भर्खरै :

“सहकारीलाई कर छुट नदिनु सरकारको गैरजिम्मेवारी”

भक्तपुर, १ मंसिर । नेपाल मजदुर किसान पार्टीका सचिव तथा सांसद प्रेम सुवालको आतिथ्यतामा थालाछेँ बचत तथा ऋण सहकारी संस्थाको एघारौं वार्षिक साधारणसभा शनिबार सम्पन्न भयो ।
कार्यक्रममा सांसद सुवालले संस्थाले नयाँ पुस्तालाई बाँसुरीवादन प्रशिक्षण सञ्चालन गर्नु राम्रो भएको चर्चा गर्दै मादललगायत अन्य वाद्यवादनहरूको पनि प्रशिक्षण सञ्चालन गर्न सुझाव दिनुभयो ।
उहाँले भन्नुभयो, ‘‘सदस्यका सन्तानहरूलाई राम्रो बाटोमा हिँडाउन संस्थाले विविध कार्यक्रमहरू सञ्चालन गर्नु आवश्यक छ ।’’
‘‘सहकारी ऐनअनुसार बचत तथा ऋण सहकारी संस्थाले पाउने राजश्व र कर छुटको व्यवस्था नगर्नु सरकारको जनताप्रति गैरजिम्मेवारी हो । ओरियन्टल पीडित जनताको बचत फिर्ता गर्न नसक्ने सरकार ठगहरूकै घेरामा रहेको पुष्टि हुन्छ’’, सांसद सुवालले भन्नुभयो ।
सांसद सुवालले जोड दिनुभयो, ‘‘नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छें (रोहित) ले लेख्नुभएको पुस्तक ‘चिनियाँ जनकम्युन’ अध्ययन गरी संस्थाले सदस्यहरूलाई प्रशिक्षित गर्नु आवश्यक छ ।’’
सरकारको उच्च राजनीतिक र प्रशासनिक संलग्नतामा भ्रष्टाचार, चेलीबेटी बेचविखन र वैदेशिक रोजगारीको नाममा युवाहरू दासजस्तै बेचविखन भइरहेको यथार्थ चर्चा गर्दै सांसद सुवालले सुन तस्करका ठूला माछा र खराब ठेकेदारहरूलाई पक्राउ गरी जेलमा थुन्नुपर्नेमा सरकारले अपराधीहरूलाई संरक्षण गरिरहेको छ भन्नुभयो ।
‘‘राजनीति देश र जनताको इमानदारीपूर्वक सेवा गर्ने क्षेत्र हो तर सरकारमा गएका पार्टीहरूले निर्वाचनमा भोज भतेर खुवाएर, पैसा र सामान बाँडेर, झूठा आश्वासन दिएर धेरै स्थानमा जिते । परिणाम सरकारहरू पञ्चायतजस्तै चलिरहेको छ । सिद्धान्तको ठाउँमा राष्ट्र बैड्ढको नोटको तागतमा पार्टी फैलाउने सरकारी दल र नेताहरूले समृद्धि ल्याउन सक्दैनन्’’ सांसद सुवालले ठोकुवा गर्नुभयो ।
नेमकिपाको घोषणापत्रअनुसार भक्तपुर नगरपालिकाले कलेजलहरू सञ्चालन गरी देशभरिका विद्यार्थीहरूलाई कम शुल्कमा उच्च शिक्षा अध्ययन गराउँदै आएको उहाँले जानकारी दिनुभयो ।
सांसद सुवालले भन्नुभयो, ‘‘नेपालमा बिजुली उत्पादन भएको १०० वर्ष नाघ्यो । बहुदलको पुनःस्थापना र गणतन्त्रपछि पनि सरकारमा गएका पार्टीहरूले नेपालको नदीनालाबाट बिजुली उत्पादन नगरी मुख्य मुख्य जलस्रोत भारतीय विस्तारवादलाई दिने र महँगोमा उसैसँग बिजुली खरिद गरेको जनद्रोही र देशद्रोही काम हो ।’’
‘‘प्रचण्डजीको दोस्रो प्रम भएको बेला दिल्लीमा २५ बुँदे संयुक्त विज्ञप्ति जारी गरी नेपालको सुरक्षा र अन्तर्राष्ट्रिय मामिला भारतलाई दिने सहमति गरेको हुँदा अहिले भारतीय विदेशमन्त्री सुष्मा स्वराजले नेपालको सेना र परराष्ट्र चलाउने दावी गर्ने आँट गरेको हो ।
भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संस्थाका जगन्नाथ प्रजापतिले सहकारी आन्दोलनमा जिल्ला बचत तथा ऋण सहकारी संस्था सक्रिय रहेको बताउनुभयो ।
विभिन्न मित्र सहकारीका प्रतिनिधिहरूले शुभकामना व्यक्त गरेको कार्यक्रममा संस्थाका ज्येष्ठ नागरिक, असल बचत कर्ता र असल ऋणीहरूलाई सम्मान गरिएको थियो ।
संस्थाका अध्यक्ष लक्ष्मीप्रसाद ह्यौंमिखाको सभापतित्वमा भएको उक्त कार्यक्रममा उपाध्यक्ष कृष्णभक्त गैडा र बदनकेशरी प्रजापतिले पनि बोल्नुभएको थियो ।
कार्यक्रममा बासुरी बाजाका प्रशिक्षक तथा प्रशिक्षार्थीहरूलाई प्रमाणपत्र वितरण गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *