ट्युनिस, २४ नोभेम्बर । पत्रकार जमाल खास्सोस्गीको हत्यामा दोषी मानिएका साउदी अरबका राजकुमार मोहमद बिन सलमान जताततैबाट बहिस्कृत भइरहेका छन् ।
२७ नोेभेम्बरको दिन उत्तरअफ्रिकी देश ट्युनिसियाको भ्रमणमा जान लागेका सलमानलाई ट्युनिसियाका राजनीतिक नेता र नागरिक समाजले बहिस्कार गर्ने घोषणा गरेका छन् । त्यहाँका विभिन्न समूहले उनको विरोधमा प्रदर्शन गर्ने तयारी गरिरहेको बताइएको छ ।
“तानाशाही शासनविरुद्ध क्रान्ति र प्रजातान्त्रिक सङ्क्रमणको समयमा रहेका ट्युनिसियाली जनताले साउदी र यमनी जनताको रगतले मैलिएको हात बोकेका अपराधीलाई कसरी स्वागत गर्न सक्छौं र ?”, सलमानविरोधी प्रदर्शनको तयारीमा रहेका एकजना नागरिक समाजका प्रतिनिधिले भने ।
जी २० को अर्जेन्टिनामा हुने सम्मेलनमा सहभागी बन्ने क्रममा उनी ट्युनिसिया जान लागेका हुन् । उनी ट्युनिसियाका साथै बहराइन र इजिप्ट पनि पुग्ने कार्यक्रम छ ।
गएको अक्टोबरमा टर्कीको इस्तानबुलस्थित साउदी वाािणज्यदूतावासभित्रै साउदी पत्रकार जमाल खास्सोस्गीको हत्या राजकुमार सलमानकै निर्देशनमा भएको धेरै प्रमाणहरू जुटिसकेको छ । अन्तर्राष्ट्रिय क्षेत्रमा उनको विरोध व्यापक बनेको छ ।
अर्जेटिनामा उनले टर्कीका राष्ट्रपति इर्डोगनसँग भेट्ने कार्यक्रम रहेको बताइएको छ ।