भर्खरै :

ओली सरकारबाट देश विकासको आशा मृगतृष्णामात्र

–प्रकाश
धेरै जनाले देशमा अब राजनीतिक स्थिरता हुने र देश विकासतिर लम्कने कुरा गरेको पाउँछौं । कतिले नजानेर र कतिले जानाजानी नै देश विकास नहुनुमा राजनीतिक अस्थिरता र सरकारको फेरबदललाई दोष दिएको देख्छौं । पटक–पटक सरकारको नेतृत्व गरेका र सरकारमा गएका नेता र पार्टीहरूले राजनीतिक अस्थिरता र अन्य कुरामाथि दोष थोप्नु ‘नाच्न नजान्नेको आँगन टेढो’ उखानको चरितार्थबाहेक केही होइन । नेपालमा कथित जनयुद्धकालमा बाहेक राजनीतिक मतभेद, विरोध वा सडक आन्दोलनसम्मले पनि विकास निर्माणमा अवरोध पु¥याएको पाउँदैनौं । बरु विकास नभएकोमा जनता आक्रोशित भएका थिए । लोकतान्त्रिक गणतन्त्र स्थापना भएको पनि बा¥ह वर्ष भयो । पुँजीवादी पार्टीका (नामले जेसुकै होस्) नेताहरूको सत्तालोलुपताका कारण पटक–पटक सत्तासमीकरण बदलियो । सरकार बदलिए तर कुनै पनि पूर्ववर्ती सरकारको गलत निर्णयसमेत नयाँ सरकारले उल्ट्याएको वा खारेज गरेको पाउँदैनौं ।
हरेक नयाँ सरकारले विकासको नारा उरालेका छन् । आ–आफ्नो गुटगत र दलगत स्वार्थअनुरुप बजेट रकम विनियोजन र रकमान्तर गरेका छन् । नेपालको संविधान २०७२ कार्यान्वयनको क्रममा भएको निर्वाचनमा २–३ वटा पार्टी मिलेर बहुमत सिट जितेपछि बनेको सरकारले समृद्धिको नारा दिएको छ तर वर्तमान ओली सरकारका मन्त्रीहरू पनि विगतका सरकारका मन्त्रीहरूझैं कमिसन र भ्रष्टाचारको आहालमा नुहाउन थालेको देखिइँदै छ – चाहे ती आपूर्ति मन्त्री यादव होस् वा पर्यटन मन्त्री अधिकारी । खानेपानी मन्त्री मगर र शिक्षा मन्त्री पोखरेलको नाम पनि योजना फेरबदल र कमिसन मागेको भन्ने चर्चामा छन् । जलस्रोत र ऊर्जा, भौतिक निर्माण र यातायात व्यवस्था मन्त्रालयहरू त नमागिकनै कमिसनको खेल हुने मन्त्रालय नै भए । मैले कसैका लागि कमाउनु छैन भन्ने प्रधानमन्त्रीले आफ्ना मन्त्रीहरूलाई पनि चोखो राख्न सकेमात्र देशमा केही राम्रो होला । तर प्रधानमन्त्री ओलीको लाचारी पटक–पटक सार्वजनिक भइरहेको छ । तसर्थ वर्तमान ओली सरकारबाट देश विकासको आशा गर्नु मृगतृष्णा नै मात्र हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *