भर्खरै :

खालिदा जियाले चुनाव लड्न नपाउने

ढाका, २७ नोभेम्बर । बङ्गलादेशको उच्च अदालतले दुई वर्षभन्दा बढी समय जेल सजाय भोगेको नागरिकले चुनावमा उम्मेदवारी दिन नसक्ने फैसला गरेको छ ।
अदालतको यो फैसलाले पूर्वप्रधानमन्त्री खालिदा जियासहित उनकै दलका पाँच जना नेतालाई चुनावमा उम्मेदवारी दिन रोक लगाउन सरकारलाई बाटो खुलेको छ । जियासहित पाँच नेतालाई दिइएको जेल सजायविरुद्ध उत्पे्रषण जारी गर्न माग गर्दै परेको मुद्दाको फैसलामा अदालतले यस्तो निर्णय गरेको हो ।
अदालतको फैसलालगत्तै महान्यायाधिवक्ता महबुबा अलामले पत्रकारहरूसँग संक्षिप्त कुराकानी गर्दै खालिदा जियाविरुद्धको भ्रष्टाचार मुद्दा प्रमाणित भएको र पाँच वर्षको जेल सजाय फैसला भएको बताए । साथै उनले आगामी डिसेम्बर ३० मा हुने निर्वाचनमा पनि भाग लिन नपाउने अदालतको फैसलताबारे जानकारी दिंदै अलामले भने ।
अदालतको फैसलाप्रति बङ्गलादेश नेशनल पार्टीका प्रवक्ताले आधिकारिक टिप्पणी सार्वजनिक गरेका छैनन् । यसअघि बङ्गलादेशका प्रमुख विपक्षी दलकी नेतृ खालिदा जियाले चुनावमा आफूले भाग लिने घोषणा गरेकी थिइन् । सन् २००९ को चुनावमा पहिलोपटक भारी मतसहित बहुमत हासिल गरेकी प्रधानमन्त्री शेख हसिनाले सन् २०१४ मा दोस्रोपटक चुनाव जितेकी थिइन् । आगामी चुनावमा जितको निरन्तरताको लागि खालिदा जिया उनको प्रमुख चुनौती बनेकी थिइन् । अदालतको फैसलाले शेखलाई आफ्नो चुनावी यात्रा अझ सहज हुने अनुमान गरिएको छ । अघिल्लो सन् २०१४ को निर्वाचनमा जियाको पार्टीले चुनाव बहिस्कार गरेको थियो ।
बङ्गलादेशी नेशनल पार्टीले आफ्ना अध्यक्षसहित सबै राजनीतिक बन्दीको रिहाइको माग गरेको छ । जियालाई गएको फेब्रुअरीमा भ्रष्टाचारको आरोपमा जेल सजाय गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *