भर्खरै :

सिद्धान्तच्युत सबभन्दा नीच अवसरवाद हो

दक्षिण कोरियामा केन्द्र रहेको युनिभर्सल पिस फेडरेसन नामको क्रिश्चियन सङ्गठनले नेपालमा धेरै अघिदेखि नै गतिविधि गर्दै आएको हो । कुनैबेला नेपाल परिवार दलको आवरणमा त्यो संस्थाले संविधानसभामा समेत प्रतिनिधित्व गरेको थियो । समानुपातिक निर्वाचन प्रणालीको फाइदा उठाएर त्यसले संविधानसभामा सहभागिता जनाएको थियो । परिवार दलका अध्यक्ष एकनाथ ढकाल नै त्यसका हर्ताकर्ता हुन् । उनी कुनैबेला मन्त्रीसमेत बनेका थिए । उक्त पार्टी पछि एमालेमा एकीकरण भयो ।
युनिभर्सल पिस फेडरेसन (युपीएफ) को नाममा नेकपाका नेता माधव नेपाललगायत धेरै दलका नेताहरूले यसअघि दक्षिण कोरियाको भ्रमण गरिसकेका छन् । त्यही सङ्गठनको आयोजनामा मंसिर १४ देखि १७ गतेसम्म काठमाण्डौमा अन्तर्राष्ट्रिय सम्मेलन हुँदैछ । सो सम्मेलनको सहआयोजक नेपाल सरकारलाई बनाइएको छ । ‘द एसिया प्यासिफिक समिट २०१८’ नाम दिइएको सो सम्मेलनमा युपीएफका संस्थापक डा. सन म्योङ मुनकी श्रीमती डा.हाक जा हान मुनलाई ‘जिससकी एकमात्र छोरी’ घोषणा गरिने पिस फेडरेसनको वेभसाइटमा उल्लेख छ ।
धर्मनिरपेक्ष देशमा स्वभावतः धर्म हरेक व्यक्तिको निजी छनौटको विषय हुनुपर्दछ । राज्यका पदाधिकारीले सो हैसियतमा धार्मिक गतिविधिमा संलग्न हुनुहुँदैन । सैद्धान्तिकरूपमा धर्मनिरपेक्षताको अर्थ यही हो । यसअघि राष्ट्रपति, प्रधानमन्त्री र मन्त्रीहरू विभिन्न धार्मिक सङ्गठन र गतिविधिमा संलग्न भएको विषयमा पटक–पटक आलोचना हुँदैआएको थियो । तर सत्तामा पुगेपछि सिद्धान्तलाई गोजीको पैसा मान्ने शासक दलकै कारण अरू धेरै कानुनजस्तै धर्मनिरपेक्षता पनि सजाउने विषयमात्र बन्यो ।
सिद्धान्तमा खेलबाड गर्नु भनेको हिमालयमा चिप्लेटी खेल्नुजस्तै हो । शासक दलबाट सिद्धान्तमा गरेको खेलबाडको परिणाम आज तिनीहरू कुनै पनि सिद्धान्त नभएको दलमा बदलिएका छन् । सिद्धान्तमा नटिकेका दल र सत्ताले कुनै पनि रङ्गलाई आफ्नो ठान्ने गल्ती गर्छन् । सिद्धान्तच्युत सबभन्दा निच अवसरवाद हो । आज सत्ता र सत्तासीन दल यही अवसरवादी बाटोमा हिँडिरहेका छन् ।
सिङ्गो नेपाल सरकार कुनै एउटा संस्थाको कार्यक्रमको सहआयोजक बन्नुले यो सरकार र प्रधानमन्त्री कसको घेरामा छन् भन्ने कुरा फेरि पुष्टि हुन्छ । प्रधानमन्त्री कार्यालय र सिंहदरबार ठगको घेरामा रहेको भनाइ यो घटनाबाट पनि पुष्टि गरेको छ । ठगहरूको माझमा बसेर देशलाई उँभो लगाउने कुरा जनतालाई दिउँसै राति पार्ने चालबाजी मात्र हो । कसैलाई खुशी बनाउने नाममा सरकार र पार्टीले आफ्नो सिद्धान्त त्याग्नु निन्दनीय हो । क्रिश्चियन धर्ममात्र होइन, नेपालमा हिन्दू अतिवादीहरूको गतिविधि पनि अधिक भइरहेको छ । प्रजातान्त्रिक सिद्धान्तमा आधारित धर्मनिरपेक्षताको पक्षमा मत व्यक्त गर्ने पार्टीका प्रमुख नेताहरू नै खुलारूपमा हिन्दू राज्य पुनस्र्थापनाबारे बोलिरहेका छन् । धार्मिक विषयमा यस्तो तानातानले देशलाई अन्ततः धार्मिक द्वन्द्वको चपेटामा पार्न सक्ने सम्भावनाबारे शासक दल संवेदनशील बन्नुपर्दछ । संसारमा सभ्यताको नाममा भइरहेका धार्मिक द्वन्द्वबाट नेपाल सजग बन्नैपर्दछ । नेपालजस्तो भौगोलिकरूपमा सानो र रणनीतिकरूपमा महत्वपूर्ण रहेको देशले धर्मको नाममा हुने कुनै पनि द्वन्द्व थेग्न सक्नेछैन । तसर्थ शासक दलले कुनै पनि धर्मसँग जोडिएका कार्यक्रममा पदीय हैसियतमा पुग्नु गलत हो । देशलाई वास्तवमा धर्मनिरपेक्ष बनाउनमा शासक दल अझ बढी कटिबद्ध हुन जरूरी छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *