ब्रासिलिया, २१ नोभेम्बर । ब्राजिलमा दुर्गम ग्रामीण क्षेत्रदेखि विभिन्न सहर बस्तीमा जनताको सेवामा कार्यरत क्युवाली चिकित्सकहरू आफ्नो देश फर्किने भएका छन् । ब्राजिलमा हालै राष्ट्रपति पदमा निर्वाचित अति दक्षिणपन्थी बोल्सोनारोले क्युवाली चिकित्सकहरूलाई ब्राजिलमा काम गर्न नदिने गरेको घोषणासँगै क्युवालीहरू स्वदेश फर्कने तयारी गरेका हुन् । क्युवाको समाचार संस्था ग्रान्माले जनाएअनुसार एकाध दिनमै क्युवाली चिकित्सकहरू स्वदेश फर्किने क्रम सुरू हुने र डिसेम्बरको मध्यसम्ममा सबै क्युवाली चिकित्सक स्वदेश फर्किसक्ने बताइएको छ । उनीहरूलाई स्वदेश फर्काउन क्युवाको जनस्वास्थ्य मन्त्रालय र यातायात मन्त्रालयबीच समन्वय भइरहेको छ ।
क्युवाको केन्द्रीय मेडिकल सहकार्य एकाइका निर्देशक डा.जर्ज देल्गाडो बुस्टिल्लोले क्युवाली चिकित्सकलाई सकुशल आफ्नो देश फिर्ता गर्न आवश्यक कानुनी प्रक्रियालाई अघि बढाएको बताएका छन् । बितेका पाँच वर्षमा ब्राजिलमा झण्डै बीस हजार क्युवाली चिकित्सकहरूले ब्राजिलका ११ करोड ३० लाख सर्वसाधारण ब्राजिली जनताको उपचार गरेका थिए । ब्राजिलका चिकित्सकसमेत नगएका दुर्गम क्षेत्रमा समेत क्युवाली चिकित्सक गएर सेवा गरेका थिए ।
स्वदेश नफर्कुञ्जेलसम्म क्युवाली चिकित्सकहरूले ब्राजिली जनताको सेवालाई निरन्तरता दिने बताइएको छ ।
ब्राजिलमा ‘थप चिकित्सक’ (मोर डक्टर्स) कार्यक्रमअन्तर्गत क्युवाली चिकित्सकहरूले स्वास्थ्य सेवा गरिरहेका छन् । ब्राजिल सरकारको तथ्याड्ढअनुसार ब्राजिलका ४ हजार ५८ नगरपालिकामा १८ हजार २ सय ४० स्वास्थ्य केन्द्र सञ्चालनमा छन् । ती स्वास्थ्य चौकीहरूमा ८ हजार ४ सय क्युवाली चिकित्सकहरूले नियमित स्वास्थ्य सेवा दिंदै आएका छन् ।