भर्खरै :

सामन्ती परम्परा, वैज्ञानिक चिन्तन र भावुकता

गोविन्दप्रसाद लोहनी
काम विशेषले गर्दा र सम्पर्क तथा ज्ञानवृद्धिका लागि समेत मलाई अनेक क्षेत्रका अनेक प्रकारका मानिसहरूसँग भेट गर्नु परिरहन्छ । यसरी अनेक क्षेत्रका समुदायहरूमा घुम्दा जीवनका अनेक क्षेत्रको परिचय त पाइन्छ, अनेक सामुदायिक स्वभाव र दृष्टिकोणहरू पनि बुझ्ने अवसर प्राप्त हुन्छ । एक समुदाय अर्को समुदायबारे कति अज्ञानमा हुँदा रहेछन्, एक वर्ष अर्को वर्षबाट टाढा हुँदोरहेछ, एक प्रकारको पेसाले अर्को प्रकारको पेसालाई कति कम चिन्दोरहेछ, मानिसहरू कसरी आफूलाई अरुबाट छुट्टयाएर बसेका छन् र जीवनभर छुट्टिएरै बस्छन्, आफ्नो क्षेत्रमा खूब जान्ने कहलिएकाहरू अर्को क्षेत्रबारे कत्रो अज्ञानमा हुँदारहेछन् ? यो बराबर देख्छु । आफ्नै प्रशंसामात्र गरिरहने अति अपरिपक्व विचार भएका मानिसहरू पनि देखापर्छन् । मानव जीवन र समाजमा कैयौं यस्ता प्रश्न हुन्छन् जसको उत्तर साधारणतः खोज्दै खोजिन्न । अधिकांश मानिसहरूको मनको परिधि उनको जीवन, वातावरण, शिक्षा–दीक्षा र यिनै तत्वबाट धेरैजसो प्रभावित हुने इच्छा, आकाङ्क्षा र लक्ष्यमा सीमित हुन्छ । सामन्ती समाजमा आँखा चिम्लेर सम्पूर्ण समाज परम्परागत बाटोमा बगिरहेको हुन्छ । भू–सम्पत्तिसम्बन्धी कानुन नै जीवनको विधान हुन्छ । मुद्दा–मामिला, झै–झगडा, अंशियारहरूको रिसराग, काटमार, एकै बाबुआमाका सन्तानहरूको परस्पर भयङ्कर शीतयुद्ध, सांसारिक झगडामा देवताहरू गुहार्नु, देवीदेवतामा भाकल चढाउनु, भूतपिशाचहरू साध्नु, अनन्त ब्रह्माण्डको योजनाबद्ध सञ्चालन गरिरहेको भाग्यले यस तुच्छ पृथ्वीको एक सानो भागको भू–व्यवस्थामा अडेको समाजको सानो क्रियाकलापमा बखत–बखतमा सा¥है चाख लिँदै र दान पूजाको आशा गर्दै अनुकूल वा प्रतिकूल प्रभावहरू पार्दछन् भन्ने पूर्ण विश्वासको आधारमा जीवन र जगत्का सबै जटिलता पात्रो तथा दस कर्मका किताबबाट वर्षको पचासौं तिथिहरूमा समाधान गर्नसक्ने पुरोहितहरूको निर्देशनमा होम, पूजाआजा, बलिदान आदि गरिरहनु र यिनै विश्वास, व्यवहार र चलनलाई संस्कृति भन्ने दाबी गर्नु सामन्ती समाजको चरित्र हो । व्यापक अशिक्षा, निम्न स्तरको उत्पादन शिल्प, प्राचीनतामा गर्व गर्ने बुद्धिजीवी र सा¥है मन्द वेगले चल्ने विकास कार्यहरूले गर्दा सामन्ती समाजमा विशेषताले भरिएको समय हुँदैन, समयचक्रमात्र हुन्छ अर्थात् हजारौं वर्षदेखि चलिआएको जीवन जस्ताको तस्तै दोहोरिरहन्छ, विकास हुँदैन, पुनर्सृजनमात्र हुन्छ । बाजे र नातिको जीवनपद्धति लगभग उस्तै हुन्छ, विश्वास उस्तै हुन्छ, चेतनाको स्तर पनि झन्डै उस्तै हुन्छ । वाल्मीकि, व्यास र कालीदासको काव्यको नक्कल हजारौं वर्ष पछिसम्म गरिन्छ, दुई हजार वर्षअघिका मनुका सामाजिक विधानहरूबाट आज पनि काम चलिरहेको हुन्छ । प्रयोग, परिवर्तन, संशोधन, नयाँ मान्यता र दृष्टिकोणको जरुरत सम्झिइन्न ।
गतिहीन बाह्य सम्पर्क नभएको सत्तामा कुनै परिवर्तनको जरुरत पनि त पर्दैन । परिस्थिति र वातावरण नबदलिई अरु कुरामा परिवर्तनको चेतना पनि त उत्पन्न हुनसक्तैन । एकनासको उत्पादनशिल्प र परम्परागत रुपले खेतीमा अडेको समाज जडीभूत हुने नै भो । प्राविधिक स्थितिले नै त परिवर्तन ल्याउँछ– आर्थिक, सामाजिक, सांस्कृतिक स्थितिमा, अनि सबै कुरामा । त्यसैले त विज्ञान र प्रविधिमा प्रगतिशील परिवर्तन भइरहने पश्चिमा समाजहरूमा स्थायित्व कुनै कुराको छैन । गतिहीनता र स्थायित्व उस्तै कुरा हुन् । सामन्ती चेतना भएको विचारक र समीक्षकले मात्र स्थायी भाव, रसवाद र शाश्वत कलाको निम्ति घाँटी सुकाउन मिल्दछ । परिवर्तनशील समाजमा त सबै कुरा बदलिइरहन्छन् । बदलिँदै जानु नै जीवन हो, बाँच्नु हो, उन्नत हुनु हो । स्थायित्वको कामनाभित्र मृत्यु, भय र संस्कारप्रति अन्धप्रेमको मनोवैज्ञानिक प्रक्रिया लुकेको हुन्छ । यो जड रुपमा बाँचिरहने इच्छा हो । अबौद्धिक कामनाहरूको दुःखान्त हुन्छ ।
आजको वैज्ञानिक तथा व्यापारिक सम्पर्कको युगमा सामन्ती समाजले आफ्ना सबै चरित्र जोगाएर राख्न सक्तैनथ्यो । पश्चिमी समाजका अनेक तत्वहरू अङ्गे्रजी शिक्षा र सामन्ती भोगवादी इच्छाले गर्दा धमाधम आँखा चिम्लेर लिइँदै छन् । तर, भू–व्यवस्था नै सामान्ती समाजका सबै कुराको जग हुन्छ । सो जग भने भाँचिएको छैन । सामन्ती समाजमा अङ्ग्रेजी पढी पश्चिमी सभ्यता लिएका ड्रिङ्क, डान्स, ड्राइभिङ र अङ्ग्रेजी बोल्न हुरुक्क हुनेहरूमध्ये धेरैजसोको मूल चरित्र भने सामन्ती नै देखिन्छ । सामन्ती समाजका दार्शनिकहरू पश्चिमी समाजलाई भौतिकवादी भनी नाक चेप्राउँछन् तर समाजको व्यवहार, लक्ष्य, बाटो आदिलाई गढेर हेरेमा वा दर्शनका किताब पढ्ने मानिसको सङ्ख्या गनेमा लाखमा कति आध्यात्मिक– प्रत्ययवादी छन् ? निश्चत नै यो सङ्ख्या युरोपका देशहरूमा धेरै बढी देखिनेछ । धर्म र कर्मकाण्ड नै आध्यात्मिकताको लक्षण होइन, यो त समाजको प्रतिबिम्बमात्र हो, विधि–विधान (च्ष्तभक बलम च्ष्तगबकि) मात्र हो । यो त प्रत्येक समाजमा प्रत्येक व्यक्तिमा एक न एक रुपमा हुन्छ । जातीय वा व्यक्तिगत स्नायविक असन्तुलन हटाउने वा प्रकट गर्ने यो अचेतन स्वभाव र लक्षण हो । प्रतीक र सङ्केतहरूको पूजा गर्नु आफूलाई प्रेम गर्नु हो, आफ्ना आकाङ्क्षाहरूप्रति श्रद्धा देखाउनु हो, यो मानवको जीव–वैज्ञानिक (बायोलजिकल) स्वभाव हो, यसबाट केही हदसम्म आन्तरिक सन्तुलन भने प्राप्त हुन्छ । प्रतीक जे भए पनि हुन्छ तर, जातीय विश्वास वा अन्धविश्वाससँग सम्बन्धित वस्तु भए प्रभावकारी हुन्छ । राष्ट्रहरूका झन्डा प्रतीक हुन् । मूर्ति र लिङ्गहरू यस्तै जातीय विश्वास र इच्छाहरूका प्रतीक हुन् । योद्धाले विष्णुको उपासना गर्नसक्तैन, उसलाई महाकाली चाहिन्छ । सत्यको खोजमा छट्पटिएको व्यक्तिले विष्णु, शिव र ब्रह्माबाट पनि सन्तोष पाउन्न, उसलाई निर्गुण निराकार सत्चित् आनन्द ब्रह्म चाहिन्छ– शब्द, ध्वनि, अस्पष्ट चित्र र आनन्द तथा शक्तिको कल्पनासँग तर्क । सामन्ती समाजको तर्क पनि त अन्तिम रुपमा केही पूर्वमान्यता (ज्थउयतजभकष्क) मा अडेका हुन्छन् र ती मान्यताहरू स्वयम् भावुक सन्तोष र काव्यात्मक सौन्दर्यमा उब्जिएका हुन्छन् । आधुनिक विज्ञानमा बाहेक अन्यत्र तर्कको तार्किकता शब्द र ध्वनिहरूको बुट्टा, लय र तालमा सीमित हुन्छन् । विज्ञानमा मात्र शब्द बनाउँदा वस्तुगत (इदवभअतष्खभ) प्रयोग र वस्तुगत निरीक्षणबाट पुष्टि दिनु आवश्यक ठानिन्छ । विज्ञानबाट निस्कने बौद्धिकतालाई मात्र प्रामाणिक मान्नुपर्दछ । यस्तो ज्ञानमा मात्र व्यक्तिगत चेतन–अचेतन, इच्छा, आकाङ्क्षा र बासनाको आरोपण हुँदैन वा ज्यादै कम हुन्छ । यस्तो आध्यात्मिकता धेरै उच्चस्तरको हुनेछ, धेरै धेरै व्यावहारिक हुनेछ, अतः व्यापक रुपले उपयोगी हुनेछ ।
वैज्ञानिक पद्धतिबाट चिन्तन गर्न नसक्नेहरूको दार्शनिक वा अन्य साधारणीकृत (न्भलभचबष्किभम) कथनलाई भावुक रहस्यवादी काव्य सम्झनुपर्छ । आनन्द दिने वस्तुको रुपमा यसको पनि उपयोगिता छ । सामन्तीमात्र होइन, अरु समाजमा पनि अधिकांश मानिस भौतिक सुखको वासनामै दौडिरहेका हुन्छन्, जीवनलाई गहिरोमा पसेर हेर्नेहरू थोरै नै हुन्छन् तर साहित्य, दर्शन, कला र विज्ञानलाई व्यापक जनताको चेतनामा पु¥याउने योजना भने चलाएको देखिन्छ । उच्चस्तरका ग्रन्थहरू लाखौंको सङ्ख्यामा प्रकाशित हुन्छन्, बिक्छन्, पढिन्छन् । ज्ञानको प्रसार प्रत्येक सभ्य राष्ट्रको एक प्रमुख कर्तव्य भएको छ । बौद्धिक क्षेत्रको ठूलो प्रतिष्ठा छ । न्यायालय अगाडिको चौरमा उभिएर मुद्दाबारे उत्तेजनापूर्वक बहस गरिरहेका जर्जर बूढाहरू, रकमी जालपेचमा अल्झिरहेका, सम्पत्तिको गर्व गरिरहेका र अड्डाको कुरामा बाहेक अरु केही कुरामा कुनै चाख नभएका कर्मचारीहरू, व्यापार र उद्योगको गतिविधिबारे मात्र कुरा गर्नसक्नेहरू र यस्तै खालका तथा कथित जानकार र व्यावहारिक मानिसहरू सामन्ती समाजमा अरु समाजमा भन्दा बढी हुन्छन् । अरु मरेको देखेर, मानिस मार्छन् भन्ने बुझेर, जीवन केवल एकपल्टमात्र हुन्छ भन्ने थाहा पाएर पनि जीवनका अनेक परिस्थितिहरूले, अनेक अनुभवले, समय, उमेर र स्वास्थ्यको स्थितिले किन कहिले पनि यिनीहरूलाई मृत्यु, जीवन र जगत्बारे रहस्यात्मक अनुभूति आउन्न, जीव परम्पराको अरबौं वर्षको सुदूर अतीत र अरबौं वर्षसम्म जाने भविष्यमा आफू एक क्षणिक झिल्को भन्ने चेतना हुन्न, गम्भीरतापूर्वक विचार गर्न प्रेरित गर्दैन यो आफूलाई मात्र बुज्रुकग, संसार चिनेका र व्यावहारिक ठान्ने जन्तुहरू उच्चस्तरीय विचार, चिन्तन र वैज्ञानिक भावुकतालाई घृणा गर्छन्, तर आफू स्वयम् निम्नस्तरको अविवेकपूर्ण रिस, राग, लोभ, आशा, अन्धविश्वास र सामन्ती नोकरशाही (द्यगचभबगअचबतष्अ) प्रतिष्ठाको सङ्कीर्ण भावुकतामा बगिरहेका हुन्छन् । अनन्तकालमा एकपल्ट पचास साठी वर्षलाई मात्र हुने पानीको फोकाजस्तै मानव जीवनलाई कल्पना र विचार नै नगरी जथाभावी खर्च हुन दिनु बाँदर, बोका, भेंडा र बाघ भालुको जस्तै जीवन हो । पशुहरूमात्र कल्पना र विचारबाट टाढा हुन्छन् ।
चेतनालाई सुदूर भूत र भविष्यमा नदौडाउने, प्रकृतिका नियमहरू बुझ्ने प्रयास नगर्ने, अरुको गतिविधि र समस्या जान्न–बुझ्न नचाहने, अरुको मनको अवस्थाबारे विचार र कल्पना गर्नु, बुझ्नु र सहानुभूति प्रकट गर्नु कमजोरी ठान्ने, जीवनको लक्ष्य के हो, सफलता के हो, मानव जातिको लक्ष्य के हो, विकासको लक्ष्य के हो, विकास वास्तविक हो कि मानवको धारणामात्र हो, स्त्री र पुरुषको सम्बन्ध के हो, माया ममता र इच्छा–आकाङ्क्षा के हुन्, सुख र शान्ति के हुन् र केमा छन् संसारको भविष्य कस्तो होला, भावी संसार कस्तो होला, पत्थरयुगका मानिसको चेतना कस्तो थियो होला, मर्दै गएको बेला कस्तो लाग्दो हो, मृत्युपछि के छ, एक व्यक्तिलाई वस्तु (इदवभअत) को रुपमा मात्र अनुभव गर्नसक्ने हुँदा अरुको चेतनाबारे आफ्नै चेतनाको आरोपणमात्र गरिएको हो कि ? आदिम मानवले प्रकृतिका सबै वस्तुमा यस्तै आरोपण गरे कि, आजका घमण्डी जवानहरू पचीस तीस वर्षपछि कस्तो देखिएलान्, कस्ता कुरा गर्लान्, आजका चाउरिएका र नैतिकताबारे गन्थन गरिरहेका बूढाबूढीहरू तीसचालीस वर्षअघि कति उत्ताउलो खित्का छोड्दा हुन्, रवाफ र अहङ्कारले जीविन कत्तिको थर्काउँदा हुन्, पचास वर्षपछिको नेपाल कस्तो होला, नीति, व्यवस्था, वातावरण, प्रशासन, चालचलन, मानिस, विचार, भाव, साहित्य कला कस्तो होला, आजका कुराहरू उनलाई कस्तो लाग्ला, कुन दृष्टिकोणले आलोचना गर्लान्, मथुराका कृष्णजी के भाषा बोल्दा हुन्, युद्धभूमिमा गीत कसरी बोलियो होला, कृष्णचरित्रमा व्यासको मनको छाप, भानुभक्तले बेलुकाको नयाँ सडक देखे तथा भू–उपग्रह, अन्तरिक्ष यान, हाइड्रोजन बम र रकेटबारे बुझे के कस्तो कविता लेख्दा हुन्, एसिया भन्ने भाव कसले सबभन्दा पहिले कल्पना ग¥यो होला, अमरसिंहको आँखा अगाडि भूगोल र नक्साविना विश्व, एसिया, भारतखण्ड र नेपालको कस्तो चित्र र आकार आउँदो हो, आर्थिक विकास र प्लानिङ आदिको बारे ऋषिमुनि र प्राचीन राजनीतिज्ञहरूलाई किन कल्पनै नआएको, मध्यरातमा सिंहदरबारका कोठाहरू कस्ता देखिँदा हुन् ? आदि जस्ता कल्पना र विचार अधिकांश शिक्षित मानिसहरूसमेत गर्दैनन् ।
–बाँकी भोलिको अङ्कमा

Leave a Reply

Your email address will not be published. Required fields are marked *