भर्खरै :

चीनमा भूमि समस्यालाई कसरी हल गरियो ?–२

कृष्णदास श्रेष्ठ
भूमिसुधारको कार्यान्वयन र त्यसको परिणाम
उपरोक्त विशेषताहरूबाट कुन कुरा छर्लङ्ग हुन्छ भने उक्त भूमिसुधार कार्यक्रम श्रमजीवी किसानहरूका जीवन्त हितहरूको अनुरुप थियो र त्यसबाट नोक्सानमा पर्नेहरू मुठ्ठीभर सामन्ती शोषक, क्रान्तिविरोधी र साम्राज्य–परस्त तत्वहरूमात्र थिए । भूमिसुधारको कार्यान्वयनको लागि चिनियाँ कम्युनिष्ट पार्टीद्वारा व्यापक किसान जनतालाई क्रियाशील बनाइयो र उनीहरूलाई सामन्त–विरोधी सङ्घर्षमा सङ्गठित पारियो । त्यस सम्बन्धमा पार्टीद्वारा अपनाइएको जन–नीति ‘गरिब किसान तथा खेतीहरू मजदुरहरूमाथि भर गर्ने, मध्यम किसानहरूलाई एकताबद्ध पार्ने र धनी किसानहरूलाई तटस्थ पार्ने’ नीति थियो । देशव्यापी रुपमा एक सामन्त–विरोधी संयुक्त मोर्चाको निर्माण भयो र भूमिसुधारको कार्यान्वयन एक राष्ट्रव्यापी जनान्दोलन बन्यो, जुन चिनियाँ जनताको क्रान्तिकारी आन्दोलनको इतिहासमा महान् गौरवपूर्ण अध्याय थियो ।
भूमिसुधार कार्यक्रमको सफल कार्यान्वयन चिनियाँ जनताको निम्ति ज्यादै ठूलो ऐतिहासिक विजय थियो । सो सफल कार्यान्वयनको फलस्वरुप चीनका युगौंयुगदेखि चुसिएका, थिचिएका र सताइएका करोडौं किसानहरूले वास्तविक मुक्तिको स्वास फेर्न पाए र उनीहरूको चिर आकाङ्क्षित सपना, आफूद्वारा जोतिएका जग्गाको मालिक आफैं बन्ने सपनाले साकार रुप लियो । जुन कुराको लागि, सामन्ती बन्धनबाट जुन मुक्तिको लागि चीनका किसानहरूले लामो समयदेखिन् कठोर सङ्घर्ष गर्दै आएका थिए । त्यो उनीहरूले चिनियाँ मजदुर वर्ग र त्यसको पार्टी, चिनियाँ कम्युनिष्ट पार्टीको नेतृत्वमा प्राप्त गरे ।
त्यस विजयको फलस्वरुप चिनियाँ किसानहरू आफूद्वारा जोतिएको जमिनको मालिक आफू नै बने, कूतको रुपमा लाखौं टन बर्सेनि तिर्दै आएको अब तिर्नु नपर्ने भयो । उनीह्रू ऋणबाट पूरा रुपमा मुक्त भए, आफ्नो पसिना र श्रमबाट पैदा भएको उब्जनीको भोग आफैले गर्ने भए । तसर्थ, स्वाभाविक रुपमा उनीहरूको जीवन–स्तर पहिलेभन्दा निकै उठ्न गयो । सामन्ती बन्धनबाट मुक्तिले उनीहरूमा कृषि उत्पादनलाई बढाउने ठूलो उत्साह पैदा गरिदियो र फलस्वरुप कृषि उत्पादनमा पनि केही हदसम्म वृद्धि भयो । अब ओद्योगिक उपजहरूको निम्ति एउटा विस्तृत बजार खुल्यो र साथै देशको औद्योगीकरणका निम्ति फराकिलो बाटो तयार हुन गयो ।
भूमिसुधार कार्यक्रमपछि मात्र लागू गरिने भएका, अल्पसङ्ख्यक जातिहरू रहेका केही ठाउँहरूमा छोडेर अरु सारा ठाउँमा तीन वर्षको छोटो अवधिभित्र, १९४९–५२ को समयभित्र भूमिसुधार कार्यलाई पूरा गरियो । राष्ट्रको जीवनमा तीन वर्षको समय हाम्रो एक सेकेण्ड जति पनि महत्व राख्दैन, तर सो समयभित्र चिनियाँ जनताले पुरानो सामाजिक व्यवस्थालाई पूरै रुपमा मिटाएर नयाँ व्यवस्थालाई स्थापित गर्ने महान् ऐतिहासिक कार्य पूरा गरे । उनीहरू एउटा पूरै ऐतिहासिक युगलाई पार गरेर नयाँ युगमा पदार्पण गरे ।
भूमिसुधारको सफल कार्यान्वयनबाट चीनका ग्रामीण इलाकाको वर्ग–बनोटमा पनि ठूलो परिवर्तन आयो । अब किसानहरूको शोषणबाट शोखिन जीवन बिताउने सामन्त तथा अभिजात वर्गको अस्तित्व साफ रुपमा मेटियो, खेतीहर मजदुर र गरिब किसानहरूको सङ्ख्यामा मध्यम किसानहरूको सङ्ख्या निकै नै घट्यो र त्यस्तै धनी किसानहरूको सङ्ख्या पनि । ग्रामीण क्षेत्रमा ठूलो सङ्ख्यामा मध्यम किसानहरू देखा परे र तिनीहरूको सङ्ख्या कूल ग्रामीण जनसङ्ख्याको ६२ प्रतिशत जति पुग्यो ।
किसान भूस्वामित्वको स्थापनापछि कृषिको सामु दुईवटा दिशा रहे । पुँजीवादी दिशा र गैर–पुँजीवादी समाजवादी दिशा । कृषिलाई कुन दिशातिर विकसित गर्ने भन्ने सवाल प्रमुखरुपमा देखाप¥यो । भूमि वितरणपछि किसानहरू जमिनका मालिक भई उत्पादनमा केही वृद्धि भए तापनि ससानो मात्रामा उत्पादन हुञ्जेल यो वृद्धि केही सीमासम्म मात्र हुन सम्भव थियो । असङ्ख्य सङ्ख्यामा छरिएर रहेका स–साना खेतहरू कृषिको अरु विकासमा बाधक रुपमा थिए । किनभने यस्ता खेतहरू मेसिनहरूको प्रयोगको लागि र वैज्ञानिक ढङ्गको खेतीको लागि बिलकुल अयोग्य थिए । फेरि सानो–किसान अर्थतन्त्रले देशमा औद्योगिक विकासका आधिकाधिक रुपमा बढ्दो आवश्यकताहरूलाई पूर्ति गर्न एकदमै सक्दैनथ्यो ।
अर्को कुरा, स–सानो रुपमा हुने उत्पादनले स्वभावतः पुँजीवादको विकास गर्छ, त्यो त्यस्तो मलिलो जग्गा हो जसबाट पुँजीवादको जन्म हुन्छ र आफ्नो वृद्धिको लागि त्यसले पौष्टिक आधार पाउँछ । एकातिर मुठ्ठीभर धनी मानिसहरू र अर्कोतिर विशाल सङ्ख्यामा गरिब, साधनहीन मानिसहरू पैदा गर्नु नै सानो उत्पादनको स्वाभाविक प्रवृत्ति रहन्छ । तसर्थ, भूमि वितरणपछि किसानहरूको वैयक्तिक अर्थतन्त्रलाई आफ्नै बाटो लिन स्वतन्त्र छोडिदिएमा खेतीमा पुँजीवादको विकास हुन्थ्यो र विशाल सङ्ख्यामा किसानहरू खेतीहर मजदुरमा परिणत हुन गई उनीहरू सामन्ती शोषणको सट्टामा पुँजीवादी शोषणका सिकार बन्न जाने थिए ।
तर पुँजीवादी विकास हुने हो वा समाजवादी दिशामा विकास भन्ने कुराले निर्णयात्मक भूमिका खेल्दछ । यो साँचो हो कि किसानी भूस्वामित्वको स्थापना कृषिमा पुँजीवादको विकासलाई मद्दत पु¥याउने चीज हो, तर मजदुर वर्ग र त्यसको पार्टीको नेतृत्वमा यो समाजवादतिर पनि विकसित हुनसक्छ र हुन्छ , जनु कुरालाई चीनमा सत्य सावित गरियो ।
समाजवादतर्फ विकास
भूमिसुधारपछि चिनियाँ कम्युनिष्ट पार्टीले चीनका किसानहरूलाई समाजवादी दिशातिर बढाउन कदमहरू उठायो । जुन पार्टीको उद्देश्य जनवादी क्रान्ति पूरा गरी त्यसलाई समाजवादी क्रान्तिमा परिणत गर्नु थियो । त्यस पार्टीले निश्चय पनि किसानहरूलाई पुँजीवादी शोषण तथा उत्पादनमुनि लामो समयसम्म पिसाएर लैजाने नीति अपनाउने सवालै थिएन । तसर्थ विकासको गैर–पुँजीवादी बाटोबाट कृषिको विकास गर्न किसानहरूको सङ्घर्षलाई सङ्गठित गरियो । यो अर्को क्रान्ति, कृषिमा समाजवादी क्रान्तिको लागि तयारी थियो । त्यस क्रान्तिको लागि आवश्यक अवस्थाहरूको रुपमा समाजवादी उपकरणहरू पनि विद्यमान थिए । ती समाजवादी उपकरणहरू, माओ त्सेतुङ्गको शब्दमा, ‘‘समस्त देशमा मजदुर वर्ग र कम्युनिष्ट पार्टीको बढ्दो राजनीतिक ओजन, किसान वर्ग, बुद्धिजीवी समुदाय र सहरिया निम्न–पुँजीपति वर्गबाट मान्यता पाइसकेको वा पाउन सकिने सर्वहारा वर्ग र कम्युनिष्ट पार्टीको नेतृत्व र लोक गणराज्यका राजकीय उद्योगधन्दाहरू र श्रमिक जनताका सहकारी संस्थाहरू हुन् । यी सबै समाजवादी उपकरण हुन् । अनुकूल अन्तर्राष्ट्रिय परिस्थितिसहित यी उपकरणहरूले कुन कुरालाई आवश्यकीय रुपमा ज्यादा सम्भव पार्छन् भने चिनियाँ पुँजीवादी–जनवादी क्रान्ति अन्तमा पुँजीवादी भविष्यलाई नाघेर समाजवादको सिद्धीकरणतर्फ बढ्ने छ ।” (चिनियाँ क्रान्ति र चिनियाँ कम्युनिष्ट पार्टीबाट उद्धृत )
चीनमा कृषिको समाजवादी रुपान्तरणलाई विभिन्न चरणहरूमा पूरा गरियो । सो काम कहिले पनि कुनै पनि रुपमा माथिबाट, शक्तिको प्रयोगबाट आदेश र हुकुमहरूबाट गरिएन, जस्तो कि साम्राज्यवादीहरू र विभिन्न देशका प्रतिगामी तत्वहरू चीनको बद्नाम गर्न घाँटी सुक्ने गरी प्रचार गर्छन् र गर्दैछन् । त्यसको लागि चीनमा अपनाइएको तरिका आग्रह र शिक्षाको तरिका थियो । सो कामलाई विभिन्न चरणहरूमा पूरा गरिनु नै त्यसको राम्रो दृष्टान्त थियो र यसो गर्नाको उद्देश्य ‘किसानहरूको आफ्नै व्यक्तिगत अनुभवद्वारा उनीहरूको समाजवादी चेतनालाई स्थिर रुपमा उठाउनु, बिस्तार–बिस्तार उनीहरूको जीवन–पद्धतिलाई बदल्नु र उनीहरूको जीवन–पद्धतिलाई अकस्मात् बदलिँदै छ भन्ने भावनालाई कम पार्नु थियो । (हेर्नुहोस् माओ त्सेतुङ, “कृषि सहकारिताको सवाल” )
कृषिमा समाजवादी क्रान्तिलाई सिद्ध गर्न चिनियाँ किसानहरूले जुन सङ्क्रमणका चरणहरू पार गरे, ती निम्न हुन् ः
१) कृषि पारस्परिक सहयोग दल । भूमिसुधारपछि तुरुन्तै किसानहरूलाई पारस्परिक सहयोग दलहरूमा सङ्गठित गर्ने काम थालियो । पारस्परिक सहयोगको आधारमा काम गर्ने चलन चीनका किसानहरूमा लामो समयदेखि नै चल्दै आएको चलन हुनाले त्यस्ता दलहरू सजिलैसित किसानहरूको बीचमा लोकप्रिय भए र विशाल सङ्ख्यामा किसानहरू ती दलहरूमा सङ्गठित भए, ती दलहरूमा किसानहरू साथसाथ मिलेर काम गर्दथे, एकले अर्कोलाई मद्दत गर्दथे, कामका दिनहरूको विनियम गर्दथे । बढी श्रमशक्ति हुनेहरूले श्रमशक्ति कम हुनेहरूको जमिनमा काम गरिदिन्थे । तर जमिन, पशु आदि उत्पादनका साधनहरू किसानहरूका आ–आफ्नै निजी सम्पति थिए र जमिनबाट हुने उब्जनीमा उनीहरूको आ–आफ्नो अधिकार हुन्थ्यो । उक्त दलहरू व्यक्तिगत सम्पतिमा आधारित थिए र त्यसैले समाजवादी स्वरुपका थिएनन् । तर खेतीहरू ‘एक प्रकारको प्रारम्भिक समाजवाद’ अर्थात् समाजवादको प्रारम्भिक अवस्था थिए । सामन्ती बन्धनबाट भर्खर मुक्त भएका किसानहरूको लागि उक्त दलहरू समाजवादी शिक्षाको प्रारम्भिक पाठशाला बने, जहाँ उनीहरूले समाजवादको प्रारम्भिक ज्ञान हासिल गरे र सामूहिक श्रम गर्ने बानी सिके ।
२) पारस्परिक सहयोग दलहरूबाट कृषि उत्पादनमा केही वृद्धि गर्न मद्दत हुन गए तापनि तिनीहरूमा रहेका विकेन्द्रीय प्रबन्धको कारण श्रमको उत्पादकत्वमा हुने वृद्धि थोरबहुत मात्रामा सीमित नै थियो । फेरि जमिन र अरु उत्पादन–साधनहरूमा निजी स्वामित्व रहनाले , पुँजीवादतर्फको विकास अर्थात् किसानहरूलाई पुँजीपति र भूमिहीन मजदुरमा विभाजित पार्ने प्रक्रिया रोकिने अवस्थामा थिएन । जति जति उत्पादक शक्तिहरूको विकास हुँदै गयो त्यति मात्रामा उक्त दलहरूका सीमित स्वरुप तथा निहित कमजोरीहरू प्रस्ट हुँदै गए र कृषिमा उच्च उत्पादन–सङ्गठनको आवश्यकता पर्न गयो र फलस्वरुप प्रारम्भिक कृषि उत्पादक सहकारी संस्थाहरूको उदय भयो ।
सो सहकारी संस्थाले आफ्ना सदस्यहरूको जमिनलाई हिस्साको रुपमा एउटै ठाउँमा ल्याई केन्द्रीय रुपमा त्यसको प्रबन्ध ग¥यो र यसरी विकेन्द्रीय प्रबन्धलाई हटायो । जमिन तथा उत्पादनका साधनहरूमाथि संस्थाको केन्द्रीय नियन्त्रण रहन गयो, तर तिनीहरूमा निजी स्वामित्व अझसम्म कायमै रह्यो । जमिनबाट हुने आम्दानीमध्येबाट केही भाग सदस्यहरूको जमिनको परिमाणअनुसार उनीहरूलाई लाभांशको रुपमा दिइन्थ्यो, केही भाग रिजर्भ तथा कल्याणकारी कोषको लागि छुट्याइन्थ्यो र त्यसको अधिकांश भाग सहकारी सदस्यहरूद्वारा गरिएको कामको परिमाण तथा गुणअनुसार वितरण गरिन्थ्यो । यहाँ वितरणसम्बन्धी समाजवादी सिद्धान्त, हरेकलाई उसको कामअनुसारको सिद्धान्तलाई आँशिक रुपमा लागू गरियो र यसरी समाजवादी उपकरण र निजी स्वामित्व साथसाथ रहनाले उक्त संस्थाहरू अर्ध–समाजवादी थिए ।
उत्पादन–साधनहरूको केन्द्रीय रुपमा प्रबन्ध भएबाट जमिन र मानवीय श्रमशक्तिलाई उचित तथा विवेकपूर्ण ढङ्गले उपयोग गर्न सकियो । चीनका ग्रामीण इलाकाहरूमा उक्त अर्ध–समाजवादी सहकारी संस्थाहरूको गठन गर्ने काम १९५३ देखि १९५५ को अवधिमा पूरा गरियो ।
३) समाजवादी सहकारिता । अर्ध–समाजवादी सहकारी संस्थाहरूमा रहेका समाजवादी उपकरण र निजी स्वामित्व प।रस्परमा मेल नखाने चीज थिए र तिनीहरूको बीचमा रहेको बेमेल कृषि उत्पादक शक्तिहरूको अरु विकासमा बाधा हुन गयो । यस बेमेललाई हटाउन जरुरी बनेकोले, अर्ध–समाजवादी संस्थाहरूलाई ठूल–ठूला पूरै समाजवादी सहकारी संस्थाहरूमा विकसित गरियो र यो काम छ महिनाको छोटो अवधिमा अर्थात् जनवरीदेखि जून, १९५६ सम्ममा पूरा गरियो ।
यो सहकारी संस्था “कम्युनिष्ट पार्टी तथा जन–सरकारको निर्देशन तथा सहयोगमा श्रमजीवी किसानहरूद्वारा इच्छित तथा परस्पर–फाइदाजनक आधारमा बनाइएको समाजवादी, सामूहिक आर्थिक सङ्गठन हो ।” (‘‘उच्च कृषि उत्पादक सहकारी संस्थाको लागि आदर्श नियमहरू’’को धारा १ ) सहकारी सदस्यहरूका सारा मुख्य मुख्य उत्पादनका साधनहरूलाई सहकारी संस्थाको सामूहिक सम्पत्तिमा परिणत गरियो । सहकारी संस्थाको समस्त आम्दानीबाट उत्पादन तथा प्रबन्ध खर्च, रिजर्भ कोष, सार्वजनिक कल्याणकारी कोष र सरकारलाई तिर्नुपर्ने कर कटाएर बाँकी भाग सहकारी सदस्यहरूमा, हरेकलाई उसको कामअनुसार “बढी काम गर्नेको बढी आम्दानी” को समाजवादी सिद्धान्त मुताविक,समान कामको लागि समान तलबको आधारमा वितरण गरिन्थ्यो । कृषि विकासको बाटोमा तगारो बनेको उत्पादन–साधनहरूमा निजी स्वामित्वलाई हटाइएको हुनाले उत्पादक शक्तिहरूको विकासको निम्ति विशाल सम्भावनाहरू पैदा भए र वितरणसम्बन्धी समाजवादी सिद्धान्तलाई पूरै लागू गरिनाले किसानहरूको उत्साहलाई अरु ज्यादा बढाइदियो । अब सहकारी संस्थाहरू जमिनको उन्नति, सिंचाइ कार्य आदि कृषि विकासका कतिपय कामहरूको लागि बढी पुँजी लगाउन सक्ने भए, फलस्वरुप कृषि उत्पादनमा निकै वृद्धि भयो र साथै किसानहरूको जीवनस्तर पनि उठ्न गयो ।
त्यसरी, विभिन्न चरणहरूमा कृषिको समाजवादी रुपान्तरण गर्ने कामलाई १९५६ मा पूरा गरियो । पारस्परिक सहयोग, दलबाट अर्ध–समाजवादी सहकारी संस्था र अनि त्यसबाट पूरै समाजवादी सहकारी संस्था–– समाजवादी रुपान्तरणमा किसानहरूद्वारा पार गरिएको बाटो त्यही थियो । त्यो क्रान्तिको इतिहासमा महान् ऐतिहासिक महत्वको अर्को घटना थियो ।
जनकम्युन
१९५८ साल चीनको इतिहासमा एक ज्यादै महत्वपूर्ण साल रह्यो, किनभने त्यो चीनका ग्रामीण इलाकाहरूमा जन–कम्युनहरूको स्थापना गर्न राष्ट्रव्यापी आन्दोलन चलेको साल थियो । थोरै समयमा नै ५० करोडभन्दा बढी किसानहरू भएका ग्रामीण क्षेत्रमा उच्च कृषि उत्पादक सहकारी संस्थाहरूको आधारमा जन–कम्युनहरूको स्थापना भयो, जुन एक महान् सामाजिक परिवर्तनको प्रवर्तन थियो ।
समाजवादी सहकारी संस्थाहरू कृषि उत्पादनमा वृद्धि गर्न सहायक सिद्ध भए तापनि तिनीहरूका आफ्ना सीमाहरू थिए । ठूल–ठूला जल संरक्षण कार्यहरूको निर्माण गर्न, कृषिको आधुनिकीकरण तथा यन्त्रीकरण गर्न, प्राकृतिक साधनस्रोतहरूलाई विस्तृत रुपमा उपयोग गर्न र विविधतापूर्ण अर्थतन्त्रको विकास गर्न ती बिलकुल असमर्थ थिए । ती संस्थाहरूको सानो रुप र कृषिको तीव्र विकासको सामु रहेका कार्यहरूको विशालताको बीचमा ठूलो अन्तर्विरोध रहेको थियो । यस अन्तर्विरोधलाई हल गर्न उक्त संस्थाहरूलाई व्यापक पार्नु आवश्यक थियो । यही आवश्यकताले गर्दा सहकारी संस्थाहरूको विलयनबाट जनकम्युनको उदय भएको हो । तसर्थ जनकम्युन चीनमा भएको विकासको स्वाभाविक परिणाम थियो ।
जनकम्युनको स्थापनाको फलस्वरुप उत्पादनमा वृद्धि हुन गयो र किसानहरूको जीवनस्तर पनि माथि उठ्यो । तर कम्युनको महत्व त्यतिमा मात्र सीमित थिएन । त्यो उत्पादन सङ्गठनको एउटा रुपमात्र नभई ‘समाजवादी सामाजिक ढाँचाको आधारभूत एकाइ’ र साथै ‘राज्यशक्तिको आधारभूत एकाइ’ पनि थियो । चिनियाँ जनताको निम्ति त्यो एउटा यस्तो तारा थियो जसले उनीहरूलाई उज्ज्वल भविष्यतिर माार्गदर्शित गरेको छ । कम्युनको यस महत्वलाई देखाउँदै चिनियाँ कम्युनिष्ट पार्टीको केन्द्रीय कमिटीको बैठक (नोभेम्बर २८ देखि डिसेम्बर १०, १९८५) द्वारा पारित एक प्रस्तावमा भनिएको छः “यसले ग्रामीण इलाकाहरूको क्रमिक औद्योगीकरण गर्ने बाटो,…. हरेकलाई उसको कामअनुसारको समाजवादी सिद्धान्तबाट “हरेकलाई यसका आवश्यकताअनुसार” को कम्युनिष्ट सिद्धान्तमा क्रमिक सङ्क्रमण गर्ने बाटो, सहर र गाउँबीचको, मजदुर र किसानबीचको, मानसिक र शारीरिक श्रमबीचको भेदलाई विस्तारै कम पारी अन्तमा खतम पार्ने बाटो र राज्यको आन्तरिक कार्यलाई विस्तारै कम पारी अन्तमा खतम पार्ने बाटो देखाएको छ ।”
जनकम्युनको स्थापनाले कृषिको आधुनिकीकरण र यन्त्रीकरण गर्न र ठूल–ठूला सिंचाइ तथा जल संरक्षण योजनाहरू कार्यान्वित गर्न विशाल सम्भावनाहरू पैदा गरिदियो । यस सम्बन्धमा कम्युन–स्थापनादेखिन् अहिलेसम्ममा ठूल–ठूला सफलताहरू हासिल गरिएका छन् । कम्युनको कार्यक्षेत्र कृषिमा मात्र सीमित नभई उद्योग, व्यापार आदिसम्म फैलिएको छ । आफ्ना क्षेत्रको श्रमशक्तिको उचित अंशलाई उद्योगतिर लगाउँदै कम्युनहरूले हजारौं स–साना कारखानाहरूको निर्माण गरेका छन् । यसरी ग्रामीण औद्योगीकरणको गा¥हो कामलाई पूरा गर्नमा कम्युनहरूबाट ज्यादै महत्वपूर्ण भूमिका खेलिदै छन् । सारांशमा, कम्युनको स्थापना हर कम्युनभित्रका सारा प्राकृतिक साधनस्रोतहरूको विकास गर्नमा ठूलो सहायक सिद्ध भएको छ ।
कम्युनहरूद्वारा स्थापित ठूलो सङ्ख्यामा सार्वजनिक भोजनालय, शिशुगृह आदिले महिलाहरूलाई भान्छाको कामबाट मुक्त गरेका छन् । यस मुक्तिको फलस्वरुप महिलाहरूले वास्तविक रुपमा पुरुषहरूको बराबरीमा आफूलाई पाएका छन् र आफ्नो विकास गर्ने पूरा अवसर उनीहरूलाई उपलब्ध भएको छ । फेरि ‘बुढा–बुढीहरूका घरहरू’ को स्थापना गरिनाले बुढा–बुढीहरू आफ्ना जीवनको अन्तिम भाग आनन्दपूर्वक बिताउँछन् ।
उत्पादन खर्च र सरकारलाई बुझाउनुपर्ने करहरूको रकम कटाएर कम्युनको आम्दानीबाट एक भाग नयाँ अरु विकासको लागि ‘सञ्चयकोष’ मा जम्मा गरिन्छ । कम्युन सदस्यहरू मुख्य रुपमा ‘हरेकलाई उसको कामअनुसार र बढी काम गर्नेको बढी आम्दानी’ को समाजवादी सिद्धान्त मुताविक आम्दानी गर्दछन्, त्यसबाहेक उनीहरू मुक्त पूर्ति प्रथा (ँचभभ कगउउथि कथकतझ) अर्थात् ‘आवश्यकताअनुसार’ को कम्युनिष्ट सिद्धान्तमुताविक पनि आम्दानी गर्छन् । यसरी कम्युनमा ‘कामअनुसार वितरण’ र आवश्यकताअनुसार वितरण’ का वितरणसम्बन्धी दुवै सिद्धान्त अपनाइएको छ । ‘आवश्यकताअनुसार’ को लागि परिस्थिति परिपक्व नभइसकेको हुनाले ज्यादा बल पहिलोमाथि दिइएको छ ।
कम्युन–स्थापना भएको एक सालपछि देखिन् लगातार तीन सालसम्म अर्थात् १९६१ सम्म चीनमा ठूला प्राकृतिक प्रकोपहरू आइपर्नाले कृषि उत्पादन निकै नै घट्न गयो । यी प्राकृतिक प्रकोपहरूबाट उत्पन्न बाधाहरूमाथि विजय प्राप्त गर्ने काममा जन–कम्युनहरूले महत्वपूर्ण भूमिका खेले, उक्त प्रकोपहरूको विरुद्ध जुन व्यापक सङ्घर्ष चलाइयो । त्यसमा जन–कम्युनहरूको जीवनदायिनी शक्ति र योग्यता प्रमाणित हुन गयो र त्यस सङ्घर्षबाट तिनीहरू अधिक बलियो र दरिलो बने । स्वयं प्रकृतिद्वारा लिइएको कठिन परीक्षामा राम्रोसित उत्तीर्ण भएर जन–कम्युनहरूले आफूलाई चिनियाँ समाजवादी समाजको विकासार्थ सर्वोत्तम रुप सावित गरेका छन् ।
१९६१ देखिन् बर्सेनि चीनमा कृषि बढ्दै गइरहेको छ । जन–कम्युनको स्थापनाको फलस्वरुप विगत सात वर्षभित्रमा कृषि, उद्योग, शिक्षा तथा संस्कृति आदि क्षेत्रमा चीनले ठूल–ठूला सफलताहरू हासिल गरेका छन् । सारांशमा, जन–कम्युन चीनको आर्थिक समृद्धि, जन–जीवनस्तरमा वृद्धि, ग्रामीण इलाकामा समाजवादी स्थितिहरूलाई दरो पार्ने काम, व्यापक जनतालाई समाजवादी शिक्षाद्वारा शिक्षित पार्न आदिको लागि ज्यादै नै सहायक सिद्ध भएको छ ।
भूमि समस्यालाई हल गर्न चीनमा अनुसरण गरिएको बाटो–जुन विकासको गैर–पुँजीवादी बाटो हो–यही हो । भूमि समस्याको यस उचित समाधानको फलस्वरुप नै चीनको औद्योगीकरणको लागि दरो आधार खडा गर्न सकिएको छ । अहिले चिनियाँ जनता सम्पूर्ण चीनको अर्थतन्त्रलाई आधुनिक प्राविधिक आधारमा खडा गर्नेतर्फ बढिरहेका छन् । चीनमा अहिले अपनाइएको सामान्य नीति कृषिलाई आधार र उद्योगलाई नेतृत्वकारी उपकरण मान्ने नीति रहेको छ ।
१५÷१६ वर्षको छोटो अवधिमा चीनद्वारा हासिल गरिएको प्रगति निश्चय नै सबैको निम्ति चमत्कार बनेको छ । यो अवधि चीनका लागि त्यस्तो अवधि रहेको छ जसमा, माक्र्सको शब्दमा, “बीस वर्ष एकदिनमा केन्द्रीभूत हुन्छन् ।” यो अवधि चिनियाँ जनताको निम्ति ठूल–ठूला उपलब्धिहरूको अवधि रहेको छ । चिनियाँ जनता अहिलेसम्म प्राप्त उपलब्धिहरूमा सन्तुष्ट भएर रहेका छैनन्, तर झन् ठूल–ठूला सफलताहरूको लागि पूरा उत्साह तथा प्रयत्नका साथ अगाडि लम्कँदै छन् । विगत वर्षहरूमा उनीहरूले पाएका सफलताहरूबाट सजिलैसित के भन्न सकिन्छ भने आउने वर्षहरूले उनीहरूलाई ठूला सफलताहरूको कोसेली ल्याउनेछन् । आफ्ना प्रयत्नहरूमा सफलताका निम्ति उनीहरूलाई भरपर्दो ग्यारन्टी प्राप्त छ–त्यो हो लामो समयको कठिन सङ्घर्षमा खारिएको र इस्पातजस्तै सुदृढ बनेको चिनियाँ कम्युनिष्ट पार्टीको नेतृत्व ।
(साप्ताहिक मातृभूमि वर्ष ४ अङ्क १, २०२२÷२÷२९ को भूमिसुधार विशेषाङ्कबाट उद्धृत)
समाप्त

Leave a Reply

Your email address will not be published. Required fields are marked *