भर्खरै :

त्रिभुवन आर्मी क्लब विजयी

काठमाडौँ, १ मङ्सिर : शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिताअन्तर्गत आज भएको दोस्रो खेलमा त्रिभुवन आर्मी क्लब विजयी भएको छ ।
हल्चोकस्थित सशस्त्र प्रहरीको खेल मैदानमा सम्पन्न खेलमा आर्मीले च्यासल युथ क्लबलाई १–० गालले पराजित गर्दै अङ्क तालिकामा महत्वपूर्ण तीन अङ्क जोडेको छ ।
आर्मीको जितमा एकमात्र गोल खेलको २७औँ मिनेटमा विकास खवासले गरेका थिए । राष्ट्रिय टोलीका युवा स्ट्राइकर विमल घर्तीमगर र घरेलु क्लब फुटबलका सर्वाधिक सफल स्ट्राइकर सन्तोष साहुखलले च्यासलको अग्रपङ्क्ति सम्हाले पनि गोल गर्न सकेनन् ।
निकै प्रतिस्पर्धात्मक बनेको खेलको १४आँै मिनेटमा च्यासलका अमीर श्रेष्ठले गरेको कडा प्रहार आर्मीका विकेश कुथुले रोकेका थिए । पहिलो हाफको अन्तिममा आर्मीका भरत खवास गोल गर्न चुके । उनले डि बक्स क्षेत्रबाट हानेको बल पोस्टको केही इञ्च माथिबाट बाहिरिएको थियो ।
४९आँै मिनेटमा सन्तोष साहुखलको फ्रिकिक आर्मीका गोलकिपर विकेश कुथुले उत्कृष्ट बचाउ गरेका थिए । ६३आँै मिनेटमा आर्मीका दिनेश हेम्जनको खाली पोस्टमा गोल गर्न सकेनन् । गोलकपिर बिट भएको अवस्थामा उनले प्रहार गरेको बल च्यासलका डिफेन्डर देवेन्द्र तामाङले गोल लाइनबाट रोकेका थिए ।
लिगमा आर्मीको यो पहिलो जित हो । उद्घाटन खेलमा न्युरोड टीम एनआरटीसँग २–२ गोलको बराबरी खेलेको आर्मीले दुई खेलबाट चार अङ्क जोडेको छ । एक अङ्क जोडेको च्यासलको यो पहिलो हार हो ।
खेलमा आर्मीका गोलकिपर विकेश कुथु म्यान अफ दि म्याच घोषित हुँदै रु १० हजार प्राप्त गरे । मङ्सिर २ गते मछिन्द्र क्लब र नेपाल पुसिल क्लबबीच पहिलो तथा ब्रिगेड ब्वाइज क्लब र थ्रीस्टार क्लबबीच दोस्रो खेल हुनेछ । दुवै खेल एन्फा कम्प्लेक्स सातदोबाटोमा हुने अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले जनाएको छ ।  (रासस)

Leave a Reply

Your email address will not be published. Required fields are marked *