भर्खरै :

विविधता खोतल्दै कलाकार सिग्देल

–वासुदेव पौडेल 
पोखरा, ४ मङ्सिर : महेन्द्रपुलस्थित पोखरा आर्ट ग्यालरीमा यतिखेर पुग्ने जो कोही पनि भित्तामा झुण्ड्याइएका कलालाई घोरिएर नियाल्ने गर्छन् । झट्ट हेर्दा अलमलमा पर्ने प्रत्येक कलाप्रेमी केही बेरपछि भने जीवन र जगत्का धेरै कुरा एउटै कलामा पाउँदा अचम्म पर्दै फर्कछन् ।
ग्यालरीमा गत कात्तिक ३० गतेदेखि आयोजित युवा कलाकार सुनिल सिग्देलको एकल कला प्रदर्शनी हेर्न कलाप्रेमी दिनप्रतिदिन पुग्ने गरेका हुन् । यही मङ्सिर ७ गतेसम्म आयोजना गरिने उक्त प्रदर्शनी उहाँको व्यक्तिगत सातौं प्रदर्शनी हो । प्रदर्शनीमा १७ वटा कला राखिएको छ । योसँगै सिग्देल झण्डै ४० वटा सामूहिक प्रदर्शनीमा समेत सहभागी भइक्नुभएको छ ।
जीवन र जगत्का भोगाइ तथा समाजको वास्तविकतालाई कलामा उतार्न आफूलाई निकै मनपर्नेे बताउँदै उहाँले आफ्ना सिर्जनामा त्यस्तै विषयवस्तुलाई समेट्ने गरिएको जानकारी दिनुभयो ।
“कला भनेको यही नै हो भन्ने नभइ भावनानुसार बनाइने सिर्जना हो, सर्वसाधारणले त्यसलाई कसरी बुझ्छन् त्यो नै महत्वपूर्ण हो,”– सिग्देलले थप्नुभयो । पछिल्ला समयमा एउटै कलाभित्र विभिन्न दृश्य, विम्ब, प्रतिविम्ब अभिव्यक्त गर्ने क्रमले गति लिँदै गएको वरिष्ठ कलाकार दुर्गा बराल ‘वात्स्यायन’ ले बताउनुभयो ।
“कला सिर्जनाको प्रारम्भतिर आँखाले देखिने मानिस, पहाड आदिलाई जस्ताको तस्तै उतार्ने गरिन्थ्यो,” उहाँले भन्नुभयो, “समयको गतिसँगै फेटोग्राफीको विकासले कला सिर्जना गर्नेका लागि थपिएको चुनौतीलाई आत्मसात् गर्दै कलाकारले मानिसका भावना एवं विविधतालाई कलामा उतार्न शुरु गरेका हुन् ।” सिग्देलले आफ्ना कलामा तीनै विविधतालाई देखाउने गरेको बताउनुभयो ।
प्रदर्शनीमा विश्व राजनीतिमा उदीयमान् नेतृत्व, विचारक, समाजको गति, राजनीति, जीवनचक्रलगायत विषयलाई कलामार्फत प्रस्तुत गरिएको पाइन्छ । उमेरले चार दशक पुग्नुभएका सिग्देलले यसबीचमा धेरै कला सिर्जना गरिसक्नुभएको छ । उहाँले नेपालसहित भारत, बेलायत, जापान, डेनमार्क, बङ्गलादेश, पाकिस्तान, ताइवान, श्रीलङ्का, हङकङ, दक्षिण कोरियाजस्ता मुलुक पुगी कला प्रदर्शनी गरिसक्नुभएको छ ।
पोखराको अमरसिंह माविमा पढ्दादेखि नै चित्र कोर्नेतर्फ आफ्नो रुचि जागेको बताउनुहुने सिग्देल त्यसपछि कलाकै अध्ययनका लागि काठमाडौँको ललितकला क्याम्पसबाट स्नातकसम्म अध्ययन गरिएको जानकारी दिनुहुन्छ । विद्यालयमा अध्ययन गर्दा शुरुमा शिक्षक यादवचन्द्र भुर्तेलको प्रेरणा मिलेको बताउनुहुने उहाँले आफूले दुर्गा बराल(वात्स्यायन), शशी शाह र किरण मानन्धरलाई आदर्श व्यक्तिका रुपमा लिने गरेको छु भन्नुभयो ।
अध्ययन सकेसँगै निरन्तर कला क्षेत्रमा लाग्नुभएका उहाँ आफ्नो पेशा प्रति निकै सन्तुष्ट हुनुहुन्छ नै यस क्षेत्रमा आकर्षित युवालाई ढुक्कका साथ अघि बढ्न प्रेरणा समेत दिनुहुन्छ ।
बजारमा कलाको राम्रो मूल्य रहेको बताउँदै उहाँले आफूले विश्व राजनीतिलाई चित्रित गर्दै तयार गरेको एउटै कलाबाट रु १३ लाख आम्दानी भएको जानकारी दिनुभयो । कलाका सम्भावनालाई उजागर गर्न सरकारी तवरबाट भने खासै चासो नदिइएको उहाँको दुःखेसो थियो ।
“सरकारले अन्तर्राष्ट्रिय एवं राष्ट्रियस्तरका कला सङ्ग्रहालय बनानाउन आवश्यक छ,” उहाँले भन्नुभयो, “सरकारी कार्यालयमा खरीद गरेर राखिएका कलालाई इज्जत रहने गरी राखिनुपर्छ, लगेर फोहर ठाउँमा राख्ने र फाल्ने प्रवृत्ति कलाप्रतिको अपमान हो ।
सिग्देलको कलाकारिता नवोदित कलाकारका लागि प्रेरणादायी भएको पोखरेली पत्रकार विनोद लामिछानेले बताउनुभयो । व्यावसायिक कलाकारितामा सिग्देल स्थापित भइसक्नुभएको बताउँदै उहाँले कलाको व्यावसायिक विकासबाट मात्रै यो क्षेत्र बाँचिरहन्छ भन्नुभयो ।
“एउटा चित्रभित्र समाजका यावत् पक्षलाई जीवन्त चित्रण गर्नु सिग्देलको विशिष्टता हो,” लामिछानेले थप्नुभयो, “विश्व राजनीतिदेखि राष्ट्र र समाजका विविधतापूर्ण विषयलाई उहाँका कलामा जीवन्त चित्रण गरिएको छ ।” रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *