नेपाल संवत् ११३८ लाई बिदा गरेर आजबाट नयाँ वर्ष नेपाल संवत् ११३९ सुरू भएको छ । नेपाल संवत्को इतिहासमा नसुल्झिएका धेरै विषय अद्यापि छन् । भविष्यले त्यस्ता नसुल्झिएका इतिहास पनि क्रमशः सुल्झाउँदै जानेछ । तर नेपाल संवत्को नयाँ वर्षारम्भ नेपाली जनताले उत्सवको रुपमा मनाउने सांस्कृतिक उत्सवमध्ये बनिसकेको छ ।
केही मानिसहरू नेपाल संवत्लाई केही जाति विशेषको संस्कृतिको रुपमा सङ्कुचित बनाउने प्रयास गर्छन् । नेपाली इतिहासको ठूलो हिस्सा काठमाण्डौ उपत्यकाको इतिहाससँग अन्यान्योस्रित रुपमा जोडिएको अवस्थामा काठमाण्डौ उपत्यकाबाट जन्मेको नेपाल संवत्लाई कुनै जाति विशेषको मात्र मान्नु सङ्कीर्ण सोच वा पक्षपातको परिणाम हो ।
नेपाल बहुसांस्कृतिक देश हो । राज्यसत्ताले कुनै पनि एउटा संस्कृतिलाई काखी च्यापेर अर्को संस्कृतिप्रति विभेदको भाषा बोल्दा राज्यसत्ता जनताको भावनाअनुरूपको कदापि हुनेछैन । जनताको भावनामा नभिजेको कुनै पनि राज्यव्यवस्थाको आयु लामो हुने गर्दैन ।
लोकतान्त्रिक गणतन्त्र स्थापनापश्चात् नेपालका सबै भाषा, जाति र संस्कृतिको जगेर्ना र प्रवद्र्धनका लागि राज्यले ध्यान दिने अपेक्षा गरिएको थियो । जनस्तरमा संवद्र्धन भइरहेका संस्कृतिलाई राज्यले स्वामित्व ग्रहण गरी संरक्षण र विस्तारको आशा गरिएको थियो । तर राज्यले नेपाली जनताको सांस्कृतिक विविधता जोगाउन कुनै मूर्त कदम चालेको छैन । पञ्चायती राज्यव्यवस्थाले गरेको सांस्कृतिक विभेदमा अहिले पनि कुनै भिन्नता आइसकेको छैन । केही जातिका धनीमानीले यही मुद्दामा उभेर राजनीतिक लाभ त उठाए । तर व्यापक जनताले हिजो र आजको परिस्थितिमा कुनै भिन्नता बोध गरेका छैनन् ।
नेपाल संवत् जातीय संवत् होइन । नेपाली जनता स्वयंले इतिहासदेखि स्वीकार्दै आएको संवत्लाई व्यापक रुपमा हेरी राज्य स्वयंले थप अध्ययनको वातावरण बनाउनुपर्दछ । साथै नेपाल संवत्को प्रयोगको परिधिलाई अझ फराकिलो बनाउन आवश्यक छ । नेपाल संवत् कुन समयमा कसले सुरू गरेको थियो भन्ने विषयमा धेरै विचारहरू चर्चामा छन् । तर अझै पनि कुनै आधिकारिक इतिहास पत्ता लागेको छैन । राज्य स्वयंले त्यसको खोजी अनुसन्धान गर्न कुनै लगानी गर्न आवश्यक ठानेको छैन । वर्षको एक दिन नेपाल संवत् सम्झेर नेपाल संवत्को सही इतिहास कसरी पत्ता लाग्ला ¤
नेपाल संवत्को नयाँ वर्षारम्भमा भाषा, साहित्य, संस्कृतिका साथै देशको राजनीतिक परिस्थिति र शासक दलहरूबाट भइरहेका गल्ती कमजोरीबारे पनि छलफल गर्न आवश्यक छ । नयाँ वर्ष शासक दलले व्यापक नेपाली जनतामाथि गरेका विभेद र अत्याचारको विरोध गर्ने अवसरको रुपमा लिइनु जरुरी छ । विद्यमान विभेदकारी राज्यव्यवस्थाविरुद्ध लड्न ऊर्जा थप्ने अवसरको रुपमा नयाँ वर्षलाई लिइनु जरुरी छ ।
नयाँ वर्षमा देशमा व्याप्त असुरक्षा, भ्रष्टाचार, महँगी, अव्यवस्था, अराजकता तथा शासक दलका नेता कार्यकर्ताको दम्भविरुद्ध लड्न अझ शक्ति प्रदान गरोस्, शुभकामना । न्हूदँया भिन्तुना ।