भर्खरै :

दक्षिण अफ्रिकामा आगामी मे महिनामा निर्वाचन

जोहान्सबर्ग, दक्षिण अफ्रिका, २३ कार्तिक । दक्षिण अफ्रिकामा देखिएको अर्थतन्त्रलाई लिएर यहाँका नागरिकमा व्यापक असन्तुष्टि देखिएपछि आगामी वर्षको मे महिनामा निर्वाचन गरिने भएको यहाँका अधिकारीहरूले बुधबार जनाएका छन् ।
दक्षिण अफ्रिकाका राष्ट्रपति सिरिल रामाफोसा र उहाँको सत्ताधारी दल, अफ्रिकन नेसनल कङ्ग्रेस (एएनसी) ले कमजोर अर्थतन्त्रलाई लिएर देखाएको मतदाताको बढ्दो असन्तुष्टिलाई सम्बोधन गर्न निर्वाचनबाट जनमत लिने एएनसीले निर्णय गरेको हो । यद्यपि राष्ट्रपतिद्वारा निर्वाचनको औपचारिक घोषणा भने आगामी फेब्रुवरीमा गर्ने तयारी रहेको एएनसीले जनाएको छ ।
सन् १९९४ आएको नेल्सन मण्डेलाको नेतृत्वमा आएको राजनीतिक एवम् सामाजिक परिवर्तनपछि सत्तामा रहेको एएनसीले सन् २०१६ को स्थानीय निर्वाचनमा नराम्रो नतिजा ल्याएको थियो । स्थानीय निर्वाचनमा आएको खराब मत परिणामपछि लामो समयदेखि सत्ताको नेतृत्व गरेका ज्याकोब जुमालाई भ्रष्टाचार आरोपमा सत्ताबाट हट्न बाध्य पारिएको थियो । जुमामाथि सत्तारूढ एएनसीले राजीनामा नदिए सदनमा महाभियोग लगाउने चेतावनी दिएपछि उहाँले राजीनामा दिनुभएको थियो ।
जुमाले राष्ट्रपतिबाट राजीनामा दिएपछि करिब नौ महिना पहिले धर्मराउँदो अर्थतन्त्र, विभाजित पार्टी र भ्रष्टाचारसँग जुध्नुपर्ने मुख्य चुनौती देशका सामु रहेको र यसमा आफ्नो महत्वपूर्ण भूमिका रहने उद्घोषसँगै रामाफोसा नयाँ राष्ट्रपतिको रूपमा नियुक्त हुनुभएको थियो ।
दक्षिण अफ्रिकाको रङ्गभेदी शासनको विरोध गर्दा पटकपटक जेल पर्नुभएका उहाँ सन् १९९० मा सर्वोच्च नेता नेल्सन मण्डेलालाई जेल मुक्त गर्न गठित समितिमा अध्यक्ष हुनुहुन्थ्यो ।
सन् २०१४ मा भएको संसदीय निर्वाचनमा एएनसीले ६२ प्रतिशत मत ल्याएको थियो भने प्रतिपक्षी समूहको डेमोक्रेटिक अलाइन्सले २२ र दक्षिण अफ्रिकी वामपन्थी दल ईएफएफले ६ प्रतिशत मत ल्याएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *