भर्खरै :

दुईतिहाइलाई गिज्याइरहेकी निर्मला

मोतिलाल
निर्मला पन्तको बलात्कार र हत्या भएको एक सय दिन बितिसक्यो । हत्या भएको एक सय दिन पुगेको खबर अधिकांश पत्रपत्रिका, रेडियो, टीभी र सामाजिक सञ्जालहरूले दिए । ती सञ्चारमाध्यमहरूले हत्या भएको सय दिन नाघिसक्दा पनि हत्यारा पत्ता लगाउन नसकेको समाचार पनि दिए । देशमा दुईतिहाइ बहुमत प्राप्त सरकार छ । दुईतिहाइ बहुमतको सरकार अपराधी पत्ता लगाउन अनेकाअनेक काम गरिरहेको बताउँछ । यद्यपि निष्कर्ष दिन्छ, ‘‘हामी अनुसन्धानमै छौँ, केही भन्न सकिन्न ।’’ बलात्कार र हत्याजस्ता जघन्य अपराध यसअघि पनि भए । यसपछि पनि भइसकेका छन् । ती घटनाहरूको स्वाभाविक प्रक्रियामा अनुसन्धान भएका छन् । अपराधीहरू पक्रिएका छन् । कारबाहीको घेरामा आएका छन् । परन्तु निर्मला पन्तको प्रकरणमा त्यस्तो भएन । सुरु कारबाहीको बेला नै सार्वजनिक रुपमै प्रमाण मेटाउने काम भयो । अनि फेरि अपराधी पत्ता लगाउन प्रमाण पुगेन भनिरह्यो । त्यसले नै यो प्रकरणलाई विशिष्ट बनायो । न्यायका पक्षपाती नेपाली जनतालाई सशङ्कित बनायो । उत्तेजित बनायो । आन्दोलित बनायो ।
निर्मला पन्तका बलात्कारी र हत्यारालाई कारबाही गर्न न्याय माग्ने नेपाली जनतालाई संरा अमेरिकाबाटै दुईतिहाइ बहुमत प्राप्त शक्तिशाली प्रधानमन्त्री ओलीले भने, ‘‘अपराधी पत्ता लगाउन बाह्र चौध वर्ष पनि लाग्न सक्छ ।’’ प्रधानमन्त्री ओलीका ‘दूरदर्शी’ महावाणीबाट आन्दोलनकारी आश्वास्त भएनन् । झन् राँकिए । नेपाली भाषाका शब्दमै माथापच्ची गरेर प्रधानमन्त्री पड्काइरहेका ओलीले के अपराधीसम्म पुग्ने सबै बाटा बन्द भएरै त्यसो भनेका हुन् ? कि बाह्र चौध वर्षपछि स्वयं अपराधी आत्मसमर्पण गर्न आउने वचन पाएर भनेका हुन् ? रहस्य कै गर्भमा छ । निर्मला पन्त हत्या प्रकरणलाई रहस्यमयी बनाउन अति प्रपञ्च भए । प्रमाण मेटाउन सबथोक गरे । त्यसैले वरिष्ठ पत्रकार भैरव रिसाल दाबी गर्छन्, ‘‘हत्यापछि निर्मलाको गुप्ताङ्ग पखाल्नु, पेन्टी धोइदिनुजस्ता मिहिन काम अकस्मात् पक्का नि भएका छैनन् ।’’
प्रमाण मेटाउन केमात्र गरिएन ? निर्मला हराएको सूचना पाएको प्रहरी बेढङ्गले बेवास्ता गरी बस्यो । निर्मलाको खोजीमा लाग्नुपर्ने प्रहरी एकाइको हाकिम सरुवा गरियो । स्थानीय सर्वसाधारणले लास भेटाए । लासको मुचुल्का बनाउन घटनास्थलको सुरक्षा गरिएन । उल्टै सादा पोशाककी महिला प्रहरीले निर्मलाको कपडा खोली पखालिन् । निर्मलाको पार्थिव शरीर धोइदिइन् । थुप्रै प्रत्यक्षदर्शीले विरोध गरे । भिडियो खिचिएका छन् । विरोध गर्ने सर्वसाधारणलाई प्रहरीले हकारे । सुरुमा सादा पोशाकमा आएकी महिला प्रहरी पोशाकमा फेरि मुचुल्का उठाउन आएकी देखिएको छ । सामान्य निर्मला पन्तको ‘मृत्यु’ प्रकरणमा प्रहरीको असामान्य गतिविधिले घटनालाई रहस्यमयी बनायो । प्रहरीको शङ्कास्पद क्रियाकलापले प्रत्यक्षदर्शी सर्वसाधारण जनतालाई आक्रोशित बनायो । दोषीलाई कारबाहीको माग गर्दै कञ्चनपुरको सडक तात्यो । कञ्चनपुरको झिल्को देशभर फैलियो । दोषी पत्ता लगाउन सक्रिय हुनुपर्ने प्रहरी अधिकारीहरू प्रमाण मेटाउन मरिहत्ते गरी लागिरहे । अम्बाको रुख काटिएको छ । कञ्चनपुर नगरकै सार्वजनिक बाटोमा राखिएको सिसि क्यामेराका रेकर्डसम्म बिगार्ने काम भएको छ । अनि फेरि प्रमाणको अभावमा दोषी पत्ता लगाउन नसकिएको झ्याली पिटिएको छ । प्रमाणको स्रोत त ती हुन् जसले प्रमाण नष्ट गरे । त्यसैले वरिष्ठ पत्रकार भैरव रिसालले प्रश्न गरेका छन्, ‘‘अपराधको प्रारम्भदेखि नै प्रमाण नष्ट गर्नेहरू नै अपराधको सेफ खोल्ने साँचो होइनन् र ?’’ नत्र किन चौपटसँग नष्ट गरे प्रमाण ?’ जवाफ दिनुपर्ने हो दुईतिहाइको ओली सरकारले । तर दुईतिहाइको ओली सरकार निर्लज्जतापूर्वक टोलाइरहेको छ । प्रहरीले महत्वपूर्ण प्रमाण नष्ट गरेर गल्ती गरेको भनिसके पनि सरकारद्वारा गठित छानबिन समितिले त्यो प्रमाण नष्ट किन भयो भनेर खुलाउन सकेको छैन ।
प्रमाण नष्ट गर्ने प्रहरी अधिकारीहरूलाई कारबाही गर्न व्यापक जनताले दबाब दिए । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायाणमान बिजुक्छेंले सरकार ढल्ने डरले अपराधीहरूलाई कारबाही नगरेको बताए । पूर्वप्रधानमन्त्री एवं काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले अपराधीहरूलाई सरकारले संरक्षण गरिरहेको दाबी गरे । सरकारको अकर्मण्यता उदाङ्गिदै गयो । सरकारले घटना भएको सय दिन नाघ्नै लाग्दा बल्ल दुई प्रहरी अधिकारीहरूलाई बर्खास्त ग¥यो । सरकारले लाज ढाँक्नमात्र बर्खास्त गरेको देखियो । सरकारले जनतालाई ढाँट्नमात्र बर्खास्त गरेको देखियो । नत्र बर्खास्त गरिएका प्रहरी अधिकारीहरूलाई अन्य सरकारी जागिरको लागि बाटो खुला छोडिने थिएन । तिनीहरूलाई बर्खास्त गर्दा सरकारले लगाएको आरोपअनुसार जेल सजाय दिनुपर्ने हो । अपराधी पत्ता लगाउन हरेक प्रमाणको संरक्षण गर्नुपर्ने, घटनाको सुक्ष्म अध्ययन गर्नुपर्ने प्रहरी अधिकारी आफैले प्रमाण मेटाउन लगाउनेभन्दा अरु के अपराध हुनसक्छ ? यो त हत्या र बलात्कारभन्दा पनि राज्यविरुद्धको अपराध हो । राजद्रोह हो । त्यसैले कडाभन्दा कडा सजाय हुनुपर्ने हो । जागिरबाट निकाल्ने काममात्र भयो । यसले सरकार र प्रहरी प्रतिष्ठानकै पनि प्रतिष्ठा बढाएको छैन । बरु इमानदार सकल प्रहरी जवान र अधिकृतहरूलाई नै लज्जित पारेको छ । कार्तिक १९ गते सोमबार रुपन्देहीका राजनीतिक दलका प्रतिनिधिहरूको बीचमा एक प्रहरी अधिकारीले भने, ‘‘आफ्नो २६ वर्षको प्रहरी जीवनमा यो जस्तो शर्मनाक घटना भएको छैन ।’’ यस्ता घटनाले प्रहरीको मनोबल ह्रास गरेको छ ।
प्रहरी कर्तव्यबाट च्युत दिल्ली विष्ट र जगदीश भट्टलाई जागिरबाट निकालिएपछि सरकारले सोचेको होला – अब यो प्रकरण यहीं सेलाउँछ । कतिमात्र आन्दोलन गर्छन् ? जनता थाकिसके होला । दिनहरू बित्दै गएपछि सञ्चारकर्मी, मानव अधिकारकर्मी सबैले बिर्सन्छन् होला । तर घटनाको रहस्य अझै खोटल्दै अझै नयाँ नयाँ सन्देहहरूले बजार भरिरहेको छ । लास उठाउने बेला पत्रकार पुष्कर भट्टले छायाङ्कन गरेको भिडियोमा निर्मलाको टाउको फनफनी घुमेको, घाँटी लुलो भएको आधारमा अवकास प्राप्त कञ्चनपुरकै सर्जन डाक्टर सुभेषराज कायष्ठले निर्मलालाई झुण्ड्याएर हत्या गरेको हुनसक्ने दाबी गरेको खबर कार्तिक १९ गतेको मानसखण्ड दैनिकले दिएको छ । अपराधीहरूले अपराधलाई लुकाउन हजार कोसिस गरे पनि कुनै न कुनै सुराक छोडेकै हुन्छ भन्ने गरिन्छ । यो घटना पनि सरकारले पनि हजार पटक आँखा चिम्लिन खोजे पनि कुनै न कुनै ठाउँबाट सरकारको होस् ठेगानमा ल्याउनेछ । दुई तिहाइको दम्भमा रोमाञ्चित सरकारलाई धर्तिमा बिसाउनेछ ।
घटनालाई मोड्न अभियुक्त पक्षबाट पनि अनेक जोडबल भइरहेको छ । यही बीचमा आरोपित बम दिदीबहिनीको भिडियो अन्तर्वार्ताहरू सार्वजनिक भएका छन् । एकै ठाउँमा दुई बम दिदीबहिनीको मात्र र अर्को भिडियोमा बम दिदीबहिनीका आमाबुबा दायाँबायाँ राखेर बनाइएका अन्तर्वार्ताहरूले झन् बम दिदीबहिनीप्रति शङ्कालु नजरले हेर्नुपर्ने बनाएको छ । अन्तरवार्ताहरूमा बहिनी रोशनी बम धेरै बोलेकी छन् । दिदी बबिता बमले रोशनीका कुरामा सच्याउने काम गरेकी छन् । दिदी र बुबाको अनुहारमा भन्दा आमा र बहिनीको मुहारमा चमक प्रस्ट देखिन्छ । निर्धक्कसँग प्रस्तुत भएका बम परिवारले दिइएका जवाफले अनाहकमा बम परिवारलाई कसैले फसाएको हो कि भन्ने पनि लाग्न सक्छ । तर अम्बाको रुख काटेको विरोधलाई अर्काको सम्पतिको जे गरे पनि के मतलब नि भनी आमाले हतार हतार जवाफ दिएकी हेर्दा सन्देह गर्ने ठाउँ धेरै दियो । जब कि अहिले निर्मलालाई झुण्ड्याएर मारेको हुनसक्ने विशेषज्ञ चिकित्सकहरूले बोल्न थालिसकेका छन् । अर्को प्रसङ्गमा हत्याको घटना कसले गराएको केही पनि थाहा नभएको बताउने बम परिवारले एक मुखले नै बर्खास्तमा परेका प्रहरी अधिकृतहरू निर्दोष रहेको दाबी गरेका छन् । अन्यायपूर्वक तिनीहरूको जागिर खाइदिएको बताएका छन् । बम दिदीबहिनी र परिवारप्रति सहानुभूति जगाउन युट्युबमा हालिएको यो भिडियो अन्तरवार्ता पनि इमानदारीपूर्वक अनुसन्धान गर्ने हो भने एउटा स्रोत हुनसक्छ ।
कुनै पनि घटनालाई ढाकछोप गर्न षड्यन्त्रकारीहरू जतिसुकै चलाख भए पनि गर्तमा भएका कुरा ढिलोचाँडो उदाङ्गिनु त अनिवार्य शर्त नै हो । जनतालाई सधैंभरि अन्धकारमा जकडेर राख्न त दुईतिहाइको हत्केलाले सक्ने कुरै भएन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *