भर्खरै :

इटहरी उपमहानगरपालिकाका प्रमुख चौधरी भक्तपुरमा

भक्तपुर, ३ मंसिर । भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिसँग इटहरी उपमहा–नगरपालिका सुनसरीका प्रमुख द्वारिकलाल चौधरीको नेतृत्वमा आएको प्रतिनिधिमण्डलले सोमबार भेट ग¥यो ।
भेटमा प्रमुख प्रजापतिले भक्तपुर नगरपालिकाका जनप्रतिनिधिहरूले देश र जनताको निःस्वार्थ सेवा गर्ने नेपाल मजदुर किसान पार्टीको सिद्धान्तअनुसार स्थानीय जनतालाई परिचालन गरी नगर र नगरवासीहरूको सेवा गरिरहेको बताउनुभयो ।
भनपाले विकास निर्माण र सम्पदा संरक्षण कार्य उपभोक्ता समितिमार्फत आर्थिक अनुशासन कायम राखी पारदर्शी ढङ्गले गर्दै आएको जानकारी गराउँदै उहाँले नगरको सरसफाइ, पर्यटन शुल्क सङ्कलनलगायतका कार्यहरू नगरपालिका आफैले कर्मचारी परिचालन गरी गर्दै आएको जानकारी गराउनुभयो ।
भनपाले नगरवासीहरूलाई विभिन्न सीपमूलक, दक्षता अभिवृद्धि, खेलकुद र विभिन्न भाषाको तालिम प्रदान गरिरहेको जानकारी गराउँदै उहाँले स्थानीय स्रोत र साधन परिचालनबाट दीगो विकास हुने विचार व्यक्त गर्नुभयो ।
प्रमुख प्रजापतिले भनपाले स्वायत्तताको सिद्धान्त र स्थानीय सरकार सञ्चालन ऐन अनुसार स्थानीय सरकारको अभ्यास गरिरहेको जानकारी गराउँदै सम्पदा संरक्षण कार्यमा पुरातत्व विभागसँग समन्वय गरी स्थानीय तहबाटै परम्परागत सीप र शैलीअनुसार भक्तपुर दरबार क्षेत्रको राष्ट्रिय कला सङ्ग्रहालय पुनर्निर्माण गर्न सहमति भएको जानकारी गराउनुभयो । उहाँले सहमतिअनुसार पुनर्निर्माणको लागि आवश्यक रकम हालसम्म पुरातत्व विभागले निकासा नगर्दा पुनर्निर्माण कार्य सुरु हुन नसकेको बताउनुभयो ।
प्रमुख प्रजापतिले राष्ट्रिय र अन्तर्राष्ट्रिय गैरसरकारी सङ्घ संस्थाहरूकै कारण विभिन्न क्षेत्रमा समस्याहरू देखा परेको बताउँदै युगोस्लाभिया र सोभियत सङ्घ पतनको इतिहासको चर्चा गर्नुभयो । उहाँले स्थानीय तहहरूले पनि कुनै पनि दातृनिकायहरूको भर नपरी आत्मनिर्भर भई काम गर्न सके दीगो हुने विचार व्यक्त गर्नुभयो ।
भेटमा इटहरी उपमहा–नगरपालिकाका प्रमुख चौधरीले इटहरी उपमहानगरपालिकाको सामान्य जानकारी गराउँदै नगरको व्यवस्थित विकासको लागि भनपाको आवास योजना र कलेज सञ्चालनसम्बन्धी अनुभवबाट सिक्न चाहेको बताउनुभयो । भेटमा दुई नगरका प्रमुखहरूबीच नगरपालिका सञ्चालनसम्बन्धी विभिन्न विषयमा अनुभव आदानप्रदानबारे छलफल भएको भनपा स्रोतले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *