– प्रकाश
नेपाल भूपरिवेष्ठित देश हो तर त्यो भन्दा पनि भारत वेष्ठित छ । भारत सरकार र भारतीय नेताहरूले जतिसुकै नेपालको विकासमा सहयोग गर्छौँ भन्ने वाचा र प्रतिबद्धता जनाए पनि व्यवहार त्यसको ठीक उल्टो भइरहेको छ । नेपाललाई भारतले आफ्ना गुणस्तरहीन वस्तु खपत गर्ने बजारमात्र बनाउन चाहेको छ । तर, नेपालबाट केही वस्तु भारत निर्यात भयो भने त्यसलाई रोक्न सय वटा बहाना खोज्ने गरिन्छ ।
सन्दर्भ केही दिनदेखि पूर्वी नेपालबाट भारतमा चिया निर्यातमा रोक लगाइएको घटनाको हो । भारतका केही चिया उद्योगी÷व्यापारीको नेपाली चिया गुणस्तरीय छैन भने उजुरीको आधारमा गुणस्तर परीक्षणको नाममा रोकिएको हो । नेपाली चिया गुणस्तरीय नभएर नभई बढी स्वादिलो भएर पूर्वी भारतको बजारमा लोकप्रिय भएपछि भारतीय उद्योगीको उक्साहटमा रोकिएको हो । नेपाली चिया गुणस्तरहीन भएको भए वार्षिक २० देखि २५ लाख केजी चिया भारतीय बजारमा खपत हुने र थप माग हुने थिएन । गुणस्तर कसैको कथित परीक्षण वा उजुरीको आधारमा मात्र निक्र्योल हुने होइन, उपभोक्ताले अनुभव गरेर पनि हुन्छ । विगतमा नेपालको अदुवा र अलैंचीलाई पनि गुणस्तर परीक्षणको नाममा महिनौँसम्म रोकिएको थियो । अहिले चियामाथिको रोकावट पनि त्यसैको सिलसिलाबाहेक अर्थोक होइन । यसले भारत सरकारको मित्रता र सहयोगको ओठवाचालाई उदाङ्गो पारेको छ ।