भर्खरै :

१०१ औं अक्टोवर समाजवादी क्रान्ति दिवस मनाइयो

काठमाडांै, २१ कार्तिक । सन् १९१७ को नोभेम्बर ७ मा रूसमा भएको अक्टोबर समाजवादी क्रान्तिको १०१ औं वर्षगाँठको अवसरमा बुधबार नेपाल मजदुर किसान पार्टी विदेश सम्बन्ध विभागको आयोजनामा प्रवचन कार्यक्रम भयो ।
कार्यक्रममा नेमकिपाका अध्यक्ष नारायणमान बिजुक्छें (रोहित) ले रुसी क्रान्तिको इतिहासले एक–दुई जना व्यक्ति क्रान्तिकारी र राम्रो मनसायको हुँदैमा समाजमा क्रान्ति नहुने पाठ सिकाएको बताउनुभयो ।
रूसमा केही जुझारू युवा मिलेर आमूल परिवर्तनको चाहनासहित व्यक्तिहत्याको राजनीति गर्दा आत्मबलिदानमा टुङ्गिएको चर्चा गर्दै उहाँले व्यक्तिहत्याले आमूल परिवर्तन आउने खोटो विचारविरूद्ध लेनिनले सैद्धान्तिक सङ्घर्ष गर्नुभएको बताउनुभयो ।
तत्कालीन झापाली समूहले पनि नेपालमा व्यक्तिहत्याको राजनीति गरेको र उनीहरूको खोटो विचारसँग नेमकिपाले सैद्धान्तिक सङ्घर्ष गरेको उहाँले उल्लेख गर्नुभयो ।
“नेमकिपाले प्रतिक्रियावादीभन्दा प्रतिक्रियावादी सङ्घ–संस्थाभित्र गएर पनि जनता र क्रान्तिको सेवा गर्ने लेनिनवादी नीतिअनुसार पञ्चायती चुनावको उपयोग गरेर जनताको सेवा गर्ने नीति अँगालेका थियौं ।”, अक्टोबर क्रान्तिको शिक्षाबारे चर्चा गर्दै अध्यक्ष रोहितले भन्नुभयो ।
रूसी क्रान्तिको उपलब्धि रक्षा गर्न स्तालिनले खेलेको भूमिकाबारे चर्चा गर्दै उहाँले सिद्धान्तको मामिलामा कसैसामु नझुक्ने स्तालिनको व्यक्तित्वका कारण उहाँ बाँचुञ्जेल संशोधनवादी विचारले टाउको उठाउन नसकेको विचार राख्नुभयो ।
अध्यक्ष बिजुक्छेंले कम्युनिष्ट कार्यकर्ताले जुनसुकै पदमा बसेर पनि देश र जनताको इमानदारीका साथ सेवा गर्ने भावनाबाट काम गर्नुपर्ने चर्चा गर्दै आलोचना र आत्मालोचनाको भावनाले कार्यकर्तालाई अझ परिपक्व बनाउने विचार राख्नुभयो ।
संशोधनवादविरूद्ध सङ्घर्ष नगर्दा त्यसले कम्युनिष्ट आन्दोलनलाई नै पुँजीवादी भासमा फसाउने बताउँदै उहाँले सिद्धान्तको गहिरो अध्ययन नभएका कार्यकर्तामा कुनै पनि बेला विचलन आउन सक्ने धारणा राख्नुभयो ।
रूसको परिस्थितिबारे उहाँले भन्नुभयो, “रूसमा क्रियाशील तीन लाख गैरसरकारी संस्थाले त्यहाँको कम्युनिष्ट आन्दोलनलाई छिन्नभिन्न बनाइदिएको छ ।”
नेमकिपाका केन्द्रीय सचिव तथा सांसद प्रेम सुवालले बोल्शेविक पार्टीले पुँजीवादी निर्वाचनको उपयोग गरी निर्वाचनमा जितेर पनि पुँजीवादी सरकारको भागबण्डामा नलागी अक्टोवर क्रान्तिलाई सफलतामा टुङ्गयाएको बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘साम्राज्यवादीहरूले अक्टोवर समाजवादी क्रान्तिलाई कोक्रोमै हत्या गर्ने असफल प्रयास गरेका थिए । अक्टोवर क्रान्तिका नेता लेनिनको देहावसानपछि सहयोद्धा नेता स्तालिनले सन् १९३७ को बोल्शेविक पार्टीको बैठकमा पार्टीभित्र घुसेका प्रतिक्रियावादीहरूलाई चिन्नुपर्ने बताउनुभएको थियो । स्तालिनले पार्टीभित्र घुसेका प्रतिक्रियवादीहरूको घूसपैठबारे सचेत गराउनु भए पनि बोल्शेविक पार्टीका तत्कालीन नेताहरू किन सचेत हुनुभएन ? यो प्रश्नको जवाफ एउटा क्रान्तिकारी कम्युनिष्ट पार्टीको लागि आज पनि शिक्षा हुनेछ ।’’
नेमकिपाका वैकल्पिक केन्द्रीय सदस्य सुरेन्द्रराज गोसार्इँले वोल्शेविक क्रान्ति र त्यसको नेतृत्वमा भएको विश्वका क्रान्तिका अनुभव र शिक्षा नै समाजवादी क्रान्ति सफल हुनुको महत्वपूर्ण आधार भएको बताउँदै माक्र्सवादको गहिरो अध्ययन र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय परिस्थितिको ठोस तथा सही विश्लेषणले क्रान्तिको मार्गप्रशस्त गरेको विचार राख्नुभयो ।
कार्यक्रममा नेमकिपाका केन्द्रीय सदस्य रवीन्द्र ज्याख्वले सन् १९९० मा पुँजीवादी व्यवस्था पुनस्र्थापनापश्चात् रूसको अवस्था, वैकल्पिक केन्द्रीय सदस्य सिर्जना सैंजूले अक्टोबर क्रान्तिका उपलब्धि, नेपाल प्राध्यापक समाजका उपाध्यक्ष प्रकाशकुमार श्रेष्ठले क्रान्तिअघि रूसको इतिहास, प्राध्यापक समाजका सहसचिव ई. सुजन माकले स्तालिनबारे भ्रम र यथार्थ, इञ्जिनियर समाज नेपालका उपाध्यक्ष नरेश खत्रीले वोल्शेविक पार्टीको इतिहासबारे पावरप्वाइन्ट प्रस्तुतिसहित सहभागीहरूलाई प्रशिक्षण दिनुभएको थियो ।
भक्तपुर
नेपाल क्रान्तिकारी युवा सङ्घ भक्तपुर जिल्ला समितिको आयोजनामा प्रवचन कार्यक्रम बुधबार भयो ।
कार्यक्रममा नेमकिपाका केन्द्रीय सदस्य एवं भनपाका प्रमुख सुनिल प्रजापतिले युवा शक्ति परिवर्तनको वाहक भएको हुँदा सकारात्मक परिवर्तनको पक्षमा लड्न युवाहरू सदैव तयार रहनुपर्ने बताउनुभयो ।
शासक पार्टीहरूले देशको सार्वभौमिकतामा चोट पुग्ने काम पटक–पटक गर्दै आएको चर्चा गर्दै उहाँले सार्क राष्ट्रमा भएका नेपाली मूलका मानिसहरूलाई नेपाली नागरिकता दिनुपर्ने माग र विचारले भोलि देश ठूलो सङ्कटमा फस्नसक्ने बताउनुभयो ।
