भर्खरै :

नैतिकतामा नबाँधिएको सरकार

भनिन्छ, जनावर नत्थीमा बाँधिन्छ, मानिस नैतिकता र लाजगाजमा बाँधिन्छ । सरकारमा गएका पार्टीका नेता र मन्त्रीहरू बहुदलीय व्यवस्था पुनःस्थापना र गणतन्त्रमा पनि नैतिकता र लाजगाजमा बाँधिएनन् । नेपालका हास्य कलाकारहरूले सरकारमा गएका नेताहरूलाई कार्यक्रममा बोलाएर भारतीय नेताको जुत्ताको तलुवा भएको सुनाए । काठमाडौं क्षेत्र नं. ७ का रामवीर मानन्धरलाई राजीनामा गराई वामदेव गौतम आउन खोजिए । यो समाचारसँगै नेकपाका केन्द्रीय समिति र स्थायी समितिका सदस्यहरूले गौतममाथि भारतीय एजेन्ट र पदलोभीको आरोप लगाएको गौतमको गुनासो सार्वजनिक भयो । गौतमले पार्टीका ती तत्वहरूलाई पार्टीभित्रका अराजक भीड बताए । गौतमले आफू प्रधानमन्त्रीको सम्भावित उम्मेदवार भएको हुँदा चुनावमा पार्टीकै नेताहरूबाट अन्तर्घात भएको र आफूलाई हराइएको खुलासा गरे ।
एमालेकै बेला नेका, राप्रपा र सद्भावना पार्टीसँग मिलेर महाकाली नदी भारतीय विस्तारवादलाई दिइएको थियो । त्यसबेला एमालेका एक नेताको हैसियतले वर्तमान प्रधानमन्त्री केपी ओलीले महाकाली सन्धि भए पश्चिमबाट सूर्य उडाउने, देश झिलिमिली हुने र वर्षको खर्बौँ रूपैयाँ आम्दानी हुने दाबी गरेका थिए । महाकाली सन्धिको २२ वर्षपछि नेपालका सरकारहरूले भारतबाट ६५० मेघावाट बिजुली महँगोमा खरिद गरी लोडसेडिङ कम गरेका छन् । यो भारतीय विस्तारवादसँगको आत्मसमर्पण हो – सरकारमा गएका पार्टीहरूको ।
नेपाली हास्य कलाकारहरूले सरकारमा गएका नेताहरूलाई लाछी भएर दिल्लीको बाच्छी भएको, दुईतिहाइ बहुमत भए पनि दिल्ली धाएको, जनताका छोराछोरी बताउने राष्ट्रपति र प्रधानमन्त्रीले टीका लगाइदिने निहुँमा घुँडा टेकाएको लगायत भाखामा खबरदारी गरेको हास्य कलाकारको व्यङ्ग्यलाई सरकारका मन्त्रीहरू मुसुमुसु हाँसेर बसे, सुने । यसलाई भनिन्छ – नैतिकता र लाजगाज नभएको ।
सुन काण्डका ठूला माछा पक्राउ गर्ने, खराब काम गर्ने ठेकेदारहरूमाथि कारबाही गर्ने, बालिका निर्मला पन्तको बलात्कारपछि हत्या गर्ने अपराधीलाई कारबाही गर्न अनमिन बोलाउनुपर्ने समेत हास्य कलाकारहरूले व्यङ्ग्य गरे । माओवादीको सशस्त्र द्वन्द्व भारतीय ट्रोजन हर्सको रूपमा अघि बढेको हुँदा शान्ति प्रक्रियाको लागि अनमिन ल्याइएको थियो । नेपालीको समस्या नेपाली मिलेर समाधान गर्नु आवश्यक छ । यसबारे दुईतिहाइ प्राप्त सरकार सचेत देखिएन ।
एमालेका अर्का नेता माधवकुमार नेपालले प्रतिनिधिसभाको बैठकमा ओली सरकारको आलोचना गरे । हास्य कलाकारहरूले माधवलाई संसदमा बौलाएको रूपमा प्रस्तुत गरे । यथार्थमा माधवजीले संसदमा बहुमत भएकै बेला पार्टीको समर्थन भएन भनी राजीनामा दिएका थिए । माधवजीको बर्बराई नेकपाभित्रै प्रतिपक्षको भूमिका निर्वाह गर्ने अर्थात सत्तापक्ष र प्रमुख प्रतिपक्ष नेकपाभित्र राख्ने दाउ या पुनः प्रधानमन्त्री हुने मोलमोलाइ हुनुपर्छ । निर्वाचनको बेला साझा घोषणापत्र जारी गर्ने तर दुईतिहाइको सरकार बनाएपछि साझा घोषणापत्र नपल्टाउने सरकार र यसका मन्त्रीहरूलाई कसरी नैतिकता छ भन्न मिल्छ ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *