भर्खरै :

व्यक्तिगत आतङ्कवाद जन–मुक्तिको सही बाटो होइन

कृष्णदास श्रेष्ठ
विभिन्न देशका जनआन्दोलनको इतिहासतर्फ दृष्टि दिँदा हामी कुन कुरा पाउँछौं भने त्यहाँका आन्दोलन विकासका विभिन्न खुड्किलाहरुबाट गुज्रेको छ । आन्दोलनको प्रारम्भिक वा असङ्गठित अवस्थामा त्यसले विभिन्न तरिका लिएको देखिएको छ । खास खास शोषकहरूको सम्पत्ति लुट्नु, भण्डारहरू कब्जा गरी जनतामा वितरण गर्नु, खास खास शोषक तथा अत्याचारीहरूको हत्या गर्नु आदि सङ्घर्षका केही रुपहरू देखिएका छन् ।
हाम्रो देशको जनआन्दोलन यसको अपवाद रहेको छैन । केही वर्ष यतादेखि हाम्रो देशका विभिन्न भागमा यस्ता घटनाहरू घटिएका छन्, जसले जन–सङ्घर्षको असङ्गठित रुपलाई प्रस्टसित देखाउँछन् । झोरा–काण्डहरू, परासी काण्ड, झापा काण्ड आदि असङ्गठित मुठभेदको अवधिका स्वाभाविक उपज हुन् ।
झापा काण्ड झापाका अत्याचारी सामन्तहरूको विरुद्ध त्यहाँका केही युवकहरूद्वारा रचिएको काण्ड हो । उक्त काण्डमा एकाधजना सामन्ती शोषक तथा तिनका भरौटेहरू मारिए र अरु धेरैको हत्या गर्ने योजना थियो भन्ने चर्चा सुनिन्छ । वास्तवमा यो शोषकहरूको असह्य अत्याचारबाट उत्पन्न घटना थियो ।
यस आतङ्कवादले पनि आफ्नो औचित्य सावित गर्नका लागि केही तर्कहरू दिनसक्छन् । यसले के तर्क अघि सार्न सक्छ भने यस्तो कार्यबाट शोषकको मनमा डर र त्रास पैदा हुन्छ र उनीहरूले जनतालाई केही सहुलियत दिनुपर्ने हुन्छ । तर यो भ्रममात्र हो । यसबाट शोषक–शासक वर्गहरूको मनमा पैदा हुने त्रास क्षणिकमात्र हुन्छ, तर यसले उनीहरूमा स्थायी त्रास र शोषणको अस्तित्व गुम्ने खतरा कदापि पैदा गर्नसक्दैन । फेरि त्यसबाट केही सहुलियत प्राप्त भइहाले पनि त्यो दिगो हुनसक्दैन, किनभने एउटा शक्तिशाली जनसङ्गठन र जनान्दोलनको अभावमा पाइएको सहुलियत दिगो रहँदैन ।
झापा काण्ड एक प्रकारको आतङ्कवाद हो । माक्र्सवाद–लेनिनवाद र माओ त्सेतुङ विचारधारा मान्ने कसैले पनि यसलाई कदापि समर्थन गर्नसक्दैन । यसको कारण सैद्धान्तिकमात्र नभई व्यावहारिक पनि हो । यस्तो आतङ्कवाद माक्र्सवाद–लेनिनवाद–माओ त्सेतुङ विचारधाराद्वारा आलोकित बाटोको ठाडो अस्वीकृत हो, लाखौं शोषित–पीडित जनतालाई सङ्घर्षतर्फ नेतृत्व गर्नसक्ने क्रान्तिकारी सङ्गठनहरूको खाँचोकोे अस्वीकृत हो । व्यावहारिक दृष्टिबाट हेर्ने हो भने, यसले इच्छित उद्देश्य प्राप्त गर्नसक्दैन र सङ्गठित प्रतिक्रियावादी शक्तिको सामु टिक्न सक्दैन । यसको प्रमाणको रुपमा यथार्थ तथ्यहरू हाम्रासामु छन् । जब उक्त हत्याकार्यको जवाफमा सरकारले कठोर दमन चलायो, त्यसले त्यसको मुकाबिला गर्न सकेन, बरु त्यसको सामु त्यसले निस्सहाय भएर रहनुप¥यो ।
यस कार्यमा सङ्गठनकर्ताहरूले जुन प्रकारको साहस, त्याग तथा बलिदानको भावना प्रदर्शित गरे, त्यसको हामीले जतिसुकै कदर र सराहना गरे पनि, स्पष्ट कुरो के भने यस्तो आतङ्कवादी तरिका क्रान्तिकारी सङ्घर्ष–तरिकाको पूरै विपरीत छ र त्यस तरिकाले देशलाई अर्धऔपनिवेशिक तथा अर्धसामन्ती स्थितिबाट स्वतन्त्र पार्न कदापि सक्दैन । सच्चा मुक्तिको एकमात्र बाटो क्रान्तिकारी सङ्घर्षको बाटो, नौलो जनवादी क्रान्तिको बाटो हो ।
झापा काण्डले व्यापक रुपमा प्रतिक्रिया पैदा गरेको छ । यसले देशभित्रका विभिन्न राजनीतिक शक्तिहरूको ध्यान आकर्षित गरेको छ । यस घटनाप्रति उक्त शक्तिद्वारा लिइएको दृष्टि उनीहरूको वास्तविक वर्गचरित्र देखाउने एउटा कुरा बनेको छ । उक्त कार्यको समर्थनमा कमै शक्तिहरू देखापरेका छन्, सामान्यतः विभिन्न क्षेत्रहरूबाट त्यसको विरोध भएको छ ।
यस घटनाप्रति पञ्चायती सरकारको प्रतिक्रिया सर्वविदित्तै छ । जनतालाई दबाउन आफू सक्षम छ भन्ने देखाई देशी तथा विदेशी प्रतिक्रियावादी तत्वहरूको विश्वास प्राप्त गर्न यस सरकारले त्यस हत्याकाण्डसित सम्बन्धित व्यक्तिहरू र त्यससित सम्बन्धित प्रगतिशील शक्तिहरूको विरुद्ध दमनात्मक पाइलाहरू चाल्यो । त्यसले उक्त आतङ्कवादको विरुद्ध त्योभन्दा दस गुना भयानक तथा निन्दनीय फासिस्ट आतङ्कको सिर्जना ग¥यो । दोषी होस् वा नहोस्, सयौं व्यक्तिहरू गिरफ्तार गरिए, सयौंको नाममा पक्राउ पुर्जी काटियो, सयौंलाई विदेशिन वा देशको अरु भागमा जान बाध्य गरियो, सारा जिल्लामा आतङ्कको जोर–जुलम चलाइयो । हत्याको दोषमा समातिएकाहरूमध्ये पाँचजना व्यक्तिलाई अर्को ठाउँमा लैजाने भनी लगेर बाटैमा तिनीहरूको निर्मम हत्या गरियो । यसरी सरकारले प्रतिक्रियावादी दमनको नाङ्गो प्रदर्शन ग¥यो ।
हाम्रो मुलुकमा सोभियत सामाजिक–साम्राज्यवाद र भारतीय विस्तारवादको स्वार्थमा काम गर्ने माझी समूहले सो घटनालाई लिएर चीन र माओ त्सेतुङ विचारधाराको बद्नाम गर्न र नेपाल–चीन मैत्रीलाई बिगार्न त्यस सम्बन्धमा भ्रमहरू फैलाउन कुनै कसर बाँकी राखेनन् ।
यस सम्बन्धमा समपर्णवादी संशोधनवादी समूहको दृष्टिकोण उल्लेखनीय छ । भरतमोहन अधिकारी, मोहनविक्रम सिंह, गोपालकृष्ण प्रसाईं आदिले त्यस काण्डलाई ‘विदेशी षड्यन्त्र’को संज्ञा दिई निन्दा गरे । ती तत्वहरूले ‘दोषीले सजाय पाउनैपर्छ’ भनी सरकारी पक्षबाट भइरहेको दमन–कार्यलाई सुगम र न्यायोचित पार्न यथाशक्य प्रयास गरे ।
अब प्रश्न उठ्छ, उक्त काण्डको सच्चा कारण के हो ? यस्ता घटनाहरूको पछिल्तिर क्रियाशील रहेका आर्थिक, राजनैतिक तत्वहरू के हुन् ?
झापा काण्डको सच्चा कारण जनसमूह वा किसान तथा विद्यार्थीहरू होइनन्, न कुनै जनसङ्गठन नै हो । त्यसको सच्चा कारण जनतालाई क्रुद्ध तथा उत्तेजित पार्ने शोषक तथा सरकारका क्रियाकलाप हुन्, जनतामाथि शोषक–शासक वर्गहरूको अत्याचार, शोषण तथा अन्याय हुन् ।
यस सत्यलाई बुझ्नका लागि केही वर्ष यता देशका विभिन्न भागमा घटेका घटनाहरूलाई हेरे पुग्छ । झापा काण्डहरूको कारण के हो ? भूमिहीन किसानहरूले आफ्नो रगत पसिना बगाएर जङ्गल फाडेर हराभरा बनाएको जग्गामाथि कब्जा गर्ने सामन्तहरूको प्रयास नै त्यसको कारण हो । त्यस्तै परासी काण्ड सरकारी जोलजुलुम र दमनको उपजबाहेक केही होइन । आज पनि देशका विभिन्न भागमा शोषकहरूको तर्फबाट जनताको विरुद्ध अन्यायपूर्ण गतिविधिहरू चलिरहेका छन् र पञ्चायती शासनले जनताको विरुद्ध उनीहरूलाई उत्साहित र पूर्ण सहयोग गर्दै छ । यस्तै गतिविधिबाट नै विभिन्न थरीका काण्डहरू पैदा हुन्छन् । यस यथार्थ सत्यलाई नदेख्नु वा त्यसलाई लुकाउन खोज्नु तर त्यसबाट उत्पन्न काण्डलाई लिएर जनताको निन्दा गर्नुको अर्थ सरासर आफूलाई प्रतिक्रियावादी वर्गहरूको तावेदार बनाउनु हो ।
यस्तो आतङ्कवादको विरोध गर्न र त्यसलाई रोक्न जनतासित जोडदार अनुरोध गरिन्छ । तर शोषकहरूका यी वकिलहरू कुन कुरो बुझ्दैनन् भने यो थिचिएका जनताको सवालभन्दा निकै बढी मात्रामा शोषक, शासक वर्गहरूको आतङ्ककारी गतिविधिहरूको सवाल हो, तिनीहरूद्वारा गरिने अमानवीय राजनीतिक तथा आर्थिक थिचोमिचोको सवाल हो । अहिले भइरहेझैं, यदि शोषक–शासक वर्गहरू जनताको विरुद्ध आतङ्क मच्चाउँछन् र जनताको लूट गरी उनीहरूलाई क्रूद्ध पार्छन् भने आतङ्कवादको विरोध गर्दैमा कसरी कम वर्ग–सचेत जनशक्तिहरूलाई आतङ्ककारी कार्य गर्नबाट हटाउन सकिएला ? यस अवस्थामा कसरी र कुन तर्क दिएर जनतालाई सहेर बस्ने शिक्षा दिन सकिएला ? यदि साँच्चिै नै यस्तो आतङ्कवादी कार्य गर्न नदिने हो भने शोषक–शासक वर्गहरूले आफ्नो जन–विरोधी आतङ्कपूर्ण गतिविधि बन्द गर्नुपर्छ, जनतामाथि भइरहेको अत्याचार र थिचोमिचो हट्नुपर्छ, जनतालाई सङ्गठित भएर लड्ने उनीहरूको अधिकार दिइनुपर्छ आदि ।
जहाँसम्म सचेत मजदुर तथा अन्य जनता र सच्चा माक्र्सवादी–लेनिनवादहरू र तिनका सङ्गठनहरूको सवाल छ, उनीहरू आतङ्कवादी कार्यको विरोध गर्छन् र सबभन्दा मुख्य रुपमा, शोषक–शासक वर्गहरूको आतङ्कवादी शासनको घोर विरोध र निन्दा गर्छन् । आफ्नो स्वार्थ पूर्तिको लागि विदेशी प्रतिक्रियावादी शक्तिहरूबाट र राम्रा राम्रा कार्यकर्ताहरूको हत्या गर्ने निहुँ बनाउन शासक वर्गहरूबाट यस्तो काण्डको सिर्जना गराउन खोज्छन् र यसैले यस्ता उक्साइ र उत्तेजनापूर्ण कार्यप्रति उनीहरू सजग र सतर्क हुनुपर्छ । उनीहरूले प्रतिक्रियावादीहरूका उत्तेजक कार्यको पोल जनतामा खोलिदिनुपर्छ र जनताको क्रोध तथा रोष र उनीहरूको स्वस्फूर्त सङ्घर्षलाई वर्गसङ्घर्षमा फेर्ने बाटोमा धैर्यका साथ र दरोसित लाग्नुपर्छ । यसरी मात्र जन–सङ्घर्षलाई एउटा निश्चित लक्ष्यतर्फ अघि बढाउन सकिनेछ ।
२०४० आषाढ १५ गते
स्रोतः सङ्कलित रचनाहरु भाग १

Leave a Reply

Your email address will not be published. Required fields are marked *