पुँजीवादी निर्वाचन जितेर समाजवादी व्यवस्था स्थापना हुने कुरामा नेमकिपाले विश्वास नगर्ने उल्लेख गर्दै उहाँले इण्डोनेसिया, चिली आदि देशमा कम्युनिष्ट पार्टीहरूले निर्वाचनमा बहुमत प्राप्त गरे पनि समाजवादी व्यवस्था स्थापना नभएको बरू ती पार्टीहरू पतन भएको बताउनुभयो ।
उहाँले अक्टोवर क्रान्ति र तत्कालीन रूसी समाजको अवस्थाबारे गहन अध्ययन गरी त्यसबाट शिक्षा लिनुपर्नेमा जोड दिनुभयो ।
नेमकिपा भक्तपुर जिल्ला समितिका सदस्य नारायणबहादुर दुवालले अक्टोवर क्रान्तिले माक्र्सवाद व्यवहारमा लागू हुनसक्छ र सर्वहारा वर्गले शासन सत्ता कब्जा गर्न र सञ्चालन गर्नसक्छ भनी पुष्टि गरी देखाएको बताउँदै अक्टोवर क्रान्ति विश्व सर्वहारा वर्गकै लागि प्रेरणाको स्रोत रहेको चर्चा गर्नुभयो ।
नेक्रायुसङ्घका पूर्वकेन्द्रीय अध्यक्ष प्रकाश थुसाले सच्चा कम्युनिष्टहरूका लागि देशमा राजनीतिक प्रतिकूलता रहेको तर त्यही प्रतिकूलतालाई अवसरमा रूपान्तरण गर्न सैद्धान्तिक र राजनीतिक सङ्घर्ष अगाडि बढाउनुपर्ने बताउनुभयो ।
उहाँले वर्तमान नेकपाको सरकारले जति युवा हित र जनहितको कार्यक्रम घोषणा गरे पनि नीतिहीनताका कारण ती कार्यान्वयन हुन नसक्ने बताउनुभयो ।
नेक्रायुसङ्घ भजिसका पूर्वअध्यक्ष महेन्द्र बखुन्छेंले कम्युनिष्टको नाममा वर्तमान सत्तासीन पार्टी नेकपाले कम्युनिष्ट आन्दोलनकै बद्नाम गरिरहेको र नेकपा भाइ काङ्ग्रेसमात्र भएको बताउनुभयो ।
नेक्रायुसङ्घ भजिसका अध्यक्ष मीनबहादुर बाटाको अध्यक्षतामा भएको कार्यक्रममा अध्यक्ष बाटा, उपाध्यक्ष राजकुमार लघू, सचिव एचएस सुवाल, नेक्रायुस भनसका अध्यक्ष जगतराम धुख्वा, सूर्यविनायक नगर समितिका अध्यक्ष रोशन मचामसी, मध्यपुर नगर समितिका अध्यक्ष सुरेन्द्र था श्रेष्ठ, चाँगुनारायण नगर समितिका सचिव लक्ष्मीनारायण लिगललगायतले नववर्षको शुभकामना तथा अक्टोवर क्रान्तिका विविध पक्षबारे मन्तव्य राख्नुभएको थियो ।
सुर्खेत
अक्टोबर समाजवादी क्रान्ति दिवसको अवसरमा नेमकिपा सुर्खेत जिल्ला समितिको आयोजनामा बुधबार प्रवचन कार्यक्रम भयो ।
कार्यक्रममा नेमकिपा सुर्खेत जिल्ला समितिका कार्यवाहक अध्यक्ष हरिबहादुर बोहराले रूसी क्रान्ति र लेनिनको सही नेतृत्वबारे चर्चा गर्दै सही नेतृत्व र विचारले नै क्रान्तिलाई सफलतासम्म पु¥याउने विचार राख्नुभयो ।
उहाँले क्रान्तिकारी पार्टीको नेतृत्वमा मात्र क्रान्तिकारी आन्दोलनको विकास सम्भव भएको बताउनुभयो ।
कार्यक्रममा नेमकिपा सुर्खेतका शेरबहादुर शाही, गोविन्दनाथ योगी, नेपाल क्रान्तिकारी किसान सङ्घका केन्द्रीय सदस्य प्रेमकुमार थापा, नेपाल क्रान्तिकारी मजदुर सङ्घका केन्द्रीय सदस्य अक्कलबहादुर राना, कानुन अध्ययन समाजका केन्द्रीय सदस्य टीकाप्रसाद पोख्रेल, नेपाल क्रान्तिकारी शिक्षक सङ्घ दैलेखका अध्यक्ष दीपक शाही, नेपाल क्रान्तिकारी विद्यार्थी सङ्घ सुर्खेतका अध्यक्ष खेमराज कँडेल, नेपाल क्रान्तिकारी युवा सङ्घ सुर्खेतका सचिव लालबहादुर थापा, व्यापार समाज सुर्खेतका अध्यक्ष हस्तबहादुर सावदलगायतले अक्टोबर क्रान्तिको विषयमा आ–आफ्ना भनाइ राख्नुभएको थियो ।
बुटवल
नेपाल मजदुर किसान पार्टी रूपन्देहीको आयोजनामा बुद्धबार मणिग्राममा १०१ औं अक्टोबर क्रान्ति दिवस सम्पन्न भएको छ ।
कार्यक्रममा नेमकिपा रूपन्देहीका अध्यक्ष हरिसुन्दर वासीले रूसी जनताको रोटी र शान्तिको आकाङ्क्षा पूरा गर्न लेनिनको नेतृत्वमा अक्टोबर क्रान्ति सफल भएको बताउनु भयो ।
नेक्राविसङ्घका केन्द्रीय सदस्य सुरेश परियारले अक्टोबर समाजवादी क्रान्तिपछि रूसी महिलाहरूले नयाँ संसार पाएको बताउनुभयो । केन्द्रीय सदस्य परियारले अक्टोबर क्रान्ति सफल भएपछि लेनिनले जनतालाई रोटी र शान्ति अनि किसानहरूको भूमि दिएको बताउनुभयो । माधव अधिकारीले लेनिनका कथाहरू पुस्तकबारे चर्चा गर्नुभयो ।
जुम्ला
अक्टोबर समाजवादी क्रान्ति दिवसको अवसरमा नेमकिपा जुम्ला जिल्ला समितिको आयोजनामा अन्तरक्रिया कार्यक्रम भयो ।
कार्यक्रममा नेमकिपाका केन्द्रीय सदस्य डिल्लीप्रसाद काफ्लेले अक्टोबर क्रान्तिबाट विश्वका कामदार जनता, किसान र मजदुरको जीत भएको र पुँजीपति वर्गको हार भएको चर्चा गर्दै नेमकिपाले माक्र्सवादी दर्शनको आधारमा देशमा समाजवादी गणतन्त्र स्थापना गर्ने लक्ष्यसाथ सङ्घर्ष अघि बढाइरहेको बताउनुभयो ।
नेमकिपा जुम्ला जिल्ला समितिका अध्यक्ष शिवलाल डाँगीले अनुशासित र सक्रिय कार्यकर्ताले नै समाजवादी क्रान्तिमा योगदान गर्नसक्ने कुरा बोल्शेभिक क्रान्तिले सिकाएको बताउनुभयो ।
कार्यक्रममा नेमकिपा जुम्लाका उपाध्यक्ष राजेश्वर देवकोटा, सचिव जयकृष्ण उपाध्याय, कर्मचारी समाजका केन्द्रीय सदस्य धनबहादुर रावत, पूर्णलाल खत्री, नेक्राकिसङ्घका विर्षबहादुर रावत, यज्ञबहादुर बुढथापा, लक्ष्मी कठायत, भीम साने, मिमबहादुर सार्कीलगायतले अक्टोबर क्रान्तिबारे आ–आफ्नो अध्ययन सार प्रस्तुत गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *