गोविन्दप्रसाद लोहनी

विचारले विचार ल्याउँछ, कल्पना जगाउँछ, जिज्ञासा उत्पन्न गर्छ, पत्रपत्रिका र किताबहरू हेर्ने प्रेरित गर्छ, वातावरण र घटनालाई नयाँ आँखाले हेर्न बाध्य गर्छ र यो चक्का ठूलो हुँदै जान्छ, उत्पन्न हुँदै जान्छ, गहिरो हुँदै जान्छ । चिन्तनको क्षितिज जति फैलिन्छ उति विषय, क्षेत्र र तत्वहरूको परस्पर सम्बन्ध नजिक हुन्छ, बुझिन्छ, प्रत्येक कुरा अर्थपूर्ण देखिन थाल्छन् । चाखको क्षेत्र फैलिन्छ, अनेक क्षेत्रमा टुक्रिएको मानव–जीवन एक अविभाज्य सत्ता भन्ने थाहा हुन्छ र व्यवहार पनि सत्य र यथार्थको नजिक पुग्छ । जीवनको पूर्णता वैज्ञानिक चिन्तन र उच्चस्तरीय भावुकताको विकासमा निहित छ । चिन्तनको आधार जति वस्तुगत, वैज्ञानिक र विस्तृत हुन्छ भावुकता पनि उति उच्चस्तरको हुन्छ, उति बढी उपयोगी हुन्छ । कविताले भावुकतालाई मनोगत इच्छा– आकाङ्क्षाको पखेटा लगाइदिन्छ, कथा–साहित्यले हेराइलाई खँदिलो, व्यापक र यथार्थवादी बनाउँछ, निबन्धले परिपक्वता ल्याउँछ । विज्ञान, दर्शन, इतिहास, साहित्य, सङ्गीत र कलामा चाख नभएको मानिसको चेतनाको स्तर उन्नत हुन सा¥है कठिन छ । उन्नत भाव नै मानिस हो, शरीर त लासमात्र हो । भावुकताले नै मानिस जीवित रहन्छ । उन्नत भावुकताले विकास गर्छ । अतः त्यसलाई हेला गर्नु, कमजोरी ठान्नु, मूर्खतामा गन्नु चिन्तनको मनोवैज्ञानिक प्रक्रिया नबुझ्नु हो ।
सबै विषयमा धेरै विस्तृत र गहिरो ज्ञान प्राप्त गर्न गाहारो छ, कुनै एक दुई विषयमा विशेष ज्ञान र अनुभव प्राप्त गर्नु बुद्धिमानी र व्यावहारिक पनि हो । उपाधि प्राप्त गर्न र जीविकोपार्जनका लागि पनि यस्तो गर्न कर लाग्छ । तर, मानिसको जीवन प्रमाणपत्रहरू बढाउन र जीविकोपार्जनका लागि मात्र खर्च हुनुहुन्न । त्यो त शरीरधारणको साधनसम्म हो, साध्य वा लक्ष्य त ज्ञानको पूर्णतातर्फ बढ्नु हो । पूर्णता प्राप्त नगरुञ्जेल मानिस बारम्बार जन्म लिइरहन्छ भन्ने धार्मिक भनाइ सत्य हो वा होइन मलाई थाहा छैन । तर जीव विकासको प्रक्रिया र शृङ्खला हेर्दा निश्चय नै यो विकास, अचेतन रुपमै भए पनि, स्थुलबाट सूक्ष्मतिर, सरलबाट जटिलतिर, बलबाट बुद्धितिर, स्थूल प्राण रक्षाबुद्धि (क्ष्लकतष्लअत– स्वाभाविक अन्ध प्रवृत्ति) बाट सूक्ष्म सत्ताहरूको विराट जगत्को सम्पर्क, अनुभूति, चेतना र ज्ञानतिर गइरहेको जस्तो लाग्छ । आधुनिक मनोविज्ञानका खोजहरूबाट पनि मानिसहरूको आन्तरिक अचेतन इच्छा र प्रयास भोजन, रतिक्रिया (क्भह) आदि स्थुल कुराको माध्यमबाट गहन र व्यापक मूल–इच्छाहरूतर्फ जान खोजेको छ भन्ने थाहा हुन्छ । रक्तमा उमेर र अवस्थाअनुसार स्वतः चुहिने हर्मोन रसहरूले स्त्री र पुरुष प्राणीहरूको कार्यकलाप सञ्चालन गरिरहेछन् । एक युवक एक तरुनीतिर खिचिनु, तरुनीले अनेक उत्ताउला (आकर्षक) साधन र उपायद्वारा युवकहरूलाई आफूतर्फ आकर्षित गर्नु, युवकहरूले आदिम वनमान्छेझैं छाती र काँध फुलाएर (पोसाकको समेत सहारा लिई) पोथीलाई आफ्नो पोषण र स्वास्थ्यको प्रदर्शन गर्नु, वक्ष–प्रदर्शनको मौका छोप्ने उत्ताउली युवती सन्तानहरू पाएपछि काशीकी गङ्गाजस्तै शान्त हुनु, बूढाहरूमा वैराग्य आउनु, बालक र बच्चाहरूमा खेलकुद, कुटामारी, रुवावासीको प्रवृत्तिद्वारा शारीरिक र स्नायविक विकास हुनु, युवकहरूमा चञ्चलता, उत्तेजना, घमन्ड र झगाडिया स्वभाव आदिमा प्रकृतिको अदृश्य हात चलिरहेछ । गढेर हेर्नेले एक विराट, सा¥है जटिल आयोजना व्यवस्थाजस्तो देख्दछ र त्यस सा¥है अनौठो व्यवस्थाको उद्देश्यबारे कल्पनाहरू उठ्छन् । शरीर–विज्ञान, जीव–विज्ञान, नृतत्व शास्त्र (ब्लतजचयउययिनथ) समाजशास्त्र, मनोविज्ञान, संस्कृतिको ऐतिहासिक रुपले विकासको अध्ययन आदि सबै कुराले जड, जीवन, जगत् र निर्गुण ब्रह्म बुझ्नमा सहायता भइरहेछ र विज्ञानबाटै जगदीश्वरपट्टि पुगिन्छ भने कसैलाई विरोध छैन । कल्पनाबाट निस्कने अध्यात्मवादभन्दा वैज्ञानिक अध्यात्मवाद निश्चय नै बढ्ता चित्तबुझ्दो, प्रामाणिक र भरपर्न सकिने होला ! अवैज्ञानिक धर्म र अध्यात्ममा मानिस निर्वैयक्तिक (क्ष्mउभचकयलब)ि निर्गुण, अलौकिक सत्तापट्टि कल्पना नै गर्दैन । आफ्नै अनुहार, चालचलन, इच्छा र भयको आरोपण गर्छ । आफू र जगत्लाई मानवीय भावले हेर्ने जाँच्ने पद्धतिको प्रयोग विज्ञानमा मात्र हुन्छ । वैज्ञानिक पद्धतिबाट संसार, समाज, अरु व्यक्ति र आफूलाई अनुभव गर्न थालिए आजको धेरैजसो कुरा कत्रो अज्ञान र मूर्खतामा अडेका देखिने थिए ।
चिन्तन वैज्ञानिक बनाउन र भावुकतालाई यथार्थ ज्ञानमा आधारित गर्न जीवन जगत्सँग सम्बन्ध भएका सबै शास्त्रहरूको अलिअलि ज्ञान चाहिन्छ । आजको युगमा ज्ञान, विज्ञान र कलाका सबै क्षेत्रको विकाससँग साधारणरुपले परिचय गराइदिने सरल, राम्रा, सचित्र र सस्ता पुस्तकहरू पाइन्छन् । साधारण अज्ञान हटाउन योजनापूर्वक चालीस–पचास पुस्तक पढे पनि हुन्छ । पत्रपत्रिकाहरूमा पनि विविध विषयका सामग्री पाइन्छ । संसारका महान् साहित्यिक कृतिहरू सस्तो मोलमा किन्न पाइन्छन्, सिनेमा र नाटकको रुपमा पनि हेर्न पाइन्छ । नेपाली भाषामा अहिलेसम्म यी सुविधाहरू उस्तो प्राप्त भइसकेको छैन, तर संस्था वा सरकारले प्रयास गरेमा यस्तो पचास–साठी ज्ञानबद्र्धक पुस्तक दुई चार वर्षमै निस्कन सक्छन् । पत्रपत्रिकामा प्रकाशित भएका लेखहरूको सम्पादन गरेर पनि अनेक विषयका पुस्तकहरू निकाल्न सकिन्छ ।
आजको वैज्ञानिक युगमा पनि अज्ञानमा रहनु ठूलो कमजोरी हो । ज्ञान आज जति सस्तो कहिल्यै थिएन । आज जान्ने इच्छाको झिल्कोमात्र भए आगो सल्कँदै जान सक्छ । जान्ने इच्छा बहसमा भाग लिएर, अध्ययनशील वा जिज्ञासु व्यक्तिहरूको सम्पर्कमा आएर, दुईचार वर्षसम्म नियमित रुपले पत्रपत्रिकामा प्रकाशित सबै विषयका लेखहरू हेरेर शब्द–भण्डार बढाएर तथा अरु अनेक उपायबाट हुनसक्छ । जति जान्यो उति जिज्ञासाको क्षेत्र बढ्दै जान्छ, चेतनामा नयाँ–नयाँ चित्र, ध्वनि, सङ्केत र भावुकता थपिँदै जान्छ । धेरै विषयमा ज्ञान भएको व्यक्तिको कुशलता र परिपक्वता निश्चय नै बढी हुन्छ । उसको बोल्ने र लेख्ने तथा काम गर्ने व्यक्तित्व निश्चय नै अरुभन्दा माथि हुन्छ । उसले अरुमा प्रभाव अवश्य पार्छ । यसको कारण हो विषय र क्षेत्रहरूको परस्पर सम्बन्ध । प्रत्येक क्षेत्रलाई अन्य क्षेत्रहरूको दृष्टिकोणबाट समेत हेर्दा धार्मिक दृष्टिले मात्र हेरेको भन्दा बढ्ता कुरा थाहा हुन्छ । विश्व इतिहास र समाज विकासको ज्योतिमा नेपालको इतिहास पढ्दा अर्कै आनन्द आउँछ । एक जना परिचित व्यक्तिले यो शङ्का उठाए कि बढ्ता जान्दा जीवनको बाटो बिराइएला (उनको शब्दमा ‘बरालिएला’) कि ? यो प्रश्नमै अज्ञान लुकेको छ । जीवनको बाटो बुझ्नलाई नै त केके बाटो रहेछन्, कुन–कुन बाटा कहाँ कहाँ पुग्छन्, जाने कारण के हो, साधन के हो आदि जान्नुप¥यो । परम्पराबाटै हिँडिरहेको बाटो ठीक हो भन्ने भ्रान्ति अज्ञानमै त अडेको छ । मूर्खताको पनि दार्शनिक आधार हुन्छ । मूर्खले आफ्नो दर्शनको व्याख्या गर्नसक्तैन, तर एक मिथ्या विश्वास र भ्रान्त दर्शनमा चलिरहेकै हुन्छ । आफूलाई फजुलका कल्पनामा र काम नलाग्ने ज्ञानमा नलगाउने सा¥है व्यावहारिक र बुद्धिमानीपूर्वक चल्ने व्यक्ति मान्नेहरूले के कहिले आफूसँग ठूला ठूला प्रश्न गरेका छन् ? के आफूलाई मर्ने मानिस ठानेका छन् ? आफ्नो जीवनको सिंहावलोकन गरेका छन् ? पैसाको महत्व मान्नु परम्परा हो, बुद्धिको त्यहाँ जरुरत छैन । घूस, मुनाफा, घरबार, जग्गाजमिन, रोब–रवाफ, कामिनी र काञ्चनप्रति आकर्षित हुनु कुनै चमत्कार होइन, युग–युगदेखि अधिकांश मानिसहरूले गरिआएको कुरा हो, बाजे–बराजुदेखि चलेको कुरा हो, त्यसैले तालिम दिएर महान् साहित्यकार, कलाकार, महात्मा र नेताहरूको झुण्ड उत्पन्न गर्न सकिन्न ।
सत्सङ्गत, विविध अध्ययन, गहन चिन्तन र अन्तरको खोजबाट आफ्नो अज्ञान थाहा हुन्छ, आफ्नो अभाव थाहा हुन्छ । सम र सेक्सपियरको संसार एक परिश्रमी ज्यापु किसानलाई थाहा छैन, प्रसादको कामायनीको विराट सौन्दर्य एक एकाउन्टेन्ट र क्यासियरलाई थाहा छैन । म्याक्स प्लाङ्क र आइन्स्टाइनको व्यापक तथा लर्ड रदरफोर्ड र नील बोहरको सूक्ष्म जगत्बारे अधिकांश सचिव र डाइरेक्टरहरूलाई पत्तो छैन र हक्सले र अरविन्द घोषको आध्यात्मिक चिन्तन एक अवकास प्राप्त जर्नेल वा बूढो लखपति साहुलाई कल्पनै छैन । अर्कोतिर माक्र्स, फ्रायड, जुङ, कोहलर, पाब्लोभ, लेनिन र किन्सका सिद्धान्तबारे यस्तै हाल छ । आफ्ना नजिक अनेक शिक्षित भनाउँदा मानिसहरूको आँखाभित्र चियाएर हेर्नुहोस्– कति खाली ठाउँ छ, मन्द प्रकाश छ । प्रत्येक मानिस गल्लीको घरजस्तो, आँखीझ्याल जता फर्केको छ त्यतैबाट मात्र केही प्रकाश आइरहेको ! अरुतिरका झ्यालहरू बन्द गरिएका । मानिसहरू किन यसरी डराउँछन् जानिएला भनी, ज्ञान पस्ला भनी । मानिसहरू किन समय बर्बाद गर्छन् फजुलका अहङ्कार प्रदर्शन र दिनौँ दसपल्ट दोहोरिने कुरामा । एकपल्ट चिसो गोलजस्तो मगजमा जिज्ञासाको झिल्कोमात्र सल्किदिए दैनिकपत्रका सामान्य समाचारहरूमा पनि जीवन र जगत्को कहानी देखिने थियो, सडकका सबै कुरा अनौठा, अर्थपूर्ण र विचार कुत्कुत्याउने हुने थिए । त्यस्तै हामीले आफू र आफ्नो सम्पूर्ण वातावरणको कणकणमा आकाश लुकेको र त्यस शून्य स्थानमा इलेक्ट्रन, न्युट्रन र प्रोट्रनको विराट नृत्य भइरहेको अनन्त विस्तारमा भौतिक शक्ति व्यवस्थित रुपले विद्युत् वेगले तरङ्गित भइरहेको, शरीरका अनन्त विस्तारमा भौतिक शक्ति व्यवस्थितरुपले विद्युत् वेगले तरङ्गित भइरहेको शरीरका अनन्त जीवकोशहरूको जिन्स, क्रोमोजोम्स र एन्जाइम्स र डी.एन. एसिडको जटिल स्नायु अनुभव गरिरहेको, कविता ओकलिरहेको, जोलझेल र द्रव्य आर्जनमा अमूल्य समय र शक्ति खर्च गरिरहेको सत्य देख्न सके हुन्थ्यो । सत्य सुन्दर छ, अतः शिव छ । विराट सौन्दर्य अनुभव गर्न सत्यप्रति जिज्ञासा जगाउनुपर्छ, सुरुमा केही कठिन अभ्यास पनि गर्नुपर्छ । नबुझुञ्जेल कुनै कुराको महत्व थाहा हुन्न, श्रद्धा र आशक्ति हुन्न । महिनौंसम्म कलाकारले तन्मय भई सृष्टि गरेको एक तस्बिर एक कलातर्फ अशिक्षित सचिव, डाइरेक्टर, डाक्टर, वकिल वा इन्जिनीयरका लागि फजुलको वस्तु हुन्छ, निरर्थक कुरा हुन्छ । वषौँ मनन गरेर लेखेको एक उपन्यासलाई एक साहित्यतर्फ अज्ञानमै रहेको मगजले एक अफिसियल चिठीको मस्यौदाभन्दा पनि तल्लो खालको मेहनत ठान्दछ । उच्चस्तरको भावात्मक अवस्थामा पुगेका व्यक्तिहरूले गरेका व्यवहारहरूमा निम्नस्तरको भावात्मक स्थितिबाट उठ्न नसकेका मानिसहरू आफ्नो परिचित सङ्कीर्ण अर्थको आरोपण गर्छन् । यस्ताले यसबाट कति कमायो, यसमा के जाल छ, कुन गुटमा छ, कसको मानिस हो, के फाइदाको निमित त्यसो ग¥यो ? आदि दृष्टिकोणबाट मात्र स्थितिलाई हेर्नसक्छन् । यस्तो मण्डलीमा आइन्स्टाइनको सिद्धान्तभन्दा उनले कमाउन सफलता पाएको धनको परिमाणमा बढ्ता चासो लिइन्छ, भानुभक्तले जग्गाजमिन बकस पाउन नसकेकोमा उनलाई लम्फू सम्झिइन्छ, बालकृष्ण सम, देवकोटा, तुलसीमेहर, दयावीर सिंह, शुक्रराज शास्त्री, कलाकार अमर र केशव दुवाडी, बाबुराम आचार्य, बासुकी ब्रह्मचारी, भिक्षु अमृतानन्द, महानन्द सापकोटा, भेषजराज शर्मा, श्यामप्रसाद आदिलाई उपेक्षाको दृष्टिले हेरिरहन्छ– ‘हे असफल प्राणी हो, तिम्रो कति मूल्य छ ? खोइ तिम्रो पावर, खोइ मोटर, खोइ रोब–रवाफ ? भनी भनेझैं । तर, सत्य यो हो कि इतिहासमा सुब्बा, सरदार, हजुरिया र सचिवहरूले केवल पद र धनबाट स्थान पाउन सक्तैनन् । दस वर्षअघि को के थियो आज भन्न सकिन्न । सृजनात्मक चिन्तकहरू र महान् कार्य गर्नेहरूमात्र पछिसम्म सम्झिइन्छ । प्रशासनिक र प्राविधिक क्षेत्रमा पनि सृजना हुनसक्तछ, लर्ड किन्स, पार्किन्सन र महालानोविसजस्ता निस्कन सक्तछन् । कौटिल्य, म्याकावेली र टोरडरमल पनि बन्न सकिन्छ । तर, यसका लागि पनि चाहिन्छ मौलिक चिन्तन र सृजना । चिसो, निर्जीव, नियमबद्ध, रवाफिलो, सङ्कीर्ण र जडीभूत सामन्ती नोकरशाही पद्धतिमा गडेका मानिसहरूले आफूलाई जति ठूलो र महत्वपूर्ण ठानून्, पदको जोरले आफूलाई साहित्यिक, पत्रकार, उपदेशक, विद्वान् र अरु जेजे ठानून् समयले ठान्दैन । मनमा उनले स्थान पाउन्नन् । अतः इतिहासको शक्ति बन्दैनन् । रुसो, माक्र्स, गोर्की, बट्र्रेन्ड रस्सेल र शात्र्रको कलममा जति शक्ति हुनसक्तैन अड्डा कजाउने कलममा । प्रशासकीय यन्त्रको पुर्जाका रुपमा उनलाई तात्कालिक उपयोगिताको दृष्टिले मात्र हेरिन्छ । मानिसका भावहरू, विचारहरू र गतिविधिलाई प्रभावित पार्ने व्यक्तित्वको नमुना चकचकी भएको सचिव र डाइरेक्टर आदिलाई मान्न गाहारो छ, उनको आफ्नो अड्डाखानिया क्षेत्रमा महत्व जतिसुकै होस् । साक्षरता र उच्च शिक्षितहरूको सङ्ख्या बढ्दै गइरहेछ, पन्ध्र–बीस वर्षपछि कलमको शक्ति स्वीकार गर्न कर लाग्नेछ । मानिसका विविध भाव र क्रियाकलापलाई वैज्ञानिक वा विराट र गहन भावुक चित्रपटमा अङ्कित गर्नसक्ने, तर्कसम्मत व्याख्या प्रस्तुत गर्नसक्ने र देश र कालमा आइपर्ने विराट समस्याहरूको समाधान निकाल्न सक्ने व्यक्तिहरूमात्र सदा बाँच्दछन् । जीवन तिनले मात्र भोग्दछन्, देख्दछन् । पशुवत अचेतन स्वाभाविक प्रवृत्तिमा बगेर आफू र आफ्नो जगत्प्रति अचेतन नै रही, संस्कारबाट पर्न आएको स्थितिमा अल्झी, अमूल्य र एकपल्टमात्र हुने जीवन अज्ञानपूर्ण अहङ्कार, सङ्कीर्ण सङ्घर्ष, झूटो लोभ–लालसा, निरर्थक पाण्डित्य, सिद्धान्तहीन व्यवहार, साथमा लान नसकिने भू–सम्पत्ति र सुनका ढिकाहरूको सङ्ग्रह र तिनैको हिसाबकिताब र सुरक्षामा सम्पूर्ण जवानी र प्रौढावस्थामात्र होइन कि जर्जर ब्रद्धावस्थासमेत खर्च गरिरहनु, आर्यघाटमा सास निस्कन लाग्दा पनि द्रव्य, कागतपत्र आदिको गुप्तभेद उत्तराधिकारीहरूलाई सकी–नसकी बताउन तल्लीन व्यक्तिहरूले आफूलाई जति सफल ठानून्, बुद्धिमान, व्यावहारिक र भावुकताबाट बचेका ठानून् प्रकृतिले र अनन्तकालले यस्ता अरबौं–अरबौं जन्तुहरूको जन्म, गति र बिसर्जनको अटुट कथा भनिरहेछन् । हाम्रो धरतीमै यो प्रक्रिया पच्चीस–तीस सय वर्षदेखि चलिरहेछ, चल्दै हुनेछ । मलाई मेरो बाजेबारे सा¥है कम थाहा छ, उनको पनि बाबु–बाजेको त कुनै कल्पनै छैन । मेरा नातिसम्मले मलाई लेख्लान्, पनाति र उनका सन्तानले आजका पत्रपत्रिकामा बाहेक अन्त मेरो अस्तित्वको कुनै छाप पाउने छैनन् । नेपाल राष्ट्र बैङ्क नदीको तटझैं रहिरहला, रिसर्च तथा तथ्याङ्क विभाग पनि रहला तर, हाम्रो छाप हराइसक्नेछ । हामी अनादि बीज हौँ, मेरा जीवकोशहरूका क्रोमोजोम र जिन्सहरूमा आदिम जङ्गली ठसठस गन्हाउने गुफावासी मानिस होइन कि बाँदर, कछुवा, माछा र अचल वनस्पतिका जीवकोशहरूको समेत परम्परा छ, यस लामो बीज–शृङ्खलाको म एक देशकाल परिस्थितिको अवस्थामात्र हुँ, म पछि पनि लम्बिएर यो माला अगाडि गइरहन्छ अनेक रुप लिँदै । लाखौं वर्षपछिको जन्तुले तत्कालीन विज्ञानको सहारा लिएर बीसौं शताब्दीका हामी घोर सङ्कीर्ण असभ्य जन्तुहरूबारे पढ्लान्, खोज गर्लान् र हाम्रा आजका समस्या, भाव र व्यवहारहरू, हाम्रो धन–सम्पत्तिप्रतिको आशक्तिमा अडेको सभ्यता र चालचलन र मनःस्थितिबारे अध्यापकहरूले स्कूलमा बालकहरूलाई बताउँदा ती बालक हाँस्लान्, गजब मान्लान्, कसरी मानिस त्यति मूर्ख व्यवहारमा सीमित रह्यो भनी प्रश्न गर्लान् । आज हामी पिरामिडमा सुनमा ढिका र परलोकलाई चाहिने सुरा र सुन्दरीको विस्तृत बन्दोबस्त मिलाई चिहानमा गाडिने फेरोहा राजाहरूको विश्वासमा हाँस्छौँ । हाम्रा अधिकांश व्यवहार स्वयम् त्यस्तै छैनन् र ? हाम्रा आजका लगभग तीन सय करोड मानिसमा हाम्रो युगले केही गर्व गर्नसक्ने प्राणी दुई–चार हजारमात्र छन् र यिनैमध्ये केहीको नाम हजारौं वर्ष पछिसम्म रहला । यस विराटकालमा सचिव र डाइरेक्टरहरूको के पत्तो । विक्रम संवत् २०३० या २०४० साल ताकासम्ममै आजका धेरैजसो शिक्षा र पदका घमण्डीहरूको स्थान गुमिसक्ला । अर्कै थरीको चकचकी होला । पन्ध्र वर्षमा बीसौं लाख मानिस शिक्षित हुनेछन्, दसौं हजारले डिग्री लिनेछन्, सयौं विशिष्ट व्यक्ति बन्नेछन् ।
तर, निश्चय नै सम र देवकोटा कमसेकम चार–पाँच सय वर्ष जीवित रहनेछन् । विराट र गहन भावुकता तथाकथित व्यावहारिक र सफल मानिसहरूभन्दा बढ्ता व्यावहारिक र सफल हुन्छ भन्ने कुराको लागि यति नै पर्याप्त छैन त ? सामन्ती परम्पराबाट प्राप्त चेतनासँग छुटकारा लिई, वैज्ञानिक चिन्तनमा अडेको भावुकताको बाटोमा लगे हाम्रो धेरै अहङ्कारहरू मैनको मकुण्डोझैं पग्लने थिए, चुच्चाहरू बाटुला र नरम बन्ने थिए । भविष्यको दृष्टिबाट वर्तमानलाई हेर्नसक्ने थियौँ ।
समाप्त