भर्खरै :

मिथिलामा अक्षय नवमी पर्व सम्पन्न

– गोपालप्रसाद बराल 
बर्दिवास, २ मङ्सिर  ः महोत्तरीसहितका मिथिलाञ्चलमा अक्षय नवमी पर्व मनाइएको छ । मिथिलामा धातृ नवमी र इच्छा नवमीसमेत भनिने यो पर्व कात्तिक शुक्ल नवमी तिथिमा मनाइने परम्पराअनुसार शनिबार राति सम्पन्न गरिएको हो ।
यस पर्वमा कात्तिक शुक्ल नवमीका दिन अमला (धातृ) को रुखको फेदमा खाना खाने मैथिल परम्परा छ । पर्वमा दिउँसै बगैँचा र वन क्षेत्रका अमलाका रुखमुनि वनभोज गरिएका थिए भने घरमा अमला (धातृ) का रुख हुनेले गए राति अमलाका सहित विभिन्न परिकार पकाएर इष्टजनसहित सहभोज गर्दै यो पर्व मनाएका छन् ।
यस पर्वमा अमलाका विशेष परिकार (अचार, मुरब्बा र चटनी)सहित साकाहारी खानेकुरा मात्र भोजमा पकाएर खाने परम्परा रहेको छ । पर्वविशेषले अब चिसो मौसम छिप्पिदै जाने क्रममा खानेकुरामा गुणकारी फल अमलाको प्रयोग बढाउने सन्देश दिएको मैथिल संस्कृति परम्पराका जानकार महोत्तरीको बर्दिवास नगरपालिका–२ का कर्मकाण्डी ब्राम्ह्ण महेशकुमार झाले बताउनुभयो ।
पर्व विशेषमा खासगरी किशोर र युवा वनभोजको रमाइलो लिन वनक्षेत्रका विभिन्न पार्क र वनभोजस्थल पुग्ने गर्छन् । खासमा यो पर्वमा दिनभरि भगवान् बिष्णुको आराधना गर्दै ब्रत बसेर साँझ आफ्नै घरवरपरको अमलाको रुखमुनि सहभोज गरिने परम्परा रहेको जिल्लाकै बलवा नगरपालिकाको बलवाबजारका बासिन्दा शिवनारायण झा बताउनुहुन्छ ।
पर्व विशेषमा जिल्लाको बर्दिवास नगरक्षेत्रका कारेघोप्टे, माइस्थान, टुटेश्वर, राइमण्डल, कालापानी र गौरीडाँडा वनपार्क नजिकका वनक्षेत्रका अमलाका रुखका फेदमा सयौँ वनभोजका टोली पुगेका थिए । खानेकुरामा अमलाको नियमित प्रयोगमा जोड दिने परम्पराले यो पर्व स्वास्थ्य सचेतनाका लागि सहयोगी भएको बर्दिवास अस्पतालका मेडिकल अधिकृत डा किशोर अधिकारीको भनाइ छ ।
मिथिलामा यो पर्वलाई कुष्माण्डा नवमी र धातृनवमीसमेत भन्ने गरिएको छ । कात्तिक शुक्ल नवमीकै दिन द्वापर युगमा श्रीकृष्णले कुष्माण्डक दैत्यलाई सम्हार गरेर कङ्शवध गर्नपूर्व मधुरा, बृन्दावन र गोबद्र्धन पर्वत क्षेत्र परिक्रमा गरेका विश्वासमा कुष्माण्ड र पर्वमा अमलाको रुख र फलका परिकारको महत्व दर्शाउन मैथिलीमा अमलालाई ‘धातृ’ भनिने भएकाले धातृनवमी भनिएको मिथिला कला, साहित्य र परम्पराका ज्ञाता यस क्षेत्रका प्रसिद्ध साहित्यकार डा राजेन्द्रप्रसाद विमलको भनाइ छ ।
कात्तिक शुक्ल नवमीदेखि पूर्णिमासम्म भगवान् बिष्णु अमलाका रुखमा बस्ने हिन्दू जनविश्वास रहेको छ । अक्षय नवमीका दिन भगवान् बिष्णुको आराधनाले इच्छित कामना पूरा हुने र सन्तान सुख प्राप्त हुने हिन्दू मैथिल जनश्रुति छ । इच्छित कामना पूरा हुने भएकाले यस पर्वलाई इच्छा नवमीसमेत भन्ने गरिएको डा विमल बताउनुहुन्छ । अमला स्वस्थ्य खानाको बस्तु भएकाले यो पर्व स्वास्थ्य सचेतनाकै लागि पूर्वजले शुरु गरेका मैथिल युवा बताउँछन् । (रासस)

Leave a Reply

Your email address will not be published. Required fields are marked *