भर्खरै :

देवकोटाको घर जोगाउने प्रस्तावसँगै आउने केही कुरा

कवि लक्ष्मीप्रसाद देवकोटाको घरलाई सरकारले संरक्षण गर्ने र त्यहाँ सङ्ग्रहालय बनाउने घोषणा प्रधानमन्त्री केपी ओलीले सामाजिक सञ्जालमार्फत गरेका छन् । त्यसो त प्रधानमन्त्रीले दिएका धेरै आश्वासन अझै पूरा हुन नै बाँकी नै छ । ‘सरकारको गेर बढ्दै’ गएपछि ती सबै आश्वासन पूरा हुने आशा गरौं । आश्वासन नै आश्वासनको ओइरोमा अर्को एउटा आश्वासन पनि थपिएको छ । देवकोटाको घरको संरक्षण र सङ्ग्रहालय निर्माण । प्रधानमन्त्रीको यो अभिव्यक्तिको स्वागत भएको छ, अब बाँकी छ कार्यान्वयनको । धरहरा पुनःनिर्माण गर्न आफै खर्पन बोकेर आउने प्रधानमन्त्रीको वचनबद्धता अझै पूरा भएको छैन । राजधानीका खाल्डाखुल्डी सबै पुर्ने आश्वासन समयमै पूरा नहुँदा हालै कीर्तिपुरमा एकजना युवकले अनाहकमा ज्यान गुमाउनुप¥यो । पूरा नभएको अरू पनि कैयौं आश्वासन छन् । त्यस्तै अपूरो आश्वासनमा देवकोटा निवासको संरक्षण अर्को अपूरो आश्वासन नबनोस् ।
दोस्रो, निःसन्देह नेपाली साहित्यमा देवकोटाको योगदान अतुलनीय छ । देवकोटाको योगदानकै कारण उनलाई महाकविको रुपमा चर्चा गर्ने गरिएको छ । साहित्य र संस्कृतिको संरक्षण र विस्तार सजिलो विषय पक्कै होइन । यो साधनामा साधकले सबै कुरा गुमाएर लाग्नुपर्ने हुन्छ । संसारमा महान काव्यसाधक र संस्कृतिकर्मीको जीवन सुविधाजनक भएको कमै उदाहरण छन् । देवकोटाको जीवन पनि निःसन्देह कष्टप्रद थियो । उनले पु¥याइएको योगदानको सम्मानस्वरुप उनका कृतिको संरक्षण आवश्यक छ । त्यसकारण प्रधानमन्त्रीको घोषणाको शीघ्रातिशीघ्र कार्यान्वयन आवश्यक छ । यति भन्दै गर्दा भुल्न नहुने महत्वपूर्ण कुरा नेपाली साहित्य र नेपालका अन्य भाषा साहित्यमा योगदान गरेका कवि, कलाकारको कृतित्वलाई भने उपेक्षा गर्न वा दोस्रो दर्जामा राख्न पक्कै मिल्दैन ।
देवकोटाका कृतित्वसँगै अन्य लेखक, कवि र कलाकारका कृतित्वलाई पनि सम्मान महत्वका साथ संरक्षण र प्रचारप्रसारमा राज्यले विनापक्षपात अग्रसरता देखाउन जरुरी छ । उनीहरूसँग जोडिएका भौतिक सम्पत्तिको संरक्षण स्थानीय तहमार्फत गर्न सके अझ दिगो र उपयोगी हुनेछ ।
विडम्बना आज नेपालको कला, साहित्य र संस्कृतिसम्बन्धी काम गर्ने निकाय आफै शासक दलका झोला बोक्ने झोलेहरूको भर्तीकेन्द्र बनिरहेको छ । साहित्यकारलाई उनीहरूको कृतित्वको आधारमा नभई उनीहरूले चुनावमा हाल्ने मतको आधारमा मूल्याङ्कन गर्दा कला र संस्कृति क्षेत्रमा राज्यले पक्षपात गरिरहेको छ । नेपाल प्रज्ञा प्रतिष्ठान आफैं राजनीतिक कार्यकर्ताको भर्तीकेन्द्र बनिरहेको छ । हिजोका जनविरोधी शासन व्यवस्था जोगाउन योगदान गरेका मानिस आजका शासकलाई पनि खुसी बनाएर आफ्नै पल्ला भारी बनाउन लागिरहेका छन् । आफ्नो पार्टीको चौलानी सदस्य भएको आधारमा तिनलाई आजका शासकले पनि काखी च्याप्ने काम गरिरहेका छन् । त्यसकारण कला, साहित्य र संस्कृति क्षेत्रमा आज पनि हिजोकै मानिसको सत्ता कायम छ ।
यस परिस्थितिमा राज्यका निकायले अरू लेखक, कलाकार र कविलाई बिनापूर्वाग्रह मूल्याङ्कन गर्ने धेरै सम्भावना छ । त्यसो भए जनताबीच सांस्कृतिक एकता अझ टाढा हुँदै जानेछ । सांस्कृतिक एकताको लागि सबै भाषा, क्षेत्र र जनताका प्रतिनिधि कवि, कलाकार र लेखकका कृतित्वको संरक्षण र विस्तारमा राज्यले भूमिका निभाउनुपर्दछ । राज्यको तीन तहले यसलाई संवेदनशील रुपमा हेर्न आवश्यक छ । देवकोटाको मात्र कृतित्व र व्यक्तित्वको संरक्षण र विस्तारले नेपालजस्तो बहु सांस्कृतिक देशमा गौरवको साथसाथै विभाजनको बिजारोपण गर्नसक्ने सम्भावनालाई संवेदनशील भएर हेरिन जरुरी छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *