भर्खरै :

आत्मवृत्तान्तको लहर

पुस्तक बजारमा एकपछि अर्का आत्मवृत्तान्तका पुस्तकहरू आइरहेका छन् । महिना दिन बिराएर विभिन्न क्षेत्रमा परिचय बनाएका व्यक्तिहरूका आत्मवृत्तान्त प्रकाशनको लहर चलिरहेको छ । यो लहरले नेपाली सहरिया समाजमा उँभोलाग्दो पुस्तक अध्ययन संस्कृतितर्फ सङ्गेत गरेको छ । मानिसहरू पुस्तक पढ्न र पुस्तकप्रति चासो राख्न थालेका छन् भन्ने कुरा यो लहरले देखाएको छ । विकास र सभ्यताको इतिहासमा पुस्तकको भूमिकालाई कसैले अस्वीकार गर्नसक्दैन । समाजको रुपान्तरणमा पुस्तक अध्ययन गर्ने संस्कृतिको भूमिका हुन्छ । आत्मवृत्तान्त प्रकाशनको लहरले कुनै न कुनै क्षेत्रमा महत्वपूर्ण समय भोगेका मानिसका अनुभव सामाजिक हितको लागि सार्वजनिक भइरहेको छ । यसले एउटै समयलाई हेर्ने विविध आयाम र कोण उजागर पनि भइरहेको छ । कतिपय आत्मवृत्तान्त उत्प्रेरणाको स्रोत बनिरहेका छन् ।
विदेशमा राजदूत बनेर आएका हरेक नेपाली राजदूतले आफू गएको देशको विषयमा कम्तीमा एउटा पुस्तक प्रकाशनको बन्दोबस्त गर्नसके नेपाली साहित्यको ढुकुटी अझ समृद्ध हुने विचार धेरै अघि नै चर्चामा थियो । तथापि सरकारले आफ्नै पहलमा त्यस्तो कुनै प्रयास आजसम्म गरेको छैन । नेपाल प्रज्ञा प्रतिष्ठानले यसमा नगण्यमात्र काम गर्न सकेको छ । सरकारले गर्न नसकेपछि निजी प्रकाशकहरूले यसलाई व्यापारको विषय बनाइरहेका छन् ।
निजी प्रकाशन गृहले आवश्यक र अनावश्यकको कुनै मूल्याङ्गन नगरी विभिन्न क्षेत्रमा ‘स्टारडम’ कमाएका व्यक्तिका आत्मवृत्तान्त प्रकाशन गरी आर्थिक उपार्जनको माध्यम बनाइरहेका छन् । यसले कतिपय सन्दर्भमा आवश्यक व्यक्तिका भन्दा सस्तो प्रचारबाजीमा आइरहेका व्यक्तित्वका पुस्तकले प्राथमिकता पाइरहेको देखापर्दछ ।
आत्मवृत्तान्त निजात्मक अनुभूति हो । यसमा जसको विषयमा पुस्तक लेखिएको हो, त्यो व्यक्तिलाई लागेको कुरा लेख्ने गरिएको छ । तर सबै निजात्मक अनुभूति सही नहुन पनि सक्दछ । कुनै बेला सार्वजनिक पदमा रहेका व्यक्तिले सबै कुरा सार्वजनिक रुपमा लेख्न नहुने पनि हुनसक्दछ । आज निजी प्रकाशन गृहले प्रकाशन गर्ने कृतिमा न त्यसको कुनै जाँच छ, न कृति प्रकाशनपश्चात् कुनै समीक्षा । जसले जे पनि छाप्न पाउनु वा जसले जे अनुभव ग¥यो, त्यसैलाई प्रकाशन गर्दै जानुले इतिहासमा एक प्रकारको अराजकता आउन सक्नेप्रति संवेदनशील बन्नैपर्दछ । इतिहास बोल्न सक्नेको पिठो बन्नु र जित्नेको घोडामात्र बन्नु लोकतन्त्रको शोभा होइन ।
आत्मवृत्तान्त प्रकाशनमा राज्यले सेन्सर गर्नु लोकतान्त्रिक मान्यता नहोला । पञ्चायती सेन्सरको पुनरावृत्तिको रुपमा यसलाई लिइनेछ । तर आत्मवृत्तान्त लेखाउने व्यक्ति र प्रकाशकले यसमा जिम्मेवारीबोधका साथ प्रस्तुत हुन जरुरी छ । कसैप्रतिको आक्रोश पोख्ने, कुण्ठा ओकल्ने, रिस फेर्ने थलो आत्मवृत्तान्त कदापि हुनुहुन्न । प्रकाशकले बजारमूल्यका आधारमा आत्मवृत्तान्त प्रकाशन गर्नु सही होइन । कुनै बजारु अखबारले बजारमा हल्ला गर्न जस्तोसुकै समाचार लेखेजस्तै आत्मवृत्तान्त बिकाउन जस्तै बिकाउ विषयलाई प्रकाशन गरिनु उचित होइन । आत्मवृत्तान्त लेख्ने र छाप्ने दुवै पक्षमा यसमा संवेदनशील हुन जरुरी छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *