भर्खरै :

तिहार, मिथक र समाजशास्त्र

सुरेश बखुन्छे
थालनी
नेपालमा प्राचीन कालदेखि नै वैद्धिक, पौराणिक एवम् बौद्ध आख्यानहरूमा आधारित धर्म, संस्कृति तथा कला प्रस्फुटित हुँदै आइरहेको पाइन्छ भने त्यसैका आधारमा विभिन्न जात्रा तथा चाडपर्वले निरन्तरता पाउँदै आएको पाइन्छ । चाडपर्व तथा जात्रा समाजका अभिन्न अङ्ग हुन् । त्यसबाट मानिसको सभ्यताले प्राप्त गरेको विकास, मानिसको आस्था, विश्वास तथा व्यवहारका विविध पक्षको पनि बोध हुन्छ । लिच्छवी शासन काल पूर्वको नेपालको इतिहास त्यति स्पष्ट छैन । यद्यपि यहाँ गोपाल, महिषपाल, किरातहरू आदिले सुरुमा शासन गरेको थियो भनी विभिन्न विद्वान तथा इतिहासविद्हरूले आफ्नो तर्क अगाडि सारेका छन् । कुनै जात्रा वा पर्वसम्बन्धी कुनै खासै प्रमाण नभेटिएका कारण त्यसबेला मनोरञ्जनका निम्ति शिकार खेल्ने, चित्र कोर्ने, धनुषवाण हान्ने आदि कार्य गर्ने गर्दथे भनी अनुमान लगाउन सकिन्छ । लिच्छवी कालमा सामाजिक तथा आर्थिक अवस्थामा सुधार भएका कारण यो समयमा राज्यबाट नै मनोरञ्जनका लागि विभिन्न पर्व, उत्सवको आयोजना गरिन्थ्यो । पछि लिच्छवीहरूको शासनपश्चात मल्लकालमा आएर जात्रापर्वले अझ व्यवस्थित स्वरुप प्राप्त गरेको पाइन्छ । अझ यो समयमा नै कला, साहित्य, धर्म, संस्कृति तथा अन्य क्षेत्रमा तिव्रत्तर वृद्धि भएको देखिन्छ । यसर्थ नेपालमा चलनचल्तीमा रहेका अधिकांश जात्रापर्वहरू त्यसै समयमा सुरुवात भएको देखिन्छ, जुन अहिलेसम्म पनि चलेको देख्न सकिन्छ भने कुनै पर्वहरू हराउँदै पनि गएको पाइन्छ । मल्लकालमा विकसिट चाडपर्वहरूमा विस्केत जात्रा, रातो मत्सेन्द्रनाथको जात्रा, गाईजात्रा, इन्द्रजात्रा, दुर्गा पूजा, यमपञ्चक आदिलाई लिन सकिन्छ ।
विभिन्न चाडपर्वका बेला विशेष प्रकारका खानेकुराहरू ऋतु, काल र समयसँग मिल्ने गरी खाइन्छ जसको आफ्नै प्राकृतिक महत्व पनि छ । यसबाट यहाँका चाडपर्वहरू कृषि वा भनौं उत्पादन सम्बनधको कार्यसँग अटुट सम्बन्ध रहेको कुरा स्पष्ट हुन्छ । वास्तवमा हाम्रा पुर्खाले प्रकृतिलाई नै आफ्नो मूलदेवता ठानेर सूर्य र चन्द्रमाको गतिअनुरुप आफ्नो दिनचर्या सुरु गरेभैmं चाडपर्वहरू पनि देशकाल परिस्थिति अनुसार प्राकृतिक उत्पादनसँग समन्वय गरी मनाउँदै आएको देखिन्छ । सिठी नखाः, गठेमुङ्गल च¥हे, गाईजात्रा, योमरी पुर्णे, घ्यूचाकु सङ्क्रन्ति, दसैं, तिहार आदि यसका उदाहरण हुन् । तर यस आलेखभित्र अन्य चाड वा पर्व भन्दा पनि तिहारलाई समाजशास्त्रीय आधारबाट प्रष्ट्याउने जमर्को गरिएको छ ।
तिहार सम्बन्धी मिथकः
तिहारका बारेमा विभिन्न मिथकहरू रहेका छन् र ती मिथकका आधारमा विभिन्न पशु–पंक्षीदेखि लिएर स्वयम्को पूजा (म्ह पूजा) तथा भाइपूजा (किजापूजा) सम्म गर्ने गरिन्छ । जहाँ कागलाई शनीदेवका वाहनका रुपमा चित्रण गरी सुसन्देश वाहकका रुपमा पुज्ने चलन रहेको छ । त्यस्तै कुकुरलाई भैरवका बाहन मानेर घरको रक्षकको रुपमा पुज्ने गरिन्छ भने गाईलाई लक्ष्मीको प्रतीकका रुपमा पुज्ने गरिन्छ । यहाँसम्म कि जनै पूर्णिमाको दिन हातमा बाँधेको डोरो लक्ष्मीपूजाका दिन गाईको पुच्छरमा बाँधेको खण्डमा श्रीवृद्धि हुने, धनको लाभ हुने जनश्रुति तथा जनविश्वास रहेको छ । त्यस्तै गोवद्र्धन पूजाको दिन गोरुको पूजा गर्ने चलन रहेको छ, जसको किवङ्दन्ती कृष्णले गोवद्र्धन पर्वत उचालेर गोकुलवासीको कल्याण गरेकोसँग सम्बन्धित छ भने भाइपूजाको प्रसङ्ग भने यमराज र यमुनाको कथासँग जोडिएको छ ।
अझ नेपाली समाजमा तिहारको महत्वपूर्ण पक्ष देउसी र भैलोलाई लिने गरिन्छ । जसको कथा विष्णुका दस अवतारमध्येका एक वामन अवतार दानी बली राजाको प्रसङ्गमा आधारित छ । यी र यस्ता मिथकले नेपाली समाजमा आफ्नै मौलिक स्वरुप निर्माण भएको पनि छ । फेरि समाजशास्त्रीय आधारबाट भन्ने हो भने मिथक आपैm पनि समाजबाट अलग रहँदैन । अर्थात्, यस्ता मिथकहरूको निर्माण पनि समाजले नै गर्दछ । यस्ता मिथक वा किम्वदन्ती पनि खास खास समय, परिस्थिति र वातावरणमा निर्माण भएर विकसित भएका हुन् । स्मरण रहोस्, मानव समाजको इतिहासका निर्माता मानव नै हुन्, कुनै दैवी शक्ति वा ईश्वर होइनन् ।
यथार्थता ः
मानिस हो वा अन्य प्राणी नै किन नहोस्, प्रकृतिकै उपज हुन् । एककोषीय जीव अमिवा, पारामेसियम् होस् वा बहुकोषीय जीव हात्ती, डाइनासोर वा मान्छे नै किन नहोस्, सबै पृथ्वीको निर्माणपछि विभिन्न कालखण्डमा विकसित भएका प्राणी हुन् । जसमध्ये कतिपय जीव त लोपसमेत भैसकेका छन् । करिब ३५ करोड वर्ष अगाडि मात्र मान्छेको विकास भएको र सभ्य मानिसको विकास करिब १० हजार वर्ष पहिले मात्र भएको विज्ञानले पुष्टि गरिसकेको छ । यही क्रममा मान्छेलाई हित गर्ने खालका पशुपंक्षीलाई पाल्ने, पुज्ने कार्य भएको हो । मानवशास्त्रीहरूका अनुसार मान्छेले पहिले पालेको पशु भनेको भेडा हो (विशेषतः बाख्रा प्रजाति), जसले मान्छेलाई ऊन, मासु र दूध समेत दिन्थ्यो (यही भएर भेडा समातेर बसेको येशुको प्रतिमा निर्माण गरिए ?) । त्यसपछि कुकुर हो, जसले मानिसका विभिन्न कार्यमा सहयोग गरे । एवम् रीतले आफ्नो नियन्त्रणमा लिन सक्ने पशुपंक्षीलाई घरमा पाल्न थालिए । जसलाई नियन्त्रण गर्न सकिएन, ती जङ्गलमै छाडिए । यसरी घरेलु र वनेलु जनावरका रुपमा परिभाषित गरिए ।
भारत (गंगा मैदान) मा कृषिलाई बढी प्राथमिकता दिने गरिन्छ । खेतबारीमा हाल्नको लागि मल चाहिने र खेत जोत्नका लागि गोरु चाहिने भएकाले नै त्यहाँ गाई–गोरुको बध गरिँदैन । त्यसबाहेक गाईबाट दूध पनि पाउने हुँदा नै गाई पुजिएका हुन् । यही प्रसङ्ग नेपालमा पनि लागू हुन्छ । त्यस्तै कुनै घटना घटेको छ वा घट्न लागेको छ भने काग बेस्सरी कराउनुका साथै आकाशमा उडिहाल्छ (यसको उदाहरण २०७२ वैशाखको भूकम्पका समयमा कागको क्रियाकलापलाई लिन सकिन्छ ।) कागलाई पुज्नुको मुख्य कारण भनेको यही पूर्व सङ्केत वा कुनै घटना घटेको कुराको सङ्ेत दिनु रहेको छ । कुकरलाई पुज्नुको कारणमा भने “गुनीमा कुकुर, बैगुनीमा ढुकुर” भन्ने लोकोक्तिले पनि स्पष्ट पार्दछ । भनाइको तात्पर्य, कुकुरले मान्छेको गाईवस्तुको रेखदेखदेखि लिएर घरको हेरचाह समेत गर्ने गर्दछ ।
म्हपूजा गर्नुको अर्थ भनेको सबभन्दा पहिले आफ्नो शरीर स्वस्थ राख्नुपर्दछ, ताकि कुनै पनि काम गरेर परिवार तथा आफ्नो जीवन यापन गर्न सकोस् भन्ने नै रहेको हो । यस क्रममा प्रयोग गरिने जजंका तान्त्रिक परम्परासँग सम्बन्धित छ । नेवार समुदायमा तान्त्रिक परम्पराको आफ्नै महत्व रहेको छ । भाइपूजाको कुरा गर्ने हो भने दिदी–भाइ सम्बन्धसँग जोडिएको छ । मानव समाजको विकासकै क्रममा कुनै झुन्ड–झुन्डबीच झगडा हुने र विवाहसमेत हुने गर्दथ्यो । त्यस क्रममा आफ्नो माइत पक्षलाई केही भयो वा भएन भनी बुझ्न आउने क्रममा यस्तो प्रचलन चलेको हो भन्न सकिन्छ । यसका साथै टाढाटाढासम्म विवाह गर्ने चलनरहेको तात्कालीन समयमा माइत आएर केही मिठो मसिनो वा कोसेली ल्याएर माइत पक्षकालाई खुवाउने क्रममा यस्तो चलन चलेको देखिन्छ । यसर्थ मिथक आफ्नो ठाउँमा छ, तर हरेक मिथकभित्रको वैज्ञानिक आधार खुट्याउन सकेको खण्डमा हामीले चाडपर्व किन मान्छौं र किन मानिरहेका छौं भन्ने यथार्थताको ज्ञान हुन्छ ।
जहाँसम्म तिहारमा खेलिने देउसी भैलोको प्रसङ्ग छ, त्यो कुनै वामन र बली राजाको किम्बदन्ती भन्दा पनि पर्वतका राजा बलीको गुणगानमा आधारित लोग गीत मात्र हो । यदि सांच्चिकै वामन र बलीको प्रसङ्गमा आधारित हो भने भारतमा किन देउसी–भैलो खेलिँदैन त ? जबकि नेपालमा हिन्दू धर्मको प्रवेश विभिन्न समयमा भारतबाट भएको थियो । त्यस्तै नेवार समुदायमा देउसी–भैलो खेल्ने त्यति चलन छैन (पर्वतीया समाज र संस्कृतिमा घुलमिल भएकालाई छाडेर) । त्यसको सट्टामा योमरी पुर्णेमा देउसी खेलेजस्तै आफ्नै लोक गीत गाएर योमरी माग्न जाने चलन रहेको छ (हिजोआज यस्तो चलन विस्तारै लोप हुँदै गएको देखिन्छ) । यदि कुनै देवी–देवतालाई पुज्दैमा धन वृद्धि हुने भए मान्छेले किन पैसाको लागि मरिमेट्थ्यो ? अतः तिहारका बारेमा चल्दै आएका विभिन्न मिथकहरूलाई समाज विज्ञानका आधारमा हेर्ने हो भने यस्ता मिथकहरूको निर्माणमा आर्थिक, सामाजिक तथा राजनीतिक परिवेश रहेको पाइन्छ ।
पुच्छारमा ः
मानव समाजले गर्ने विभिन्न क्रियाकलाप, चालचलन, जीवनपद्धति, रहनसहन, भेषभूषा, कलाकृति आदिलाई संस्कृति भनिन्छ । अर्थात संस्कृति भनेको मानव समाजको क्रियाकलापको उपज हो । यही क्रियाकलापकै क्रममा मानव समाजले चाडपर्वको पनि विकास गरे । यस्ता पर्वहरूमध्येको एक तिहारमा काग, कुकुर, गाई, गोरुलगायतका पशुपंक्षीको पूजा गर्नुका अतिरिक्त मिठा परिकार पनि खुवाउने चलन छ । मानव सभ्यताको विकासमा यी माथि उल्लिखित पशुपंक्षीको महत्वपूर्ण योगदान रहेको हामी पाउँदछौं । जसका कारण प्रत्येक कार्तिक शुक्ल त्रयोदशीदेखि कात्र्तिक शुक्ल द्वितीयासम्म पाँचदिन यो पर्व मनाइन्छ । सभ्यताको विकासक्रमसँगै प्रकृतिमा रहेका जीवजन्तुले मान्छेलाई फाइदा दिएको हुनाले यिनको पूजा गर्ने संस्कृति बन्यो र कालान्तरमा तिहार चाडका रुपमा स्थापित भए । अझ अर्को पक्ष यो पर्वमा प्रायः घरघरमा दीपावली गर्ने र झिलिमिली बत्ती बाल्ने चलन पनि छ । सम्भवतः दीपावली गर्ने चलन वा संस्कृति निर्माण हुनुमा मानव सभ्यताको विकाससँगै र आगोको आविष्कार गरिसकेपछि स्वर्गको कल्पना गरिसकेर स्वर्गमा झिलिमिली हुने किम्बदन्तीको विकास भयो र मान्छेले यही पृथ्वीलाई नै स्वर्ग बनाउने कल्पना गरेसँगै यो तिहार पर्वमा दीपावली गर्ने चलन वा संस्कृति बस्यो (?) ।यसर्थ यस पर्वका बारेमा रहेका विभिन्न मिथक र वैज्ञानिक आधारलाई हेर्दा तिहार कुनै खास समयमा राज्यको आर्थिक, राजनीतिक र सामाजिक अवस्थासँगै विकास भएको देखिन्छ ।
यसका साथै मानव समाज आपैm परिवर्तनशील भएकाले आर्थिक, सामाजिक तथा राजनीतिक प्रणालीमा समेत परिवर्तन आउँदछ । यसर्थ समय सापेक्ष उत्पादनका स्रोत र साधनमा आउने फेरबदलसँगै यो तिहारको स्वरुपमा पनि फेरबदल वा परिमार्जन हुने कुरामा कसैको दुईमत नहोला । उदाहरणका लागि पहिले कृषिमा आधारित नेपाली समाज अहिले रेमिट्यान्स वा अन्य आर्थिक पक्षमा भर पर्नु परेको कारण पूmलले घर आँगन सिँगार्ने ठाउँमा प्लास्टिक, कागज वा अन्य कुनै चिजबाट बनेका कृत्रिम पूmलले घर सजाउने चलन चल्नु, देउसी–भैलोको रौनक हराउँदै जानुका साथै देउसी–भैलो खेल्ने समयसीमा तोक्नु आदिबाट पनि पुष्टि हुन्छ । यसर्थ तिहारका बारेमा रहेका मिथक होस् वा तिहारमा गर्ने विभिन्न क्रियाकलाप नै किन नहोस्, अवश्य परिवर्तन हुनेछ । संसारमा “परिवर्तन” शब्द बाहेक अपरिवर्तनीय केही पनि छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *