भर्खरै :

अक्टोवर क्रान्ति दिवस मनाइयो

भक्तपुर, २५ कार्तिक । नेपाल क्रान्तिकारी किसान सङ्घ भक्तपुर नगर समितिको आयोजनामा रूसी अक्टोवर क्रान्ति दिवस आइतबार मनाइयो ।
कार्यक्रममा नेमकिपाका सचिव प्रेम सुवालले मानव समाजको विकासको क्रममा निजी सम्पत्तिको व्यवस्थासँगै वर्ग विभाजन भएको विचार राख्नुभयो ।
उहाँले भन्नुभयो, ‘‘शोषक वर्गले पुँजीवादी र साम्राज्यवादी नीतिमार्फत कामदार वर्गलाई शोषण गर्दै आएको छ । पुँजीवाद र साम्राज्यवादकै कारण संसार दुःख–पीडामा परेको हो ।’’
कामदार वर्गको सरकारले व्यापक जनताको हित गरेको उदाहरण पेरिस कम्युन र अक्टोवर समाजवादी क्रान्ति भएको उहाँले बताउनुभयो ।
सचिव सुवालले भन्नुभयो, ‘‘नेपाल मजदुर किसान पार्टीले अक्टोवर क्रान्तिबाट पाठ सिक्दै कामदार वर्गको बीचमा गतिविधि गर्दैछ ।’’
‘‘सरकारमा भएका पार्टी नेकपा पञ्चायत र नेकाजस्तै पुँजीवादी सरकारको भागवण्डामा लागिरहेको छ । निजीकरणले मुठीभर व्यक्तिको स्वार्थ हेर्छ, व्यापक जनताको हित गर्दैन’’, सचिव सुवालले भन्नुभयो ।
नेमकिपाका वैकल्पिक केन्द्रीय सदस्य राजेन्द्र चवालले बोल्शेविक पार्टीका सदस्यहरूले पार्टी निर्देशनअनुसार इमानदार र अनुशासित भई कार्य गरेको हुँदा अक्टोवर क्रान्ति सफल भएको बताउनुभयो ।
नेमकिपा भक्तपुर नगर समितिका अध्यक्ष नारायणबहादुर दुवालले समाजवाद वैज्ञानिक र व्यवहारिक सिद्धान्त भएको चर्चा गर्नुभयो ।
आयोजक समितिका अध्यक्ष गङ्गाराम ज्याख्वको सभापतित्वमा भएको कार्यक्रममा पूर्णगोपाल राजचलले पनि बोल्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *