भर्खरै :

साझाका सुस्केरा

–चिन्मय
रक्सीले मात्तिएका साझाका कर्मचारीले आफ्नै आँखा अगाडिको पुस्तक “सक्कियो, छैन” भन्दा रन्को छुट्थ्यो । तैपनि साझा धाउन छोडिएन । त्यत्ति मात्रै होइन, कुनै नौलो सहर गयो कि “यहाँ साझाको डिपो छ, छैन” सोधीखोजी पुगिहालिन्थ्यो । किनभने बजारमा जति नयाँ, चिल्ला र काम लाग्दा किताब भए पनि हाम्रो गच्छेअनुसारका गहकिला किताबको खानी साझै हो भन्ने लाग्थ्यो ।
आज आफ्नै आँखा अगाडि साझाको दुर्दशा देख्दा भाउन्न हुन्छ । अलि अस्ति साझाको कार्यालय पुल्चोक पुगियो । गेटको सोझै भित्रपट्टि १२९ जना पुराना कर्मचारीलाई कामदेखि हटाएको विरोधमा धर्ना दिइरहेका थिए पूर्वकर्मचारीहरू । त्यसमाथि केही वर्षअघिदेखिको तलब नदिइकनै उनीहरूलाई निकालिएको रहेछ । यो तमासा देखेर एक आन्दोलनकारीलाई भनेँ, “हिजो धमाधम सरकारी उद्योगधन्दा निजीकरण गर्दा चुप्प लाग्नुभयो, आज आफ्नै टाउकामाथि परेपछि जुर्मुराउनुभएछ !” उनले निहुरीमुन्टो लाए ।
मोफसलका एउटा डिपोका कर्मचारीको कुराले यस विषयमा थप प्रकाश पार्छ । लम्जुङ घर भएका ती कर्मचारीले भने, “कर्मचारीलाई वर्षौँदेखिको तलब दिनै बाँकी छ । केन्द्रका कर्मचारीहरू कस्सिए भने केही हुन्थ्यो । तर तिनलाई बढुवा गरेर प्रशासकहरू चुप लगाइदिन्छन् । मारमा पर्छौँ हामी । आफूले तलब नखाएकै कति भयो कति । बताउन पनि लाज लाग्छ ।” अनि यी दुखियाहरूले रक्सी नखाऊन् पनि कसरी ? यो टे«ड युनियनवाद हो । उनीजस्ता साझाका कर्मचारीहरूले यो शब्द नसुनेका होलान्, तर भोगिरहेका छन् हरेक दिन ।
बाहिरपट्टि पीडाले रन्थनिएर आन्दोलनरत कर्मचारी, भित्र भने एउटा गजबको दृश्य ! बाहिरको दृश्त्न्दा ठीक उल्टो एउटा कोठाबाट केही कर्मचारीहरूको रोमाञ्चक हाँसो गञ्जायमान थियो । आश्चर्यले घाँटी तन्काउँदै झ्यालभित्र नियालेें । भित्र, मैलो गञ्जीलाई घ्याम्पाजत्रा पेटले बाहिर ठेलेर बसिरहेका थिए केही जुवाधारीहरू । यसरी साझाको एउटै हाताभित्र कोही रुन्चे अनुहार लगाई बसिरहेका थिए भने कोही तासका पत्तीहरू समाई अर्थात् अझै पनि साझामा अनावश्यक कर्मचारीहरूको भार त छैन ?
उत्तर तिनै लमजुङे कर्मचारीको मुखारविन्दबाट, “बाहिर त धेरैले जाँच दिन्छन् । छानिने त आफ्ना मान्छे हुन् । पार्टीको कुरा खुब चल्छ । आफ्नो मान्छे छिराएको छिरायै छ, अनि कहाँबाट हुनु ?” सरकारी उद्योग, संस्थान आदिलाई पार्टीको भर्तीकेन्द्र बनाए पनि हिजो चुपचाप रहेका आन्दोलनरत साझाका कर्मचारीहरू आफै यसका शिकार भएका थिए । कोही त आफै पनि कुनै पुराना पहुँचवालाको भनसुनमा जागिरे भएका होलान् ।
अचेल बजारमा साझाका किताब अन्य निजी प्रकाशन गृहले छापेर अकूत आम्दानी गरिरहेका छन् । हिजो आफैंले सस्तोमा किनेका ती पुस्तकहरू हामीजस्तो आउँदो पिंढीले कसरी पढ्ला ? चिन्ताले सताउँछ । अनि सोध्छु लेखाकी दिदीलाई, “हैन साझाले कपीराइट बेच्न थाल्यो कि क्या हो ? साझाका किताब अरूले छाप्न थाले नि !” उनले सकार्दै मुन्टो हल्लाउँछिन् । मुनामदन, हाम्रो समाज ः एक अध्ययन, शिरीषको फूल, वीपीका रचना, यस्ता धेरै किताब अब महँगो कलेवरमा निस्कन थालिसकेका छन् ।
“अहिलेको जीएम अगतिलो छ रे । एउटा एउटा इँटा बेचेर खान्छु भन्छ रे । डोलेन्द्र हो ! नाम । ऊ त्यो किताब निकालेको छ ।” भुइँमा पिच्च थुकेर आँखाले टेबलमा राखेको पुस्तकतिर इशारा गर्दै लमजुङे दाइले भने । किताब ओल्टाइपल्टाई हेर्छु, माधव घिमिरे, सत्यमोहन जोशी र मदनमणि दीक्षितका शुभेच्छाहरू लेखिएका रहेछन् । कुनै बेला सिंहदरबारभन्दा बलियो संस्थान हो रे साझा । दलीय भागबण्डाले आज रछ्यानमा मिल्काइदिएको छ साझालाई । त्यसमाथि आफ्नो दुनो सोझ्याउन खोज्ने यसका जीएमहरू विवादमा पर्दै आएका छन् । कर्मचारीहरूमा पनि पार्टीपिच्छे गुट उपगुट हुने भइहाले ।
साझा आज सुक्दो छ । अन्य निजी र महँगा प्रकाशन गृह मोटाउँदा छन् । साझाको दयनीय अवस्था पछाडि निजी प्रकाशन गृहहरूको हात होला नहोला, जाँचबुझको विषय हुनसक्छ । कुनै बेला गुणस्तर र सस्ताइमा अन्य प्रकाशकलाई पछारेको साझालाई देशमा व्याप्त भ्रष्टाचार, दलीय भागबण्डा, टे«ड युनियनवाद मिलेर थिल्थिलो बनाइरहेका छन् । वितरणकै हिसाबले आज पनि देशैभर एक दर्जनभन्दा बढ्ता साझाका डिपो छन् । तैपनि यसलाई कुँजाउने, यसका डिपोहरू गाभ्ने प्रयास जारी छ ।
घोत्लिने हो भने, साझालाई केको कमी छ । नामी लेखकहरूका प्रशस्त किताब छापिसकेको देशको एक मात्र प्रकाशन गृह हो साझा । साझाका पानामा कला, साहित्य, समाजशास्त्र, राजनीति, इतिहास, भूगोल, न्याय, प्रशासन, अर्थतन्त्र, विज्ञानजस्ता विविध क्षेत्रका अनेक हस्ती भेटिन्छन् । वर्षैपिच्छे आफूले निकालेकै केही थान स्तरीय पुस्तक छाप्यो भने पनि यसलाई पुगिसरी हुन्छ । “जनक शिक्षाकै किताब बेचिरहनुपर्छ भन्ने पनि छैन, ल ।” लमजुङे दाइ दाबी गर्छन् । आज देशभर प्रत्येक विद्यालयमा पुस्तकालय बनाउनुपर्ने कार्यक्रम बनेको छ । यसमा निजी पुस्तक प्रकाशकहरू कसरी तँछाडमछाड गरिरहेछन् भन्ने कुरा मणि खलकको खोइरो खन्दै डिकुराका पुण्यप्रसाद प्रसाईंले दिएको अन्तर्वार्ताले छताछुल्ल पा¥यो । पुस्तकालयमा राख्न योग्य साझाका यथेष्ठ पुस्तक छन् । साझाको गोदाम चहारेपछि यति त ढुक्कै भन्न सकिन्छ ।
गोदाममा छरपस्ट छरिएका पुराना किताबका नयाँ संस्करणले भने च्वास्स मन बिझाउँछन् । साझाका नयाँ किताब हामीले खोजेजस्ता सस्ता रहेनन् । कम पैसा हुने विद्यार्थी कसरी साझाप्रति आकर्षित हुने हुन्, चिन्ता लाग्छ । तैपनि बेलाबखत छुटको फोहोरा छुट्ने साझाको पुस्तक मेलाले राहत दिइरहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *