किरण थापा
कक्षा कोठामा कुनै दिन मलाई भित्रैबाट दुख्यो जब शङ्खधर साख्वा को हुन् ? भन्ने मेरो प्रश्नले भाइबहिनीहरू अनुत्तरित भई मुखामुख हेर्न थाले, मौन रहे । विद्यार्थीहरू जो भोलिका राष्ट्र सेवक र राष्ट्र निर्माणका ठूला जनशक्ति हुन् । तिनलाई यस्ता राष्ट्रिय महत्व, प्रतिष्ठा र गरिमा बोकेका राष्ट्रिय विभूति तथा धरोहरबारे जानकार नहुनु हामी कतै चुकेका छौं भन्ने लाग्यो । हाम्रा पाठ्यक्रम र पाठ्यपुस्तकहरूमा पनि परिमार्जन हुनुपर्ने महसुस गरँे । अरु को हुन् ? भन्दा पनि हामी को हौं ? हाम्रा विभूति र धरोहरहरूको हुन् र के हुन् ? भनेर आफ्नो परिचय जान्नु आवश्यक भएको र भाइबहिनीहरूलाई राष्ट्रियताको मूल मर्मको ज्ञान दिनुपर्ने आवश्यक भएको ठहर गरेँ । निश्चय पनि हामी मानव सभ्यताको विकासको कुरा गर्दा सिन्धु सभ्यता, महेञ्जोदारो र हरप्पा सभ्यता, ह्वाङहो सभ्यता, मेसोपोटामिया, ग्रीक, र बेबिलोनका सभ्यताका कुराहरू अध्ययन गर्छौं, अध्यापन गर्छौं । तर बत्तीमुनिको अँध्यारो भनेझैँ आफ्नै गौरवमय इतिहास, सभ्यता र संस्कृतिको जानकार नहुनु पक्कै राम्रो होइन ।
राष्ट्रलाई चिन्नुपर्दा पहिले त्यहाँको मौलिकतालाई चिन्नुपर्दछ । राष्ट्रको विभूतिहरूका देन, समर्पण र बलिदानका कुरा बुझ्नुपर्दछ । तिनले सामाजिक, राजनैतिक, धार्मिक, कला तथा सांस्कृतिक क्षेत्रमा गरेका योगदानको विस्तृत तथा गहन अध्ययन हुनुपर्दछ । राष्ट्र राष्ट्रिय विभूतिहरूका देनबाट बनेको चिनिएको र सिङ्गारिएको हुन्छ । राष्ट्र मौलिकता, गौरवमय इतिहास, पृथक सभ्यता र संस्कृतिमा अस्तित्व बहन गर्दछ । वास्तवमा राष्ट्रियता त्यही हो । मेरो तथा मेरो देशको स्वाभिमान एवम् स्वार्थमा चोट पुग्ने थोरै सानो कुराले पनि आफूलाई दुख्छ वा राम्रो कुराले आफ्नो छाती गौरव र खुसीले फुल्छ भने त्यो राष्ट्रियता हो । मौलिकता राष्ट्रियताको प्राण र पर्याय हुन् । आफ्नोेपन सधैँसत्य र पूज्य हुन्छ ।
शङ्खधर साख्वा यस्तै एक गरिमामय नाम हो । उनी थिए एक साधारण मानिस ,पेसाले व्यापारी तर थिए इमानदार, उदार र राष्ट्रभक्त । सगरमाथाको चुचुरोझैं उनको नाम उच्च छ । नेपाल संवत् मौलिक संवत् हो । यस संवत्का प्रवर्तक हुन् – शंखधर साख्वा । ऐतिहासिक तथ्यअनुसार भक्तपुरका राजा आनन्ददेवको पालामा ८०० संवत्मा वर्षा नभएकोले पानीका मुहानहरू, खोला–नालाका पानी सुकेको, बारी र खेतबारीका माटाहरू पटपटी फुटेका, अन्न बालीहरू नभएका, अनिकाल लागेका र देशमा नै अशुभ भइरहेको थियो । मानिसहरूले खान नपाई मर्न परेका दुःख–बिमारीले सताएका र हुनसम्मकै दुःख भोगिरहेकाले प्रजाका यो दुःखलाई राहत दिन राजाले ऋण दिँदा दिँदा राज्यको ढिकुटी वा राजकोष पनि सकिसकेको थियो । राजाले यो सबै दैवी कारणले हुनसक्ने भन्दै देवताको पूजा गर्न छाडेका थिएनन् । अन्तमा उपाय नलागेपछि छिमेकी देश भोटको सहयोग माग्ने सोचमा बसिरहेका थिए । यत्तिकैमा राजज्योतिषले राजा आनन्देवलाई सुझाव दिने इच्छा जनायो । उनको भनाइअनुसार ८ अङ्कको संवत् अर्थात् ८०० संवत् चलिरहेकोले यसो हुनसक्ने भएको हो । सोही ज्योतिषअनुसार रत्नमन्त्र गरी शुभ–साइतमा कान्तिपुरको भलेखु र विष्णुमतीको दोभान लखुतीर्थबाट बालुवा झिकी राखे ४ दिनपछि उक्त बालुवा सुनमा परिणत हुनसक्ने कुरा राखेपछि ज्योतिषको सल्लाहबमोजिम राजा आनन्ददेवले रत्नमन्त्र गरी शुभघडीमा उक्त ठाँउबाट बालुवा निकाल्न हुकुम दिए । काठमाडांै निवासी साधारण व्यक्ति शङ्खधरले भक्तपुरेहरूले त्यहीँबालुवा हुँदाहुँदै काठमाडौं आउनुको रहस्य बुझेर भरियाहरूलाई फकाई सो बालुवा आफ्नो घरमा लगेको र ४ दिनपछि उक्त बालुवा सुनमा परिणत भएपछि बुद्धिमान शङ्खधरले उक्त सुन राजालाई बुझाई प्रजालाई ऋण मुक्त गरिदिने बिन्ति गरेपछि राजाले प्रजालाई सबै ऋणहरूबाट मुक्त गरिदिएको, प्रजाहरूमा खुसियाली छाएको र राज्यले ठूलो सङ्कटबाट मुक्ति पाएकोमा खुसी हुँदै त्यागी र सच्चा राष्ट्रभक्त शङ्खधरलाई सम्मान गर्दै चलिरहेको संवत् हटाई शङ्खधरकृत नेपाल संवत् प्रचलनमा ल्याउने र प्रयोग गर्ने आदेश दिए । यति मात्र होइन, हिन्दूहरूका आस्था भगवान पशुपतिनाथको मन्दिरको दक्षिण ढोकातिर राजा महाराजाहरूको प्रतिमासँगै शङ्खधर साख्वाको प्रतिमाको पनि निर्माण गर्न आदेश दिए । उनकै कारणले प्रजाको दुःख नाश भएको र सहकाल आएको भन्ने भनाइ छ । ऐतिहासिक यो घटनालाई आधार मानेर आजभन्दा ११३८ वर्ष अघि तिनले चलाएको नेपाल सम्वतलाई भारतका राजा विक्रमादित्यले चलाएको विक्रम संवत्झैं, धर्मको नाममा चलेको शक सम्वत, ईस्वी संवत्, हिजरी संवत् र राजाको नाममा चलेको मानदेव संवत्झैंँ नभएर राष्ट्रकै नामबाट ‘नेपाल संवत् ’ भनेर संज्ञा दिइएकाले तिनी कति राष्ट्रवादी रहेछन् प्रष्ट हुछ । उनको त्याग र कर्मलाई प्रकाशमा ल्याउन खास गरेर नेवार समुदायले गरेका आन्दोलनका फलस्वरुप राष्ट्रले उनलाई ‘राष्ट्रिय विभूति’ घोषणा गरी उच्च सम्मान गरेको छ । राजा राघवदेवको आज्ञानुसार कलिगत संवत् ३३८१ शक संवत् ८०१, मानदेव संवत् ३०४ हिजरी संवत् ३०१, विक्रम् संवत् ८७९, ईस्वी संवत् ८०२, अक्टोबर २० तारिख बिहिबार कार्तिक शुक्ल प्रतिपदाको दिनदेखि यो संवत् व्यवहारमा आएको हो । यही संवत् राज्यको सरकारी एवम् गैर–सरकारी तथा सामाजिक व्यवहारमा पनि ८८८ सालसम्म अटुटरुपमा प्रचलनमा रह्यो । शङ्खधर साख्वालाई राष्ट्रिय विभूति घोषणा गरी राज्यले उच्च सम्मान गरेको कुरा प्रसंशनीय छ । तर यतिमै राज्यको दायित्व पूरा हुँदैन । कस्तुरीले आफ्नो नाभीको सुगन्ध फेला नपारेर सारा जङ्गल चहारेझैं सबैको ऋणमोचक शङ्खधरलाई अझै चिनिसकेका छैनौं । जबसम्म राज्यले नेपाल संवत्लाई राष्ट्रिय संवत्को रुपमा मान्यता दिँदैन, तबसम्म शङ्खधर साख्वालाई राष्ट्रिय विभूति मान्नुको व्यवहारिक अर्थ वहन गर्दैन । नेपाल संवत्लाई राष्ट्रिय संवत्को रुपमा लिनु भनेको राष्ट्रिय स्वाभिमान हो ।
“पूर्खाले सिर्जेको सम्पत्ति, हाम्रो कला र संस्कृति” ले हाम्रो हरेक सृजनाहरू, धरोहरहरूलाई समेट्दछ । कला र संस्कृति पनि मानवीय उपज हो, वा भनौँ आविष्कार । यी मौलिक आविष्कारभित्र नेपाल संवत् पर्छ कि पर्दैन ? राष्ट्र बन्नलाई भूगोल मात्र पर्याप्त छैन । त्यस भूगोलका मौलिक उपज आभूषण हुन् अलङ्कार र शृङगार हुन् । राष्ट्रिय चिन्हहरूले पनि यिनै कुराहरूलाई उजागर गर्दछन् । मौलिकता आयातित वा निकासी गरिएको वस्तु होइन । हामी गुन्द्रुक र ढिँडोमा रमाउछौँ । डाँफे, मुनाल र लालीगुराँसमा हामी भावना साट्छौं । हामीलाई डम्फू र मादलको तालसित हाम्रा सुखदुःखहरू साटिन्छन् । च्याब्रुङ र सहनाई हाम्रा धडकन हुन् । धिमे हाम्रो जीवन । हाम्रा उपजले हाम्रो सभ्यतालाई प्रतिनिधित्व गर्दछ । यसैले सभ्यताको जगेर्ना गरौं । खोज, अनुसन्धान, बहस र वैज्ञानिक प्रयोगको लागि काम गरौं किनकि नेपाल संवत् प्रमाणिक हो ।
कुनै समय सरकारी, गैरसरकारी प्रचलनमा रहेको यो संवत् आज पनि धार्मिक तधा सामाजिक काममा प्रचलनमा छ । श्री ३ चन्द्र शमसेरको जातीय दमन नीतिका कारण नेपाल संवत्ले राजकीय स्थान प्राप्त गर्न सकेन । नेपालमा वि.सं.लाई चलन चल्तीमा ल्याएको हिसाब हेर्ने हो भने मात्र यो सय वर्ष नाघेको छ तर नेपाल संवत्को इतिहास हेर्ने हो भने मल्लकालीन समयदेखि नेपालको मौलिक संवत्को रुपमा प्रचलित छ । विश्वमा नेपाल संवत्बाहेक कुनै अर्को यस्तो संवत् छैन, जुन राष्ट्रको नाममा छ । यस संवत्ले राष्ट्रलाई प्रतिनिधित्व गर्छ । ईस्वी र वि.संमा राष्ट्रियता कहाँ छ ? मैले यो भनिरहँदा २१ शताब्दीमा, इन्टरनेट र प्रविधि अनि ग्लोबलाइजेसनको समयमा पुरातनवादी अग्रगामीविरोधी संज्ञा पाइने शङ्का पनि उत्तिकै छ । तर वास्तवमा मैले मेरै आमाको कुरा गरेको मात्र हुँ । अर्काकी आमाले सो¥ह शृङ्गार गर्दैमा त्यहाँ आफ्नोपन हुँदैन र बढ्दो भौतिकवादीहरूलाई आफ्नोपनको आभाषमा कति रमाइलो हुन्छ ? त्यो थाहा नहुन सक्छ । राष्ट्रवादको कोरा भाषण भनेको त एक छाकको राशनजस्तो मात्र हो र बाँच्दैन कहिल्यै राष्ट्रियतावाद कोरा भाषणमा ।
राष्ट्रियता सोच, समर्पण, मान्यता र व्यवहारमा बाँच्दछ । नेपाल संवत् यस्तो संवत् हो जसले कुनै राजकीय वंश,सामन्ती वा कुनै उपल्लो वर्गलाई सम्बोधन गर्दैन ।
(लेखक विद्याविकास से. स्कूलका शिक्षक हुनुहुन्छ ।)