भर्खरै :

तनहुँमा नयाँ पर्यटकीय गन्तव्य छनोट

दमौली, २३ कात्तिक  ः संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले पर्यटन विकासका लागि तनहुँका दुई नयाँ पर्यटकीय गन्तव्य छनोट गरेसँगै सरोकारवाला हर्षित भएका छन् ।
मन्त्रालयले नेपाल पर्यटन बोर्ड, स्थानीय तथा प्रदेश सरकार र सरोकारवालाबाट सिफारिस भएको र आवेदन परेको गन्तव्यका आधारमा तनहुँको व्यास नगरपालिका–४ स्थित तनहुँ कालिका शहीद तथा शान्ति पार्क र भीमाद नगरपालिका–३ स्थित सिद्धगुफालाई नयाँ गन्तव्यका रुपमा छनोट गरेसँगै सरोकारवाला खुशी भएका हुन् । शान्ति पार्कलाई सरकारले नयाँ गन्तव्यमा छनोट गरेपछि आफूहरुलाई हौसला मिलेको पार्कका अध्यक्ष मोतीकुमार श्रेष्ठले बताउनुभयो । यस ठाउँलाई पर्यटकीय गन्तव्यका रुपमा विकास गर्दै आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउनसमेत टेवा मिल्ने विश्वास लिइएको उहाँले बताउनुभयो ।
नयाँ गन्तव्यमा छनोट भएको शहीद तथा शान्ति पार्कलाई धार्मिक पर्यटकीय गन्तव्यका रुपमा विकास गर्ने लक्ष्य राखिएको छ । सदरमुकाम दमौली बजारस्थित पूर्व र उत्तरमा व्यासमार्ग, पश्चिममा मादीनदी र दक्षिणमा दमौली बजारभित्र पर्ने बागभञ्ज्याङ सामुदायिक वनको करीब आठ हेक्टर क्षेत्रफलभित्र सो पार्क क्षेत्रभित्र पर्छ । दमौली बजारबाट एक किलोमिटर दूरीमा पर्ने यस पार्कलाई धार्मिक पर्यटकीय गन्तव्यका रुपमा विकास गर्ने उद्देश्यसहित विभिन्न संरचनाहरु निर्माण गरिएको छ । यहाँबाट दमौली बजारलगायत आसपासका बस्ती, काहुँडाँडा, मानहुँडाँडा, तनहुँसुर, मिर्लुङकोट, गलेखामकोटलगायतका पर्यटकीयस्थल अवलोकन गर्न सकिन्छ ।
त्यस्तै भीमाद नगरपालिकास्थित सिद्धगुफा व्यवस्थापन समितिका अध्यक्ष दधीराज सुवेदीले पनि सरकारले गुफालाई नयाँ गन्तव्यमा छनोट गरेपछि खुशी व्यक्त गर्नुभयो । नयाँ गन्तव्यमा छनोट भएसँगै गुफाको विकासमा सहयोग पुग्ने उहाँको भनाइ छ ।
ऐतिहासिक, पुरातात्विक एवम् धार्मिक महत्वको सिद्धगुफा सयौँ वर्षअघि पत्ता लागेको हो । दुई सय मिटर लामो यो गुफा उचित प्रचारप्रसारको अभावमा ओझेलमा पर्दै आएको छ । चार तला रहेको गुफाको करीब ३० मिटरभित्र पसेपछि पहिलो तलामा २०० जना अटाउने ठाउँ छ । दोस्रो तलामा ६० र तेस्रो तलामा ५० जना मानिस अट्न सकिन्छ । प्रत्येक तलामा झुकेर प्रवेश गर्नुपर्ने यो गुफाको चौथो तलाको ढोका भने चुनको रसायनले बन्द भएको छ ।
जिदी खोलाको किनारको घनाजङ्गल क्षेत्रमा रहेको गुफाभित्र ढिकी, जाँतो, गाईका थुन, हात्तीको सुँढ, शिवलिङ्ग र विभिन्न देवीदेवताका आकृति स्पष्ट देख्न सकिने स्थानीयवासी बताउँछन् । तनहुँको व्यापारिक केन्द्र भीमाद बजारबाट आधा घण्टा मोटरयात्रापछि २० मिनेट पैदलयात्रामा गुफा पुग्न सकिन्छ । (रासस)

Leave a Reply

Your email address will not be published. Required fields are marked *