भर्खरै :

जनताले लालपुर्जा होइन, चिना पनि माग्न सक्छन्

तामझामका साथ नेपाली हवाईमैदानमा अवतरण गरिएका नेपाली ध्वजाबाहक ठूलो आकारका विमान सरकारको लागि ‘सेतो हात्ती’ सरह बनेका छन् । विमानले आमदानी गर्नु त परको कुरा, दैनिक करोडौं रुपैयाँको घाटा बेहोरिरहनु पर्दा सरकारको लागि ती विमान भालुको कम्पटसरि भएका हुन् । त्यसैमाथि विमानको खरिद प्रक्रियालाई लिएर विभिन्न प्रश्न उठ्न थालेपछि राष्ट्रिय ध्वजाबाहक विमान आकाशमा उडाउने सरकारको चाहना गलगाँडको पिलो भएको छ । हिजो विमान अवतरण गर्दा गौरवले फुलेका सरकारी अधिकारीहरू आज दोष अरूका थाप्लामा पञ्छाउने प्रतिस्पर्धामा लागेका छन् ।
विमान सिधै उत्पादक कम्पनीसँग खरिद नगरी दलालसँग खरिद गरेको र नयाँ भन्दै पुराना विमान किनेको भनी प्रश्नसमेत उठेका छन् । सरकारी कार्यालयको लागि सियो किन्दा पनि भ्रष्टाचार हुने देशमा विमान खरिदसँग जोडेर यस्ता प्रश्न उठ्दा ठूलै भ्रष्टाचारको ‘शङ्काको सुविधा’ हुनु स्वाभाविक हो । शुक्रबार विमान खरिदसम्बन्धमा बसेको संसदीय समितिको बैठकमा मन्त्री, सचिवदेखि नागरिक उड्डयन प्राधिकरणका महानिर्देशकसम्मका अभिव्यक्तिले जनतालाई विमान खरिदमा कुनै भ्रष्टाचार नभएको विश्वास दिलाएको छैन, बरू अझ आशङ्कालाई थप बलियो बनाएको छ ।
संविधानले जनतालाई सबभन्दा बलियो सार्वभौम शक्ति मानेको छ । हरेक राजनीतिक दल र नेताले जनताप्रति जवाफदेही भएर काम गर्नुपर्ने संविधानद्वारा निदृष्ट बाटो हो । तर जनताको ‘कतै हामीले तिरेको कर भ्रष्टाचारमा अपव्यय भइरहेको छ कि !’ भन्ने आशङ्काको जवाफमा सरकारी अधिकारीहरूले दिएको अभिव्यक्तिबाट उनीहरूमा अझै पनि पञ्चायती प्रशासकका चिन्तन बाँकी रहेको देखाएको छ । जनताले चाहे विमानको लालपुर्जा मात्र होइन, कोही पनि व्यक्तिको चिना पनि असन बजारमा देखाउनुपर्ने हुन्छ, लोकतन्त्रको मूलभावना यही हो ।
मन्त्री रवीन्द्र अधिकारीले विमान खरिदमा आफ्नो संलग्नता छैन र त्यसमा आफू दोषी नभएको भन्नु चोरको खुट्टा काट्भन्दा खुट्टा उठाउनुजस्तै भएको छ । विमान मैदानमा उत्रनेबित्तिकै नरिवल फुटाउने मन्त्रीले अहिले फन्दामा पर्ने अवस्था आएपछि मेरो संलग्नता छैन भन्नु पाखण्डी हो । आफू संलग्न नभएको भए उनलाई त्यो विमान देखाएर जनतालाई समृद्धिको ध्वाँस दिन केको हतार भएको थियो र ? माछा आए भित्र हात, भ्यागुता आए बाहिर हात भनेजस्तै राम्रो परिणाम आए जस लिन हतारिने अनि परिणाम नआए ‘म संलग्न छैन’ भन्नु निर्जज्जताको हद हो ।
मानिसले के बोल्छ, उसको अनुहार कस्तो छ, महत्वपूर्ण कुरा हुने गर्दैन । उसले व्यवहारमा के गर्छ महत्वपूर्ण कुरा हो । रवीन्द्र अधिकारीको उमेर र भाषण सुनेर उनको प्रशंसामा शब्दको बाढी उराल्ने मानिसले आज उनको काइते अभिव्यक्तिलाई पनि मध्यनजर लगाउन जरुरी छ । जस्तो सत्ता आए पनि सत्ताको न्यानोमा टाँसिएर बस्न जानेका सुगतरत्न कंसाकारजस्ता मानिसलाई देशमा लोकतन्त्र आएको पाठ पढाउन अझै बाँकी रहेको देखिन्छ । आज असनमा लालपुर्जा देखाउन नसक्ने धाँक लगाएका कंशाकारलाई जनताले असनको बजारमा जन्मकुण्डली देखाउन बाध्य पार्न सक्नेबारे हेक्का हुनुपर्दछ ।
सरकार आफै भष्टाचारीहरूको चङ्गुलमा फसेको आरोपलाई विमान खरीद प्रकरणले अझ पुष्टि गर्दैछ । सुनकाण्डका दोषी, निर्मला हत्याकाण्डका दोषी, पप्पु निर्माण सेवालगायत ठेक्का समयमा पूरा गर्न नसक्ने ठेकेदारलाई कारबाही गर्न नसक्ने सरकारले भ्रष्टाचारीको सेवा गरिरहेको अब झन् प्रस्ट हुँदैछ । देशको ढुकुटी विकासको नाममा लुटपाट गर्नेलाई वास्तवमै पाटा कस्न सक्छ वा सक्दैन, अब परीक्षण घडी सुरू भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *