भर्खरै :

भनपाद्वारा नेपालभाषाको ‘ख्वप पौ’ प्रकाशित

भक्तपुर, २२ कार्तिक । नेपाल संवत् ११३९ नयाँ वर्षको अवसर पारेर भक्तपुर नगरपालिकाले नेपालभाषाकोे बुलेटिन ‘ख्वप पौ’ प्रकाशित थालेको छ । नेपालभाषा बोल्ने जनताको अत्याधिक बहुमत रहेको भक्तपुर नगरमा नेपालभाषाको अखबार प्रकाशन थालिएको हो । नेपाल संवत् फेरिएको दिन प्रकाशित सो बुलेटिनको उद्देश्य भाषा र साहित्यको माध्यमबाट जनताको सेवा गर्नु रहेको सम्पादकीयमा लेखिएको छ । बुलेटिनको पहिलो अङ्कमा नपाका विभिन्न गतिविधि, कार्यक्रम, देश विदेशका घटना, साहित्यिक लेख, कथा, कविताका विधाहरू समावेश छन् । ‘भक्तपुर’ मासिक पत्रिका निरन्तर प्रकाशन गरिरहेको भक्तपुर नगरपालिकाले नेपालभाषाको ‘ख्वप पौ’ प्रकाशन गरेर अर्को नयाँ कार्य गरेको छ ।
‘ख्वप पौ’ बुलेटिनको वर्ष १ अङ्क १ नेपाल संवत् ११३९ कछलाथ्व अर्थात् २२ कार्तिक ०७५ (ड ल्यख। द्दण्ज्ञड) मा प्रकाशित भएको छ ।
बुलेटिनको पहिलो अङ्कमा नेमकिपाका अध्यक्ष नारायणमान बिजुक्छें (रोहित) को अन्तर्वार्ता, भनपाका नगर प्रमुख सुनिल प्रजापतिको कार्तिक १७ गते भएको अन्तर नगरस्तरीय खेलकुद कार्यक्रमको समापनमा व्यक्त मन्तव्य, हरिबहादुर श्रेष्ठद्वारा लिखित कार्लमाक्र्सको जीवनी छन् । त्यस्तै कवि चन्द्रबहादुर उलकको ‘वँचुगु आकाश खः कार्लमाक्र्स’, सीतुको युगं बुइकम्हा ह्याउँम्हा प्रमियस’, सुरेन्द्रराजको ‘माक्र्सया म्ये’ र रामप्रसाद किसीको ‘छःगु ल्वय् विनाश याइगु वंशया’ कविता रहेका छन् ।
सरोजराज गोसाईंको ‘असुरक्षा’ लघुकथा, प्रदेश ३ का प्रदेशसभा सदस्य सिर्जना सैंजूको ३८ औं नेपालभाषा साहित्य तःमुंज्यामा व्यक्त मन्तव्य र संस्कृतिका लेखक ओम धौभडेलको ‘स्वन्ति नखाः व उकिया महत्व’ लेख पनि ‘ख्वप पौ’ को आकर्षण हो । बुलेटिनमा नपाका गतिविधिका समाचार र तस्वीरहरू रहेका छन् ।
बुलेटिनको सम्पादक आशाकुमार चिकंबञ्जार हुनुहुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *