सुभा, फिजी, २ मंसिर (एएफपी) । फिजीका प्रधानमन्त्री फ्रान्क बेनीमारामाको फिजीफस्र्ट पार्टीलाई संसदमा झिनो बहुमत प्राप्त भएको छ । फिजीको निर्वाचन आयोगका अनुसार फिजीफस्र्ट पार्टीले संसद्मा तीन सीट बढी स्थान जीतेको छ ।
फिजीमा चार दिनअघि संसद्को निर्वाचन भएको थियो ।
बेनीमारामा सन् २००६ देखि फिजीको प्रधानमन्त्री हुनुहुन्छ । हाल न्यूजिल्यान्डमा रहेका बेनीमारामाले एक सञ्चारमाध्यमलाई अन्तर्वार्ता दिँदै पुनःबहुमत प्राप्त गरी जनताको सेवा गर्ने मौका पाएकामा मतदाताप्रति आभार व्यक्त गर्नुभएको छ ।
फिजीफस्र्ट पार्टीले चुनावमा ५०.०२ प्रतिशत मत प्राप्त गरेको थियो । उक्त मतका आधारमा फिजीफस्र्ट पार्टीले २७ स्थान जितेको छ । पूर्वप्रधानमन्त्री सिटीबेनी राबुकाको नेतृत्वमा रहेको मुख्य विपक्षी दल सोडेल्पा पार्टीले ३९.८ प्रतिशत मत प्राप्त गरेको छ । साथै, नेसनल फेडेरेसन पार्टीले ७.३८ प्रतिशत मत पाएको छ । ५१ कूल स्थान रहेको फिजीको संसदमा विपक्षी दलले २४ स्थान पाएका छन् ।
यसअघि सन् २०१४ मा भएको संसदीय चुनावमा फिजीफस्र्ट पार्टीले ५९.१७ प्रतिशत मत प्राप्त गरेको थियो । अन्तर्राष्ट्रिय पर्यवेक्षकले यस पटकको चुनाव विगतको तुलनामा बढी स्वच्छ र पारदर्शी भएको बताएका छन् ।
सन् २००६ मा रक्तपातविहीन विद्रोह गरी सत्तासीन हुनुभएका बेनीमारामाले पहिलोपटक सन् २०१४ मा चुनाव गराउनुभएको थियो । विगतमा सैनिक सेवाबाट राजनीतिमा प्रवेश गरे पनि उहाँले पछिल्ला वर्षहरूमा फिजीको राजनीतिलाई प्रजातान्त्रिकीकरण गर्नुभएको छ ।