भर्खरै :

पश्चिमी हावाभन्दा पूर्वी हावा तेजिलो छ

थोमस होङ विङ पोलिङ
आजभोलि पश्चिमा विश्वले निराशाजनक र हतोत्साहित बनाउने अलमलको समय सामना गरिरहेको छ । तर बाँकी विश्व र विशेषतः चीनको अवस्था भिन्न छ ।
लामो समयदेखि प्रभुत्वशाली बन्दै आएको पश्चिमा साम्राज्यको शक्ति र प्रभाव क्रमशः क्षीण बन्दै गएको देखिंदै छ । पश्चिमा विश्वसँगै उसको शिकारी नवउदारवादी विश्व बन्दोबस्त पनि शक्तिहीन बन्दै गइरहेको छ । आफ्नै घरमा आज पश्चिमा साम्राज्यलाई चुनौती दिन आउने कुनै समाजवाद होइन, न त ‘एक प्रतिशतको होइन ९९ प्रतिशतको हित’ गर्नुपर्छ भन्ने मानवीय भावना नै हो । ती आन्दोलनका उभारहरू आए र गए ।
आजको परिस्थितिमा उदाएको नयाँ उदयीमान चुनौती भनेको दक्षिणपन्थी राष्ट्रवाद हो । यो राष्ट्रवाद आक्रामक, कुरुप र क्रूर हुने गर्दछ । दक्षिणपन्थी राष्ट्रवाद विदेशीविरोधी, महिलाविरोधी, आफ्नो नभएका सबैका विरोधी हुन्छन् । नवउदार व्यवस्थामा आफ्नो भन्ने सबै गुमाएका आक्रोशित गरीब जनताको भावनामा घ्यू थप्दा दक्षिणपन्थी राष्ट्रवाद मौलाउने अवस्था बनेको हो ।
पछिल्ला केही वर्षमा जातीय घृणाको भावना पश्चिमा विश्वमा अचाक्ली विस्तार भएको छ । ब्रेक्सिट र संरा अमेरिका, इटाली र अस्ट्रेयादेखि हंगेरी, पोल्याण्ड र आज ब्राजिलसम्म आएका चुनावी परिणाम पश्चिमा विश्वमा बढ्दो जातीय घृणाको प्रमाण हो । नवउदारवादका बलिया नायिका एन्जेला मार्केल पनि डुब्न लागेका घामजत्तिकै बनेकी छिन् । आज सुनिने ‘अमेरिका प्रथम’ को नारा इतिहासमा सुनिएको ‘सबैभन्दा माथि जर्मनी’ को प्रतिध्वनि प्रतीत हुने गर्दछ ।
पश्चिमा संसार गहिरो सङ्कटमा फस्दै गएको छ भने अन्यत्रको कथा अलि बेग्लै छ । विशेषतः एसियामा आशा र उत्साहको हावा चलिरहेको छ । आफ्नो गतिशील संकेन्द्रको अक्षांशमा सबैलाई आकर्षित गर्दै गएको चीनले संसारकै आर्थिक वृद्धिको नेतृत्व गरिरहेको छ । मानव जातिको अध्ययन र उपलब्धिका धेरै क्षेत्रमा चीनले पश्चिमा जगतलाई उछिनिसकेको छ वा प्रतिस्पर्धा गरिरहेको छ ।
सबैभन्दा महत्वपूर्ण कुरा त– एसियाले आज जति पनि उपलब्धि हासिल गरेको छ, सबै पछिल्ला झण्डै सात दशकको अन्तरालमा हासिल गरेको हो । त्यसको निम्ति त्यहाँ कुनै विनाशकारी विचारधाराको द्वन्द्व भएन । जबकि आधुनिक समयमा पश्चिमा संसारले त्यसको निम्ति लामो विनाशकारी समयको सामना गर्नुपरेको थियो । सारमा एसियालीहरूले दोस्रो विश्वयुद्धपछिको युगमा कुनै पनि वाद जस्तै, पुँजीवाद, समाजवाद, फासीवाद, प्रजातान्त्रिक उदारवाद आदिको स्याल हुइयाँ गरेनन् ।
एसियालीहरू काम र कामको परिणामप्रति बढी चासो राख्छन् । कुनै हल्लाबाजी रोमान्टिक आदर्शको पछि लाग्ने गर्दैनन् । यो मान्यताको सबैभन्दा राम्रो उदाहरण त चीनमा सुधारका प्रमुख वास्तुकार तङ स्याओपिङ नै हुन् । उनले नै संसारकै सबभन्दा ठूलो देशलाई अतिवादको मृत्युशैय्याबाट नवीन महानताको यात्रामा पुनर्जीवन दिएका थिए ।
तङले चिनियाँ र एसियालीसँग पहिले नै भएको सूत्रलाई आफ्नो सबभन्दा प्रसिद्ध नीति बनाएका थिए । त्यो नीतिलाई डीएनए पनि भनिएको छ । ‘‘समाजवाद, बजार नियन्त्रित व्यवस्था वा प्रजातान्त्रिक प्रणाली, जस्तोसुकै राजनीतिक व्यवस्था (बिरालो) किन नहोस्, मुख्य कुरा बिरालोले मुसा मार्छ कि मार्दैन भन्ने हो । बिरालोले मुसा मार्छ भने त्यो उत्तम बिरालो हो ।’’
तङ प्रतिबद्ध माक्र्सवादी थिए । उनी ९९ प्रतिशत चिनियाँ जनताको हितका पक्षपाती थिए । उनी आफ्नो देशलाई बलियो र समृद्ध बनाउन चाहन्थे । उनले चीनको हितको लागि कम्युनिष्टको नाममा रहेका केही कोरा सिद्धान्तवादलाई ठीक ठाउँमा ल्याउने काम गरे । उनले चीनको सन्दर्भमा असान्दर्भिक पक्षलाई छेउ लगाएर चीनकै आफ्नै परम्पराबाट सिकेर चिनियाँ परिस्थितिमा लागू गर्ने काम गरे । उनको त्यही नीतिले जादुमय परिणाम ल्यायो । तङले भनेको चिनियाँ विशेषतासहितको समाजवादको खास अर्थ त्यही हो । त्यसैभित्र अन्तर्निहित छ– उनको महानता ।
व्यवहारवादबाहेक आधुनिक एसियामा प्रगतिको लागि अर्को महान शक्ति भनेको राष्ट्रवाद हो । पश्चिमा विश्वमा राष्ट्रवाद अस्वीकृत भयो । पश्चिमा विश्वको इतिहास अध्ययन गर्दा त्यहाँ राष्ट्रवाद किन अस्वीकृत भयो भन्ने कारण बुझ्न सकिन्छ । राष्ट्रवादबीचको द्वन्द्वकै कारण युरोपमा असङ्ख्य युद्ध र हत्या भए । दुई वटा विश्वयुद्ध भोग्नुप¥यो । दुई वटा विश्व युद्धहरू मूलतः युरोपेली राष्ट्रहरूबीचको पश्चिमा गृहयुद्धहरू थिए ।
पश्चिमा विश्वबाहेक संसारमा अन्यत्रको अवस्था त्यस्तो होइन । पश्चिमा साम्राज्यवादले उपनिवेश वा अर्धउपनिवेश कायम गरेका देशका जनता स्वाभाविक रुपमा आफ्नो पहिचान पुनस्र्थापना गर्ने प्रयासमा राष्ट्रवादी बन्ने गर्दछन् । आफू को हो र के हो भन्ने कुरा नबुझेको मानिससँग न कुनै दिशा हुन्छ न कुनै भविष्य नै । राष्ट्रवादको जगमा पत्ता लगाइएको पहिचान नै राष्ट्रिय मुक्ति आन्दोलनको पहिलो आधारभूत कदम थियो ।
त्यसकारण एसिया, अफ्रिका, मध्यपूर्व र ल्याटिन अमेरिकाका सबै महान नेताहरू राष्ट्रवादी थिए–आङ सान, जवाहरलाल नेहरू, महात्मा गान्धी, सन यात सेन, माओ त्सेतुङ, गमाल अब्देल नास्सेर, क्वामे एनक्रुमा, फिडेल क्यास्ट्रो आदि । कम्तीमा एसियाली नेताहरू आफ्नो उद्देश्य प्राप्तिको लागि कुन विचारधारा अङ्गीकार गर्ने भन्ने विषयमा कममात्र टाउको दुखाउँछन् । अधिकांश देशमा माक्र्सवाद उनीहरूको लागि उपयुक्त सैद्धान्तिक साधन बन्यो । केही देशमा पुँजीवाद (वादका अरु धेरै रुप भएको झोला) उपयुक्त बन्यो ।
ती महान व्यक्तित्वका विरासत र भावनाले आज पनि एसियाको बहुआयामिकता र प्रगतिलाई ऊर्जा दिइरहेको छ । अङ्ग्रेजी भाषाका पाठकले यस्तो विषयमा कमैमात्र पढ्ने वा सुन्ने गर्दछन् किनभने मूलधारका मिडिया एसियामा राष्ट्रवादले खेल्दै आएको भूमिकाबारे कमैमात्र जानकारी प्रकाशन गर्ने गर्दछन् । स्वाभाविक रुपमा एसियाका राष्ट्रवादहरूबीच कहिलेकाहीं आपसमा प्रतिस्पर्धा हुने गर्दछ । त्यस्ता प्रतिस्पर्धाको परिणाम युद्ध नहोस् भनी कसरी व्यवस्थापन गर्ने हो, यो भने चुनौतीको विषय हो ।
जहाँसम्म चीनको कुरा छ, त्यो देश कुनै युगान्तकारी लक्ष्यमा संलग्न छ । ‘चिनियाँ मोडल’ भनेको समाजवाद र पुँजीवादको विशिष्ट मिसावट हो जसमा चीनका आफ्नै कन्फुसियसवाद, बुद्ध दर्शन र ताओवादी दर्शन पनि समावेश गरिएका छन् ।
अन्तर्राष्ट्रियरूपमा पेकिङबाट सुरू भएको बेल्ट एण्ड रोड कार्यक्रम सिङ्गो युरेसियाली भूगोल जोड्न ल्याइएको संसारको इतिहासकै सबभन्दा ठूलो विकास परियोजना हो । अफ्रिका पनि यो कार्यक्रमको हिस्सा बन्दैछ । कसरी भिन्न–भिन्न संस्कृति र मूल्यमान्यता बोकेका राष्ट्रहरू आपसी हितको लागि सँगै बसेर काम गर्न सक्दछन् भन्ने कुराको सजीव उदाहरण यो परियोजना बन्नेछ । एक्काइसौं शताब्दीमा शान्तिपूर्ण, समृद्ध र दिगो भविष्यको लागि मानव जातिको सबभन्दा बलियो आशाको केन्द्र नै यो परियोजना बन्नेछ ।
पश्चिम अस्ताइरहेको र पूर्व उदाइरहेको समयमा जसले अन्तर्राष्टि׫य परिस्थितिलाई पश्चिमको आँखा र पश्चिमा मापदण्ड अनुसारमात्र विश्लेषण गर्छ, उसले समयको पदचाप पहिल्याउन सकेको हुनेछैन । एक्काइसौं शताब्दीमा अरु कुनै पनि समयमा भन्दा बढी बहुराष्ट्रिय र बहुसांस्कृतिक अवधारणाको खाँचो छ ।
लेखक अन्तर्राष्ट्रिय साप्ताहिक एसिया विक (अङ्ग्रेजी) का पूर्ववरिष्ठ सम्पादक र चिनियाँ भाषाको याचाओ चाओकान पत्रिकाका संस्थापक सम्पादक हुनुहुन्छ ।
स्रोतः ग्लोबल टाइम्स
नेपाली अनुवादः नीरज

Leave a Reply

Your email address will not be published. Required fields are marked *