भर्खरै :

बारुद, पटका नियन्त्रण गर्न प्रहरीको सक्रियता अझै आवश्यक

– संगम
तिहारको सुरुवातसँगै विकृतिजन्य गतिविधिहरु देखिन थालेका छन् । हरेक वर्ष बारुद–पटका नपड्काउन, जुवा तास नखेल्न र नखेलाउन नेपाल प्रहरीले विभिन्न सञ्चारमाध्यममार्फत आह्वान गरिरहेको छ । तर पनि त्यस्ता विकृतिजन्य गतिविधिहरुमा कमी आउन सकेको छैन ।
नेपाल सरकारले पटकाजन्य सामग्रीहरु आयातमा प्रतिबन्ध लगाएको छ । हरेक वर्ष नेपाल÷भारत सीमा क्षेत्रमा त्यस्ता सामग्री पक्राउ गरी नष्ट गरेको समाचार पनि आइरहेका छन् । पटकाकै कारण हरेक तिहारमा आगलागी तथा अङ्गभङ्ग भएका समाचारहरु आउने गरेका छन् ।
फेरि कहाँबाट आइपुग्छ भक्तपुरसम्म त्यस्ता सामग्री ? स–साना बालबालिकाहरुसमेतको पहुँचमा रहेका पटका बिक्री केन्द्र नेपाल प्रहरीको पहँुचमा कसरी पुग्न सकेन ?
भक्तपुरका चोक पाटीहरुमा लङ्गुर बुर्जा, तास, कौडाजस्ता खेलहरु खुलारुपमा खेलिरहेको देख्न पाइन्छ । गोप्य जुवाखालसम्म पुगेर जुवाडेहरुलाई पक्राउ गर्नसक्ने नेपाल प्रहरी यसरी खुलमखुला जुवा खेलिरहँदा किन रमिते बनेको छ ? गत दसैंमा भक्तपुरस्थित ब्रम्ह्माणीमा दस हजार घूस लिएर जुवाडेहरुलाई नेपाल प्रहरीले पहरा दिएको भन्ने सुन्नमा आएको थियो ।
यसरी प्रतिबन्धित विकृतिजन्य गतिविधिहरु खुलमखुला हुन दिइरहनुले प्रहरीको आह्वान देखावटीमात्र हो कि भन्ने भान हुन्छ । यसबारे नेपाल प्रहरी भक्तपुर सतक हुनुपर्ने देखिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *