भर्खरै :

सहरको नाम र हिन्दू अतिवाद

अमूल्य गाँगुली
भारतको उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले पदासिन हुनुअघि हिन्दुत्व (हिन्दू राष्ट्रवादी) का कट्टर पक्षधरको रुपमा आफ्नो परिचय बनाएका थिए । मुख्यमन्त्री बनेपछि पनि उनले आफ्नो सो परिचयमा कुनै परिवर्तन ल्याउन चाहेनन् । बरू उनले हिन्दू चिह्न र प्रतीकको महत्वलाई अझ उजागर गर्न राज्यका निकायहरूको मज्जाले प्रयोग गरे । उनले सरयु नदीको किनारामा रामको ठूलो मूर्ति र रामको मन्दिर बनाउने अभियानमा खुलेरै समर्थन गरे । उनी मुसलमान नाम भएका विभिन्न सहरको नाम परिवर्तन गर्दै हिंडेका छन् ।
ठाउँको नाम परिवर्तन गर्ने कामको सुरुवात उनले मुगलसराय रेलमार्ग केन्द्रबाट गरे । असङ्ख्य यात्रुहरूले मुगलसराय रेलवे जङ्कसन नामले चिन्दै आएको ठाउँको नाम उनले कमै मानिसले मात्र चिनेजानेका हिन्दुत्वका पक्षपाती दीनदयाल उपाध्यायको नाममा राखे । त्यसयता योगी सरकारले लगातार निकै उत्साहका साथ एकपछि अर्को ठाउँका नाम परिवर्तन गरिरहेको छ । अल्लाहबादलाई प्रयागराजमा बदलिदिएका छन्, फैजाबाद अब अयोद्या बनेको छ र मुजफ्फरपुर धेरै चाँडै लक्ष्मीनगर बन्ने सम्भावना छ । सत्तासीन भारतीय जनता पार्टीका संसद सदस्य सङ्गीत सोमको प्रस्ताव सरकारले स्वीकारे मुजफ्फरपुर धेरै चाँडै लक्ष्मीनगर नामले कहलिनेछ । सङ्गीत सोम तिनै सांसद हुन् जसले ताजमहललाई ‘भारतीय संस्कृतिमाथिको धब्बा’ भनेका थिए ।
योगी आदित्यनाथबाट प्रेरित भएर गुजरातका मुख्यमन्त्री विजय रुपाणीले अहमदाबाद सहरलाई कर्णवत्ती नामाकरण गर्ने बोलिसकेका छन् । कोभन्दा को कम ? भाजपा सरकारको गठबन्धन सदस्य शिव सेनाले पनि औरङ्गाबाद र ओस्मानाबादको पुनःनामाकरण गर्नुपर्ने भन्दै हिंडिरहेको छ । हिन्दूवादीको आँखामा हैदराबाद पनि परिसकेको छ । भारतीय जनता पार्टीले तेलंगानाको प्रदेशसभा चुनाव आफूले जिते हैदराबादको नाम भाग्यनगर राख्ने घोषणा गरिसकेको छ ।
भारतमा सहरहरूको नाम परिवर्तन अहिले पहिलोपटक भएको पक्कै होइन । विगतमा पनि मद्रास सहरलाई चेन्नाई, बम्बईलाई मुम्बई, कलकत्तालाई कोलकोत्ता भनी नाम परिवर्तन गरिएको थियो । तर ती नाम परिवर्तन सहरको पुरानो नामलाई पुनर्जीवन दिन गरिएको थियो, जस्तै १६ औं शताब्दीका शासक चेन्नाप्पा नैकरको नामसँग जोडेर मद्रासको नाम चेन्नाईको रुपमा बदलियो । बम्बईको सन्दर्भमा स्थानीय शक्तिपीठ मुम्बादेवीप्रति सम्मान प्रकट गर्न मुम्बई नामकरण गरियो । कलकत्तालाई कोलकात्ता बनाउनुको उद्देश्य भने स्थानीय जनजीब्रोसँग मिल्दोजुल्दो नाम होस् भन्ने थियो । तर कुनै पनि सहरका मुसलमान नामलाई हटाएर हिन्दू नाम राखिएको थिएन ।
निःसन्देह बेलायती शासकहरूसँग जोडिएका नामहरू जस्तै क्लिभ स्ट्रिट वा कोन्नाट प्यालेसजस्ता सडक र बजारको नाम बद्लिएका छन् । उपनिवेशकालीन सम्बन्ध तोड्न त्यस्ता ठाउँका नाम बदलिएका हुन् । कतिपय ‘मित्रवत्’ विदेशीका नाममा राखिएका ठाउँका नाम भने अझै परिवर्तन गरिएका छैनन्, जस्तै कोर्बेट नेशनल पार्क । तर गेरु वस्त्र लगाउने योगी आदित्यनाथले मुसलमान सम्पदाका सबै चिह्न मेट्ने चाहना राखेका छन् । हुनसक्छ, भारतका कुनै पनि ठाउँको नाम मुसलमान नाम हुनु हुन्न भन्ने उनको विचारकै कारण त्यस्तो गर्न खोजिरहेका छन् । त्यसैकारण भाजपाका सांसद विनय कतियारले भारतका मुसलमानहरूलाई भारत छोडेर कि त पाकिस्तान अथवा बङ्गलादेश जान सल्लाह दिइसकेका छन् ।
मुगलहरू र उनीहरूभन्दा अघिका मुसलमान शासक तथा मुसलमान धर्मका विभिन्न शाखाहरूका अनुयायीहरूले भारतमा शासन गर्दा र त्यसपछिको समयमा कहिल्यै पनि भारतलाई बेलायतीहरूले जस्तै पराया भूमिको व्यवहार गरेका थिएनन् । तथापि राष्ट्रिय स्वयंसेवक सङ्घ (आरएसएस) र भाजपाको आँखामा उनीहरू सबै बेलायतीजस्तै विदेशीहरू हुन् । सन् २०१८ को सुरूतिर राष्ट्रिय स्वयंसेवक सङ्घका प्रमुख मोहन भागवतले दिल्लीमा आयोजित एक समारोहमा मुसलमानहरू नभएसम्म हिन्दुत्व अपूर्ण हुने बताएका थिए । त्यसो भनेर भागवतले भारतको बहुधार्मिक परिचय स्वीकारेका छन् । तर आदित्यनाथको गतिविधिले भने उनलाई सहिष्णुताको वातावरण स्वीकार्य नभएको देखाएको छ ।
हिन्दूवादीहरूको लागि मुसलमानहरूको उपस्थिति देखाउने कुनै पनि चिह्नलाई विस्थापित गर्नु भनेको हिन्दू गौरवको अभिव्यक्ति मान्ने गर्दछन् । जसरी सन् १९९२ मा बाबरी मस्जिद ध्वस्त बनाइएको घटना र सन् २००२ मा गुजरात दङ्गालाई हिन्दू ‘जागरण’ को रुपमा लिइएको थियो । हिन्दुवादी ब्रिगेडको लागि बहुसांस्कृतिक विचार भनेको अभिशाप हो किनभने उनीहरू ‘एक राष्ट्र, एक जनता, एक संस्कृति’ मा आधारित हिन्दू राष्ट्रका पक्षपाती हुन् । त्यस्तो राष्ट्रमा अल्पसङ्ख्यक जनतालाई दोस्रो दर्जाको नागरिक मान्ने गरिन्छ । अतिवादी हिन्दुले मात्र भारतलाई हिन्दुधर्म, बुद्धधर्म, सिख धर्म र जैनधर्मको जन्मभूमिको रुपमा स्वीकार्न मान्दैन । उनीहरू इस्लाम, इसाई र जर्दुश धर्मको अनुयायी पनि भारतमा बस्छन् भन्ने कुरा स्वीकार्न तयार छैनन् । आदिवासी जनताका वन्य धर्मलाई त उनीहरूले मान्ने कुरै भएन ।
नरेन्द्र मोदी सरकार अहिले उत्तर्राद्र्धमा आइपुगेको छ । यस्तो परिस्थितिमा मुसलमानका चिह्न मेट्ने कामलाई तदारुकता दिनुको कारण सरकारका असफलता छोप्ने अरू कुनै कात्रो नभएर हुन सक्दछ । त्यस्तो अवस्थामा मुसलमान कार्ड खेल्नु सबभन्दा सुरक्षित बाटो मानिएको हुनुपर्दछ । सङ्घ परिवारले लामो समयदेखि बोक्दै आएको अल्पसङ्ख्यकविरोधी दृष्टिकोणलाई यसले सतहमा ल्याएको छ । आरएसएसले कहिलेकाहीं मुसलमानसँग सहिष्णु हुने र बहुलवादको पक्षमा दिने गरेका अभिव्यक्ति पनि निष्प्रभावी भएको यस्ता घटनाले देखाइरहेको छ ।
मुसलमानसँग सम्बन्ध भएको भारतको इतिहासको सानो हिस्सालाई पनि मेट्ने प्रयास गर्दा हिन्दू र भारतकै सबभन्दा ठूलो अल्पसङ्ख्यक समुदायबीचको खाडल अझ फराकिलो बन्दै जानेछ । खोटो राजनीतिक बदनियत बोकेका यस्ता गतिविधिमा गेरुवस्त्रधारीहरूको मात्र समर्थन भएको र समग्र हिन्दूहरू यसमा नलागेको कुरा मुसलमानहरूले नबुझेका भने होइनन् ।
राजनीतिक गेरुवस्त्रधारीहरूले पाइला–पाइला गरी इतिहासको पुनर्लेखन गरिरहेका छन् । मुरली मनोहर जोशी भारतका सङ्घीय मानव संसाधन विकास मन्त्री हुँदा मध्ययुगलाई हिन्दू र ‘हमलाकारीहरू’ बीच लगातार द्वन्द्वको समयको रुपमा व्याख्या गरेका थिए । मुसलमान नामका सहरका नाम बदल्ने पछिल्ला गतिविधि सम्मिश्रित संस्कृति वा गंगा–जमुना संस्कृतिको भावनालाई मेटाउने प्रयत्न हो ।
(अमूल्य गाँगुली भारतका राजनीतिक विश्लेषक हुनुहुन्छ ।)
नेपाली अनुवादः नीरज
स्रोत ः गल्फन्युज

Leave a Reply

Your email address will not be published. Required fields are marked *