का. रोहित
(सन् १९१७ को नोभेम्बर महिनामा रुसमा भएको महान अक्टोबर समाजवादी क्रान्तिको ७० औं वार्षिकोत्सव कार्यक्रमका सन्दर्भमा नेपाल मजदुर किसान पार्टीका अध्यक्ष का.रोहितले विसं २०४४ साल मंसिरमा लेख्नुभएको यो लेख आज पनि अध्ययनका लागि सान्दर्भिक भएकोले अक्टोबर समाजवादी क्रान्तिको १०१ औं वार्षिकोत्सवको अवसरमा प्रकाशन गरिएको छ–सं)
फ्रान्सेली क्रान्तिको प्रभाव संसारमा १९ औं शताब्दीसम्म रह्यो । त्यस शताब्दीले मानव सभ्यता र संस्कृतिमा नयाँ छाप दियो । यी सबै अर्थमा फ्रान्सेली क्रान्ति एक महान क्रान्ति थियो ।
तर पछि क्रान्तिको नेतृत्व गर्ने पुँजीपति वर्गले क्रान्तिको फल आफ्नै निम्ति मात्र राख्यो । २ करोड ६० लाख फ्रान्सेलीहरूमध्ये २५ वर्ष पुगेका र त्यसभन्दा माथिका फ्रान्सेलीहरू ७३ लाख थिए । तर आर्थिक कारणले ३० लाख बालिग फ्रान्सेलीहरूलाई आफ्नो मताधिकारबाट वञ्चित गराइयो । बेलायतको पुँजीवादी क्रान्तिमा पनि गरिब जनता मताधिकारबाट वञ्चित थिए । सामन्ती विशेषाधिकारहरूको ठाउँमा पुँजीवादी विशेषाधिकार, खान्दानी थिचोमिचोको ठाउँमा नयाँ खान्दानी वा पुँजीपतिहरूको दमनलाई स्थापना गरियो ।
सामन्ती जमिनदारहरू र क्रान्तिविरोधी ठूल–ठूला पुँजीपति वर्गका विरोधमा सङ्घर्ष गरिरहँदा जनताले ज्याकोविनहरूलाई समर्थन गरेका थिए । सत्तामा आएका ज्याकोविनहरूले पछि सहर र गाउँका गरिबहरूको आन्दोलनलाई दबाउन सुरु गरे । अनि जनताले तिनीहरूको समर्थन गर्न छोडे र तिनीहरू एक्लिए । त्यही मौकामा क्रान्तिविरोधी पुँजीपति वर्गले ज्याकोविनहरूलाई सत्ताबाट फालिदिए ।
नेपाली पुँजीवादी विद्वान र प्राध्यापकहरूलाई पनि थाहा थियो– ‘स्वतन्त्रता’, ‘समानता’ र ‘भ्रातृत्व’ नै फ्रान्सेली क्रान्तिको मूल मन्त्र थियो । तर क्रान्तिले पुँजीपति वर्गलाई मात्र सामन्ती सिक्रीबाट ‘स्वतन्त्रता’ दियो, जनताको अत्यन्त ठूलो भाग मजदुर र किसानहरू पुँजीवादी दाम्लोमा बाँधिए । ‘समानता’ पनि सामन्त र पुँजीपति वर्गमै सीमित रहन्थ्यो, खाना पाउने र नपाउने, धनी र गरिब, शोषक र शोषितको माझमा समानता आएन । आर्थिक समानताबिना अन्य समानता अधुरै रहन्थ्यो । त्यस्तै भ्रातृत्व पनि एक शब्द सृङ्गारमात्रै सावित भयो । किसान र जमिनदारको बीचमा जसरी भ्रातृत्व कायम रहन सक्दैनथ्यो त्यस्तै मजदुर र पुँजीपति वर्गको माझमा “भ्रातृत्व” कायम रहन सक्ने थिएन । शोषक र शोषित, बाघ र बाच्छोको स्वतन्त्रता धोखा थियो ।
यसकारण वावेफ र अन्य समानतावादीहरूले सामन्ती हुकुमजस्तै पुँजीवादी हुकुमलाई पनि विरोध गरे । फ्रान्सका ‘नयाँ खान्दानी वर्ग’ ले पनि बेलायत र अमेरिकामा जस्तै तल्लो वर्गको न्यायोचित आन्दोलनलाई दवाइदियो ।
बेलायती र अमेरिकी क्रान्तिमा जस्तै फ्रान्सेली पुँजीवादी क्रान्तिमा पनि सामन्त वर्ग र दास मालिकजस्ता प्रतिक्रियावादी तत्वहरू सक्रिय रहे । फ्रान्समा पनि बेलायतमा जस्तै नेपोलियन बोनापार्टको नयाँ राजवंश स्थापना भयो र राजतन्त्र पुनःस्थापना गरियो । अनेक नागबेली बाटो हुँदै फ्रान्सेली पुँजीवादी क्रान्ति अन्तमा पुँजीवादमा पतन भयो ।
१९ औं शताब्दीको मध्यमा पुग्दा पुँजीपति वर्ग र पुँजीवादी क्रान्तिको तेज हराउँदै गयो र २० औं शताब्दीको सुरुमा मजदुर वर्ग र सर्वहारा क्रान्तिले संसारलाई नयाँ दिशा दियो ।
१९१७ अर्थात् ७० वर्ष अगाडि बोल्शेविक पार्टीको नेतृत्वमा रुसको सर्वहारा वर्गले समाजवादी क्रान्तिको बन्दुक पड्काएको थियो । त्यस क्रान्तिको महत्व, गहिराइ, विशालता र दूरगामिता इतिहासमा अभूतपूर्व रह्यो । यसको अगाडि पुँजीवादी क्रान्तिहरू फिक्का र साँगुरा देखिए ।
पुँजीवादी क्रान्तिहरूले सामन्त वर्गको ठाउँमा पुँजीपति वर्गलाई सत्तामा ल्याए, सामन्त वर्गको सेवाको ठाउँमा जनसङ्ख्याको सानो भाग पुँजीपति वर्गको सेवा गरे, सामन्ती शोषणको ठाउँमा पुँजीवादी शोषणलाई स्थापना गरे । सामन्तवादको विरोधमा जीवन–मरणको सङ्ग्राममा होमिएका जनसङ्ख्याको अत्यन्त बहुमत जनता किसान, मजदुर र कालिगढ जनतालाई पुँजीवादको ‘नयाँ पासो’ ले बाँधे, शोषण, दुःख–कष्ट र अभावको नर्कमा डुवाइदिए ।
तर रुसी सर्वहारा समाजवादी क्रान्तिले मानव सभ्यताको सुरुदेखि नै थिचिएका र पिल्सिएका कामदार वर्गलाई सत्तामा ल्यायो र जनसङ्ख्याको अत्यन्त ठूलो भाग कामदार वर्गलाई नै सेवा ग¥यो । सर्वहारा क्रान्तिले राजा–रजौटा, गुठी र जमिनदारहरूको जग्गा जमिनलाई बिनामुआब्जा जफत ग¥यो । तेल, कोइला, धातु र अन्य खानी, जङ्गल र पोखरीमा भएको व्यक्तिगत स्वामित्वलाई उन्मूलन ग¥यो ।
अक्टोबर क्रान्तिले पुँजीपति वर्गको कलकारखाना, बैड्ढ, रेलवे, विदेश व्यापार र खानीहरुलाई राष्ट्रियकरण ग¥यो । काला बजारी र धनी किसानलाई दबाएर देश र जनतालाई भोकमरी र अकालबाट जोगायो ।
अक्टोबर सर्वहारा क्रान्तिले प्रतिक्रियावादी सेनाको ठाउँमा मजदुर र किसानहरूको एक नयाँ लाल सेना स्थापना ग¥यो । थिचिएका र पिसिएका विभिन्न जातिका जनता र स्वास्नीमानिसहरूलाई इतिहासमा पहिलोपल्ट वास्तविक समानताको अधिकार प्रदान ग¥यो ।
रुस त्यसबेला आर्थिक रुपले पश्चिमी युरोपको तुलनामा एक पिछडिएको देश थियो । पश्चिमी पुँजीवादी देशहरूले रुसलाई आर्थिक थिचोमिचोमा पारेका थिए । सर्वहारा क्रान्तिले जनतालाई दबाउन जार सरकारहरूबाट लिएका सबै ऋणहरू नतिर्ने र विदेशी पुँजीलाई राष्ट्रियकरण गरेर शोषित र पीडित देशहरूको निम्ति एक नयाँ शिक्षा दियो ।
साम्राज्यवादी युद्धबाट धुजाधुजा भइरहेको रुसलाई अक्टोबर समाजवादी क्रान्तिले जर्मनीसँग शान्ति सम्झौताको पाइलो चालेर रुसी जनतालाई नयाँ जीवन दियो र अनेक छिमेकी देशहरूसँगको असमान सन्धिहरूको ठाउँमा समान सन्धिहरू गरेर विश्व शान्तिको निम्ति नयाँ उदाहरण प्रस्तुत ग¥यो ।
त्यसले युरोपको सम्पूर्ण मजदुर वर्गलाई सर्वहारा क्रान्ति र एउटै देशमा पनि समाजवाद लागू हुनसक्दछ र पश्चिमलाई पूर्वबाट पनि समाजवादको बाटो देखाउन सक्छ भन्ने एक जाज्ज्वलयमान सैद्धान्तिक र व्यावहारिक हतियार प्रदान ग¥यो । रुसको सर्वहारा क्रान्तिले सारा युरोपमा मजदुर वर्गलाई नयाँ क्रान्तिकारी ज्ञान थपिदियो र एक अर्थमा सम्पूर्ण पुँजीवादी व्यवस्थालाई मृत्युदण्ड सुनाइदियो ।
पुँजीवादी क्रान्तिहरूले युरोप र संसारका अन्य केही देशका जनसङ्ख्याको एक निश्चित भागलाई सामन्तवाद र राजतन्त्रको विरोधमा आन्दोलित गरेका थिए । तर रुसी अक्टोबर क्रान्तिको तोपको आवाजले युगौं–युगदेखि सुतिरहेका करोडौं करोड चिनीयाँ जनतालाई ब्यँुझाइदियो, भारत, हिन्द–चीन, इण्डोनेशिया, दक्षिणपूर्वी एसियाका देशहरू, मध्यपूर्वका अरब राष्ट्र अथवा एसिया, अफ्रिका, उत्तर र दक्षिण अमेरिकाका स्वतन्त्रता र मुक्ति चाहने करोडांै करोड जनतालाई साम्राज्यवाद र सामन्तवादको विरोधमा लड्न नयाँ प्रेरणा प्रदान ग¥यो । त्यस क्रान्तिले क्यालिफोर्नियादेखि साइबेरियासम्म, नाइल नदीदेखि गङ्गा र व्हाङ्गहोसम्मका सबै गाउँ र सहर, खानी र खेत, समुद्र र पहाड, पूर्व र पश्चिमका सारा देशका जनतालाई क्रान्तिको नयाँ बाटो खोलिदियो ।
शिक्षा, संस्कृति, अर्थतन्त्र, विश्व राजनीति र कूटनैतिक क्षेत्रमा अक्टोबर क्रान्तिले नयाँ आयाम थपिदियो । यसकारण इतिहासमा यसको तुलनामा कुनै उदाहरण छैन । सबभन्दा महत्वपूर्ण कुरा रुसी अक्टोबर क्रान्तिले एक वर्गविहीन, शोषणरहित र युद्धबिनाको नयाँ समाजको युगौं पुरानो मानिसको कल्पनालाई साकार रुप दिने एक व्यावहारिक पाइला चाल्यो । यी सबै अर्थमा पुँजीवादी क्रान्तिहरूभन्दा रुसी अक्टोबर सर्वहारा समाजवादी क्रान्तिको अत्यन्त ठूलो ऐतिहासिक महत्व थियो । त्यसले समाजको सबभन्दा तल्लो वर्ग, संसारका सबभन्दा विशाल कामदार वर्ग र जनसमुदायलाई आन्दोलित ग¥यो र मानव समाजको सुन्दर सुसंस्कृत भविष्यलाई झन उज्ज्वल बनाइदियो ।
समाप्त