भर्खरै :

बन्दा ताल पर्यटकीय गन्तव्य बन्दै

कञ्चनपुर, २३ कात्तिक (रासस) ः एकैसाथ धेरै प्रजातिका जलपक्षीको अवलोकन गर्न सकिने बेलौरी नगरपालिका–४ स्थित बन्दाताल कोटिहोम क्षेत्र पर्यटकीय गन्तव्य बन्दै गएको छ । नगरपालिकाले ताल आसपासको क्षेत्रलाई अधिग्रहण गरी पर्यटकीयस्थलका रुपमा विकास गर्ने योजना बनाएको छ ।
“गुरुयोजना बनाई काम अगाडि बढाउन रु एक करोड बजेट परिचालन गर्र्ने योजना छ,” नगरपालिकाका प्रमुख पोतिला चौधरीले भन्नुभयो । संरक्षणको अभावमा ५० बिघा क्षेत्रफलमा फैलिएको बन्दाताल पुरिएर २६ बिघामा सीमित भएको छ । एकैसाथ विभिन्न प्रजातिका जलपक्षी हेर्न सकिने ताल पुरिनबाट जोगाउनका लागि भरपर्दो व्यवस्था गरिने नगर प्रमुख चौधरीले बताउनुभयो ।
ताल जोगाउनका लागि उत्तरी क्षेत्रमा ग्रिन बेल्ट बनाउने प्रयास गरिएको र माटो रोकथाम गर्न ७०० मिटर माटोको छेकबार निर्माण गरिएको छ । ताल पुरिने क्रम भने रोकिएको छैन । वर्षात्मा बगेर आउने माटो रोक्नका लागि भरपर्दो छेकबार निर्माण गरेमात्रै ताल जोगाउन सकिने स्थानीय बासिन्दा बताउँछन् । वर्षात्का बेला तालको पानी बस्तीमा पसेर डुबान हुने गरेको छ । बालुवाले खेतीयोग्य जग्गा परिँदै गएको स्थानीयवासी अमर रानाले बताउनुभयो ।
ताललाई उत्तरतर्फबाट जङ्गल र अन्यत्रबाट बस्तीले घेरेको छ । गोलो घेरामा बन्द आकृतिमा रहेकाले यसको नाम बन्दाताल रहन गएको यहाँका बूढापाका बताउँछन् । तालको मनोरम दृश्य नियाल्न, विभिन्न प्रजातिका माछा र जलपक्षीको क्रीडा हेर्न आन्तरिक पर्यटकको यहाँ घुइँचो लाग्छ । सदरमुकाम महेन्द्रनगरबाट झण्डै ६० किलोमिटर दूरीमा बन्दाताल पर्छ । तालसम्म पुग्न कच्ची र धुलाम्मे सडक प्रयोग गर्नुपर्ने भएकाले आन्तरिक तथा बाह्य पर्यटकले सास्ती खेप्नु परेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *