भर्खरै :

कतै सङ्घीय सरकार त असफल हुने होइन ?

– गोपाल नगरकोटी
सङ्घीय पक्षधर दलहरूले देशमा सङ्घीय व्यवस्था भएपछि के के न प्रगति र विकास हुने कुरा फलाकेका थिए । सङ्घीय बन्दोबस्त भएपछि धेरै अधिकार पाउने र स्थानीय स्रोत र साधन प्रयोग गर्न पाउने विश्वास तिनै दलका नेताहरूले दिएका थिए । अहिले देशमा दुईतिहाइको सरकार छ । तर उसबेला फुकेका आश्वासन र प्रतिबद्धता गरिएको विश्वास अहिले पानीको फोकाझैं भएको छ । अन्योलै अन्योलको भुमरीमा सरकार फसिरहेको छ । अधिकारबारे केन्द्र, प्रदेश र स्थानीय तहको विवाद चर्कंदो छ । प्रदेश सरकारका मन्त्रीहरूले त केन्द्रीय सरकारकै विरोध गरे । अनि सङ्घीय प्रदेश सरकारले गरिरहेको काम कारबाही पनि चित्तबुझ्दो छैन । चिप्लेकिराको गतिमा विकासको पाइला चालेर नेपाल कसरी समृद्ध बन्छ ? यही पाराले केन्द्र र सङ्घीय सरकार अघि बढेमा सङ्घीय बन्दोबस्तको सरकार असफल हुनेमा शङ्का छैन ।
सङ्घीय प्रदेशको बन्दोबस्त भएपछि देशमा आर्थिक भार बढेको छ । सांसदहरूको सङ्ख्यामात्र होइन मन्त्रीहरूको सङ्ख्या ह्वात्तै बढेको छ । प्रत्येक प्रदेश सरकारमा छुट्टाछुट्टै मन्त्रालय र मन्त्री, मुख्यमन्त्री तथा प्रमुख मन्त्रीको बन्दोबस्तले धेरै सेवा सुविधामा खर्च बढेको छ । प्रदेश राजधानी बनाउनेबारे एउटै दलका नेता र सांसदहरूको फरक फरक मत देखिएको छ । प्रदेश नामकरण भएको छैन । प्रदेश नामकरणमा जातीय स्वार्थको राजनीतिले छोएको छ । प्रदेश वर्गीकरण पनि सङ्कीर्ण स्वार्थअनुरुप भएको थियो । हिमाल, पहाड र तराईको भूभाग मिल्ने गरी प्रदेशको वर्गीकरण गरिएको भए साम्प्रदायिक भावना पलाउने थिएन । यसरी देशमा जातीय द्वन्द्व निम्त्याउने, देश टुक्रिने खालको षड्यन्त्र भएकोे थियो । नेमकिपाले सुरुदेखि नै प्रदेश विभाजनमा हिमाल, पहाड र तराईको भूभाग समेटिनुपर्ने र जातजातिको आधारमा प्रदेशको नामकरण राख्न नहुने स्पष्ट धारणा राख्दै आएको हो ।
सङ्घीय सरकार बनेपछि जनताले पाएको थप अधिकार या सुविधा के हो ? नगरपालिका र गाउँपालिकाले त पहिले पनि काम गर्दै आएका हुन् । जिल्ला, नगर र गाउँको लागि विकास योजना बनाउने काम पहिले केन्द्रीय सरकारले गर्दै आएको हो । केन्द्रको अधिकार प्रदेशलाई बाँडेर या जिम्मा दिए पनि आखिर गर्ने काम त्यही हो । बरु सङ्घीय सरकार बनेपछि झन् विकासको काममा ढिलाइ भएको देखिन्छ । मुख्य कुरा केन्द,्र प्रदेश सरकारभन्दा पनि सरकार सञ्चालन गर्ने दलहरूको सिद्धान्त र विचार हो । सिद्धान्त र विचारमै खोट छ भने जसको नेतृत्वमा प्रदेश र केन्द्र सरकार भए पनि विकास हुनेछैन । सुखी नेपाली समृद्ध नेपालको नारा पनि कतै लोकाचारको लागि बाँडेको सपना त होइन ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *