्रदोष भएको शुद्ध क्षणको रुपमा धनकी देवी लक्ष्मीको भव्यसँग पूजाआजा गरिन्छ । यो दिन ढुकुटीमा पुँ (चित्रकार) ले लेखेको लक्ष्मीको चित्रको साथ साथै सिन्हमु, ज्वाला न्ह्यकंमा आफूसंग भएको धन ढुकुटीमा राखी पूजा गर्ने प्रचलन छ । जहाँ पञ्चमकार मण्डल बनाई भोजन परिकारका साथ दही, फूल, स्वगं (ख्ये स्वगं, धौ स्वगं) राखी काठको पाथीमा वा अन्य भाँडामा यो वर्ष काटेर ल्याएको नयाँ धानबाट बनेको च्युरा राख्नुपर्छ । कसैकसैले नयाँ धानको थुप्रोमा नै पूजा गर्छ र दूधमा चामल पकाई खीर खानुपर्छ । साथै त्यो दिन लक्ष्मीको प्रतिकको रुपमा कुचो, नाङ्लोलाई समेत पूजा गर्ने गरिन्छ । लक्ष्मीको दायाँ बायाँ वस्ने ख्याकु कुवेर आदिको चामलको पिठोको प्रतिक बनाई पूजा गरिन्छ र सबैभन्दा महत्वपूर्ण त मोहनी (दसै) ताका घरमा भित्र्याइएको मासुको सुकुटी बनाई लक्ष्मी पूजाको दिन लक्ष्मीलाई भोजनमा समावेश गर्नुपर्छ । अन्यबेला शाहाकारी भाजन मात्र लिने लक्ष्मीले यस दिन अमे (रक्सी, मासु, फुल) स्वीकार गर्ने मान्यता छ ।
यसरी यो दिन यहाँ बस्ने नेवारहरू धन ऐश्वर्य प्राप्तिको साथसाथै खेतबाट प्राप्त हुने अन्नवाली (विशेष गरी धान) लाई लक्ष्मीको रुपमा लिएको देखिन्छ । सामान्यतया यस दिन आज पनि कृषकहरूले खेतबाट प्राप्त हुने अन्नलाई लक्ष्मीको रुपमा पूजा गर्ने चलन भए तापनि व्यापारीहरू भन्ने सुनचाँदीका मुद्राहरू आभूषण, गहना, खाता वही, कलम मसीका भाँडा र यन्त्र आदि उत्पादनका उपकरणहरूको समेत पूजा गर्ने गर्दछन् । यसरी लक्ष्मी पूजा गरिए तापनि हाम्रो संस्कारले पुर्व अवस्थामा जस्तो कोजाग्रत पूर्णिमादेखि नै लगातार १६ दिनसम्म विभिन्न १६ प्रकारका लक्ष्मीहरूको पूजा गर्नुपर्ने कुरालाई यहाँ बिर्सिदिएको छ । हिजोआज एकैचोटी कार्तिक कृष्ण अमावस्याको दिन मात्र लक्ष्मी पूजा गर्ने चलन छ र हाम्रो वैैदिक रीतिथिती अनुसार ती १६ लक्ष्मीहरू कुन कुन हो भन्ने खोतल्ने बेला राष्ट्रिय अभिलेखालयमा रहेको “महालक्ष्मी व्रत पूजा” भन्ने पुस्तकमा १६ लक्ष्मीको नाम भनिए तापनि १५ वटा लक्ष्मीहरूको नाम यसरी दिएको छ । (१) धनलक्ष्मी (२) जयलक्ष्मी (३) धृतलक्ष्मी (४) भुवनलक्ष्मी (५) बुद्धिलक्ष्मी (६) खड्गलक्ष्मी (८) सिद्धिलक्ष्मी (९) सर्वलक्ष्मी (१०) राज्यलक्ष्मी (११) मण्डललक्ष्मी (१२) सन्तानलक्ष्मी (१३) मोक्षलक्ष्मी (१४) धान्यलक्ष्मी (१५) महालक्ष्मी । त्यस्तै “हाम्रो कला र संस्कृति एक विंहगम दृष्टि” भन्ने पुस्तकमा मदनमोहन मिश्रज्यूले विभिन्न १६ लक्ष्मीहरूको नाम भनिए तापनि १३ लक्ष्मीहरूको नाम यसरी दिएको छ । (१) महालक्ष्मी (२) गजलक्ष्मी (३) स्वर्गलक्ष्मी (४) राज्यलक्ष्मी (५) धर्मलक्ष्मी (६) गृहलक्ष्मी (७) धनलक्ष्मी (८) धान्यलक्ष्मी (९) जयलक्ष्मी (१०) ज्ञानलक्ष्मी (११) मोहलक्ष्मी (१२) सिद्धिलक्ष्मी (१३) पूर्णलक्ष्मी आदि । त्यस्तै ऐश्वर्यधर शर्माले “लक्ष्मी पूजा” भन्ने किताबमा आठ वटा लक्ष्मीहरूको नाम यसरी दिइएको छ । (१) आशालक्ष्मी (२) विद्यालक्ष्मी (३) सौभाग्यलक्ष्मी (४) अमृतलक्ष्मी (५) कामलक्ष्मी (६) सत्यलक्ष्मी (७) भोगलक्ष्मी (८) योगलक्ष्मी । यस्तै हालसालै मदन पुरस्कार प्राप्त गर्न सफल डा. हरि राम जोशीज्यूले लेख्नु भएको अभिनव संस्कृति कोषमा १६ लक्ष्मीहरूको नाम यसरी दिएको छ । १) सर्वलक्ष्मी २) विश्वलक्ष्मी ३) भुवनलक्ष्मी ४) राज्यलक्ष्मी ५) मण्डललक्ष्मी ६) गृहलक्ष्मी ७) धनलक्ष्मी ८) धान्यलक्ष्मी ९) सन्तानलक्ष्मी १०) जनलक्ष्मी ११) खड्गलक्ष्मी १२) बुद्धिलक्ष्मी १३) धृतीलक्ष्मी १४) ज्ञानलक्ष्मी १५) मोक्षलक्ष्मी १६) महालक्ष्मी । त्यस्तै प्रज्ञा अङ्क ९२ मा विद्वान हर्षनाथ भट्टराईले १३ लक्ष्मीहरूको नाम यस प्रकार दिइएको छ । १) भाद्र २) ऋदी ३) चन्चला ४) सुसस्या ५) गृह लक्ष्मी ६) पुण्या ७) राजलक्ष्मी ८) कल्याणी ९) अष्टलक्ष्मी १०) संरक्षिका ११) महालक्ष्मी १२) रात्री देवी १३) ज्योतिषा । तर आजसम्म जानकारीमा आए अनुसार कुन दिन कुन लक्ष्मीको पूजा गर्ने हो रहस्य नै बनेको छ । पञ्चाङ्गलगायत अन्य पुस्तकहरूमा लक्ष्मी पूजाबारे उल्लेख छ । जस्तो लक्ष्मी पूजा, लक्ष्मी स्तोत्र, महालक्ष्मी व्रत विधि आदि भन्ने पुस्तकहरूमा लक्ष्मी पूजाबारे उल्लेख छ । जुन प्रायः नेवारी वा देवनागरी लिपिमा छ । तर पनि त्यहाँ कोजाग्रत पूर्णिमादेखि कार्तिक अमावस्यासम्मको १६ दिनमा कुन–कुन लक्ष्मीको पूजा गरिन्छ त्यो लेखिएको छैन । हुन त लक्ष्मीका यी विभिन्न १६ फरक रुपमा महालक्ष्मीकै रुप हो । जुन महालक्ष्मी विजया दशमीको नवौं दिनमा आराधना गरिने एक शक्तिपिठ पनि हो । यस्तै यो दिन सबैले ढुकुटीमा पूजा गर्ने लक्ष्मी कुनै मूर्ति नभइकन कागजमा कोरिएको लक्ष्मीको चित्र हो । हामीकहाँ धातु, काष्ठ, मृतिकाका मूर्तिहरू बन्नुभन्दा पहिले नै चित्रकलाको विकास भेटिएको सन्दर्भमा कागजका लक्ष्मीको चित्र कोर्ने
प्रथा प्राचीन मान्न सकिन्छ । यसरी लेखिएको लक्ष्मीको चित्रको हातमा दाहिनेतिर ऊँकार भएको ज्वाला न्हायकं, देव्रे हातमा सिन्हमु समाएको हुन्छ भने अर्को दाहिने हातमा अभय देव्रेहातमा बरमुद्रा हुन्छ । त्यस्तै दाहिने गोडाले कछुवालाई टेकी देव्रे गोडाले पदमासन गरी राजसिंहासनमा विराजमान भएकी र केतकीले सुसज्जीतभएको र नानाथरिका अलङ्कारसहितका बस्त्रले सुसज्जित भएको र दायाँ बाँया ख्याक र कुवेर बसेको चित्र लेखेको पाइन्छ । यो चित्र केको आधारमा कोर्ने गरेको हो । स्पष्ट नभए तापनि यो चित्र कोर्नुको पछाडि “तन्त्र चिन्तामणि” भन्ने ग्रन्थको आधारमा लेखिएको देखिन्छ । जसलाई नवमी सिंह मण्डेलले लेख्नुभएको हो र नवमी सिंह राजा भाष्कर मल्लका भारदार (भारो) मानिन्छ ।
यसरी कार्तिक कृष्ण अमावस्याको रातमा लक्ष्मीको प्रार्दुभाव रात्री समयमा हुने विश्वास यहाँका हिन्दू धर्मालम्वीहरूले गर्ने हुनाले नै लक्ष्मी पूजाको रातमा दिप प्रज्वलित गरी दिपावलीसमेत मनाइन्छ । वास्तवमा दिपावली भनेको तमसोमा ज्योतीर्गमन कोजाग्रत पर्व हो । यस पर्वमा दिपमालीको देदिप्यमान रातमा हरेक घरघरमा लक्ष्मीको पूजा हुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *