भर्खरै :

पद्म कप भलिबल सुरु

भक्तपुर, २ मंसिर । पद्म माविको ९१ औं र पद्म कलेजको नवौँ वार्षिक जयन्तीको अवसरमा आयोजित पद्म कप भलिबल उद्घाटन कार्यक्रम आइतबार सम्पन्न भयो ।
कार्यक्रम उद्घाटन गर्दै भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले खेलकुद मित्रता र अनुशासनको लागि हुनुपर्नेमा जोड दिँदै खेलकुदले शारीरिक र मानसिक विकासमा मद्दत गर्छ भन्नुभयो ।
शिक्षा र खेलकुदलाई सँगसँगै लाने विद्यार्थी तुलनात्मक रुपमा अगाडि बढ्ने उल्लेख गर्दै उहाँले खेलको माध्यमबाट देश र समाजलाई योगदान गर्ने भावनाले खेल खेल्नुपर्नेमा जोड दिनुभयो ।
प्रमुख प्रजापतिले भन्नुभयो, ‘‘भनपाले खेलकुदलाई प्राथमिकतामा राखेर समय–समयमा खेलकुद प्रतियोगिताहरु सञ्चालन गरिरहेको र खेलाडीहरुलाई उत्साहित गर्न भनपाले खेलकुद गतिविधि गर्ने समूहहरुलाई आर्थिक सहयोगको नीति तयार गरेको छ ।’’
स्थानीय खेलको संरक्षणको लागि प्रतियोगिताहरु सञ्चालन गर्नुपर्ने आवश्यकता औल्याउँदै उहाँले हरेक युवाहरु कुनै न कुनै खेलमा भाग
लिनुपर्ने बताउनुभयो।
युवा खेलकुद समिति भनपाका अध्यक्ष एवं वडा नं. १ का वडा अध्यक्ष श्यामकृष्ण खत्रीले खेलकुद विकासको लागि भनपाले खेलकुदका विभिन्न गतिविधिहरु सञ्चालन गरिरहेको बताउनुभयो ।
वडा नं. ३ का वडा अध्यक्ष राजकृष्ण गोराले विद्यार्थी भविष्यका कर्णधार भएको हुँदा विद्यार्थी जीवनदेखि अनुशासित भएर खेल खेल्नुपर्ने बताउनुभयो ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बाबुराजा जोशीको सभापतित्वमा भएको उक्त कार्यक्रममा राष्ट्रिय भलिबल सङ्घका उपाध्यक्ष निरज मास्के, जिल्ला भलिबल सङ्घका अध्यक्ष विनोदचरण राय, भलिबलका अन्तर्राष्ट्रिय रेफ्री गौतमप्रसाद लासिवाले पनि बोल्नुभएको थियो ।
कार्यक्रममा विद्यालयका प्राचार्य राम हाडाले स्वागत गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *