भर्खरै :

चिनियाँ फोटोग्राफरको तस्वीर प्रदर्शनी सुरु

भक्तपुर, २१ कार्तिक । भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापति तथा नेपालका लागि चिनियाँ राजदूत यु होङले ‘दुई दिने नेपाल–चीन फोटोग्राफी प्रदर्शनी’ कार्यक्रमको बुधबार संयुक्तरूपमा उद्घाटन गर्नुभयो ।
भक्तपुरका युवा फोटोग्राफरहरूको समूह किपाग्राफी भक्तपुरको आयोजनामा दरवार स्क्वायरमा भएको उक्त कार्यक्रममा नगर प्रमुख प्रजापतिले फोटो/चित्रको महत्व दर्साउँदै एउटा चित्रले धेरै शब्दहरू बोल्ने हुँदा फोटो आफै एउटा लेख र समाचार हुने बताउनुभयो ।
लेखेर व्यक्त गर्न गा¥हो विषयलाई पनि चित्र÷फोटोले सजिलै बुझाइदिने उल्लेख गर्दै उहाँले ५५ झ्याललगायतमा रहेका भित्तेचित्रहरूले तत्कालीन इतिहास बुझ्न मद्दत मिलेको बताउनुभयो ।
प्रमुख प्रजापतिले भन्नुभयो, ‘‘भनपाले यहाँका मूर्त र अमूर्त सम्पदाहरूको संरक्षण गर्दै आएको छ । भूकम्पले भत्केका मठ–मन्दिरहरू पुनःनिर्माणमा नगरपालिकाले प्राथमिकता दिइरहेको छ । भक्तपुरलाई पर्यटकीय गन्तव्यस्थल बनाउन भनपाका जनप्रतिनिधिहरू निरन्तर लागिरहेका छन् ।’’
मेयर प्रजापतिले महामहिम चिनियाँ राजदूतलाई भक्तपुरमा स्वागत गर्न पाएकोमा खुसी व्यक्त गर्दै भक्तपुरको मयुर झ्याल उपहार दिनुभएको थियो ।
विशेष अतिथि चिनियाँ राजदूत यु होङले चित्रकलाको प्रदर्शनीले नेपाल र चिनियाँ जनताको मित्रतालाई अझ नजिक बनाउने बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘‘चीन र नेपालबीच सम्बन्ध र सहकार्य गरेर अगाडि बढ्नु आवश्यक छ । भक्तपुरको पुनःनिर्माणमा भइरहेको प्रगति प्रशंसायोग्य छ ।’’
किपाग्राफी भक्तपुरका अध्यक्ष अच्युत प्रजापतिको सभापतित्वमा भएको कार्यक्रममा नेपाल पर्यटन बोर्डका डाइरेक्टर आदित्य बराल, नेपाल पर्यटन विकास प्रवद्र्धनका निराजन तिवारी र पेच्याउ फोटोग्राफी एसोसियसन चीनका अध्यक्ष थान यू फानले पनि बोल्नुभएको थियो ।
फोटो प्रदर्शनी बिहीबारसम्म चालू रहने आयोजकले बताएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *