भर्खरै :

दोलखाको सम्पदा संरक्षणलाई निरन्तरता दिनु जरुरी

– बीजी कुसी
दोलखाको पुरानो बस्ती पुरतात्विक, ऐतिहासिक र धार्मिक रुपले महत्वपूर्ण ठाउँ हो । यस बस्तीभित्र राजकुलेश्वर भवन (तलेजु भवानी मन्दिर), त्रिपुरासुन्दरी (देवीकोट), रानीपोखरी, राजहिटी (ढुङ्गेधारा), साना ठूला असङ्ख्य चैत्य, मन्दिर, पाटी पौवा छन् । यसै बस्तीको छेउमा भीमेश्वर मन्दिर रहेको छ । मन्दिरको वरपर पाटीपौवा, सत्तलजस्ता सम्पदाहरू छन् । केही मन्दिर, पाटी र अन्य सम्पदाहरू पुनर्निर्माण र जीर्णोद्धार गरिरहेका छन् भने कति जीर्णोद्धार र पुनर्निर्माणको पर्खाइमा छन् ।
राजकुलेश्वर मल्लकालीन दरबार हो । दसैंमा दरबारमा जमरा राख्ने काम अद्यापि चालू छ । भूकम्पले क्षति पु¥याएको सो दरबारको हाल पुनर्निर्माण भइरहेको छ । एकवर्ष अघिदेखि पुनर्निर्माण गरिएको सो दरबारको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । अहिले छाना छाउन फल्याक राखिसकेको छ । त्रिपुरासुन्दरी पनि ऐतिहासिक महत्वको स्थान हो । रानीपोखरी अर्को ऐतिहासिक पोखरी हो । यहाँ पूर्णिमाको दिन मेला लाग्छ । पोखरीमा एकदिन पौडी खेल्ने चलन रहेको स्थानीय भगवानदास श्रेष्ठले बताए । उक्त पोखरीको पनि पुर्ननिर्माण गरिसकेको छ । तर पोखरीमा पानी हालेको छैन । यहाँ पोखरीसँगै श्यामनारायण मन्दिर छ । उक्त मन्दिर जीर्र्ण भइसकेको छ । मन्दिर पुनर्निर्माण गर्नेतर्फ ध्यान गएको देखिँदैन । मन्दिरसँगै इँटा माटोले बनेको एक पुरानो घर छ, त्यो घर पनि जीर्ण भइसकेको छ । घरमा हाल कोही बसेका छैनन् । रु.१२ लाखको लागतमा अहिले गरुडनारायण मन्दिरको निर्माण कार्य भइरहेको छ ।
राजहिटी (तीनधारा) मल्लकालीन पुरानै धारा हो । स्थानीयले त्यस धाराबाटै खानेपानी उपभोग गरिरहेका छन् । त्यही धारा भएर पहिलेको पुरानो बाटोबाट राजदरबारमा प्रवेश गरिन्छ । पुरानो बस्तीभन्दा अलि माथि हालको दोलखा बजारको नयाँ बस्ती प्रवेश गर्ने स्थानमा नेपालको इतिहासमा सर्वप्रथम चाँदीको सिक्का प्रचलनमा ल्याउने राजा इन्द्रसिंह (सिं) देवको प्रतिमा राखिएको छ । विसं १५९० देखि १६२५ शासनकालका राजा इन्द्रसिं देवको प्रतिमा बगैंचाको बीचमा राखिएको छ । प्रतिमा स्थल जाने द्वार बन्द गरिएको छ । बनाइएको द्वार व्यवस्थित छैन । जस्तापाताको सो द्वार काम नलाग्ने अवस्थामा छ । प्रतिमास्थल वरिपरिको ठाउँ व्यवस्थित छैन । प्रतिमा कुनै स्थानमा थुनेर राखेको जस्तो देखिएको छ । दोलखाधिपति इन्द्रसिं देवको प्रतिमा राखिएको बगैंचाको रुपमा बनाइएको सो ठाउँलाई अझै व्यवस्थित गर्नुपर्ने देखिन्छ । पुरानो बस्तीभित्र र बाहिर सानाठूला असङ्ख्य चैत्यहरू छन् । एउटा ठूलो चैत्यको पुनर्निर्माण गरी शोभायमान बनाइसकेको छ । अन्य चैत्यहरू कति जीर्ण छन् त कतिको अवशेषमात्र बाँकी छ । जीर्णोद्धार र पुनर्निर्माण गर्नुपर्ने अरु धेरै सम्पदाहरू बाँकी छन् ।
पुरातात्विक र ऐतिहासिक रुपले महत्वपूर्ण स्थान रहेको त्यो पुरानो बस्ती अहिले बस्ती जस्तो देखिँदैन । भू्कम्पले क्षति पु¥याएका घरका ढुङ्गाहरू पर्खालजस्तै चाङ राखेको, मन्दिर र चैत्यहरू जीर्ण भएकोले पनि बस्ती व्यवस्थित नदेखिएको हो । सम्पदा जीर्णोद्धार र पुनर्निर्माणमा स्थानीय तहले खासै ध्यान दिएको देखिँदैन । भीमेश्वर नपा वडा नं २ मा रहेको भीमेश्वर’ मन्दिर र मन्दिर वरपरको वातावरण ठिक्कै देखिन्छ । ‘ऐतिहासिक, धार्मिक र सांस्कृतिक धरोहर, प्रकृति र पर्यटनले समुन्नत भीमेश्वर’ नारा नै लेखिएको पाइन्छ । चाडपर्वमा विभिन्न नाचगान हुने हुँदा भीमेश्वर नपामा एक पौराणिक बाजा संरक्षण समिति हालै बनाइएको छ । संरक्षण समितिले स्थानीय अनेक बाजाको संरक्षण गरिरहेको छ । भीमेश्वर मन्दिरमा नयाँ बजारबाट जान सिँढी र बगैंचासहितको पर्खाल बनाइएको छ । उक्त पर्खाल रु.७ लाख १६ हजार एक सय ३५ मा बनाइएको हो । पर्खाल निर्माणको लागि सहरी विकास तथा भवन निर्माण कार्यालयबाट अनुदान रु.४,७५,०००÷– र भीमेश्वर दर्शनार्थी भेटीबाट उठेको रु.२,४१, १३५ ÷– खर्च गरिएको थियो । सातौं शताब्दीमा बनाइएको भनिएको भीमेश्वर मन्दिरको पुनर्निर्माण गर्न पुरातत्व विभागबाट रु.१३ लाख, सडक आयोजनाबाट ३ लाख, दोलखा गाविसबाट २५ हजार सहयोग जुटेको थियो । उक्त निर्माण कार्य २०६३ मा भएको थियो ।
सम्पदालाई जीवन्त राख्न पुरातत्व विभाग र स्थानीयको ध्यान जानुपर्ने देखिन्छ । मौलिक सम्पदालाई जीवन्तता राख्न सके दोलखा बजार दोलखाको आकर्षण केन्द्र बन्ने छ । हाल दोलखाको पुरानो बजार उजाडजस्तो देखिन्छ । घर बनाउन सरकारले या त भूकम्प पीडितलाई पर्याप्त रकम दिनुपर्छ या त सरकारले नै घर निर्माण गराउनेतर्फ पहल गर्नुपर्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *