भर्खरै :

कर्मकाण्ड नियमलाई ध्यान दिने कि !

–डा. एस. एन. एस.
के तपाईं भक्तपुर नगरपालिकाभित्र नयाँ बस्तीमा घर बनाउँदै हुनुहुन्छ भन्ने तपाईँले घरको नक्सा बनाउँदा सेफ्टी ट्याङ्क देखाउनुपर्छ । अनिमात्र तपाईँको नक्सा पास हुन्छ । घर बनाइसकेपछि निर्माण सम्पन्न लिनको लागि सेफ्टी ट्याङ्क बनाइएन भने प्रमाणपत्र लिन सकिँदैन ।
सेफ्टी ट्याङ्क भनेको के हो ? यो कसरी बनाउनुपर्छ ? यसले कसरी काम गर्छ ? यो किन बनाउनुपर्छ ? इत्यादि प्रश्नहरूबारे के नगरपालिकाका सम्बन्धित कर्मचारीहरूलाई थाहा छ ? के जनतालाई थाहा दिनुपर्ने कर्तव्य होइन ? यी कुरा जनतालाई थाहा दिन नसकेर कतिले निर्माण सम्पन्न प्रमाणपत्र लिन सकेका छैनन् भने कतिले निर्माण सम्पन्न प्रमाणपत्र लिनको लागि मात्र एउटा खाल्डो खने या पानी ट्याङ्क देखाएर लिएका छन् । के यो नियम कर्मकाण्डको लागि मात्र हो कि जनतालाई दुःख दिनलाई बनाएको हो ?
वैज्ञानिक हिसाबले सेफ्टी ट्याङ्क बनाउँदा दुई वटा बनाउनुपर्छ । जुन पानी बाहिर सोसेर नजाने हुनुपर्छ । एउटामा चर्पीबाट आएको फोहर जम्मा हुन्छ र त्यसमा थिग्रिंदै जान्छ । अनि त्यसको पानी अर्को ट्याङ्कीमा जम्मा हुन्छ र त्यसमा पनि केही थिग्रिन्छ । त्यसपछि बाँकी पानी बाहिर निकाली कि त खाल्डोमा जम्मा गर्ने या ढलमा पठाउने गर्दछ । सेफ्टी ट्याङ्कभित्रको ठोस पदार्थलाई जीवाणुले कुहाउने वा मल बनाउने गर्दछ । जसले गर्दा ठोस पदार्थ थोरैमात्र हुन्छ र हामीले वर्षौवर्षसम्म सेफ्टी ट्याङ्क प्रयोग गर्न सकिन्छ ।
तर हामीले सेफ्टी ट्याङ्क बनाउँदा जानेर या नजानेर वाटर प्रुफ नबनाइकन बाहिर पानी सोसेर जाने तरिकाले बनाउँछौँ । किनकि सेफ्टी ट्याङ्क छिटो नभरियोस् र छिटो छिटो सफा गर्नु नपरोस् । पानी सोस्ने किसिमको सेफ्टी ट्याङ्क बनाइँदा के हुन्छ त ? सेफ्टी ट्याङ्क फोहर पानीमा विभिन्न किसिमका जीवाणु ‘ई कोली कोलिफर्म ब्याक्टेरिया’ हुन्छन् । यी जीवाणुहरू जमिनमुनिको पानीको सतहमा पुगेमा ५० मिटर वरिपरिसम्म फैलिन सक्छ । त्यो सङ्क्रमित पानी पिएमा विभिन्न रोग लागी बिरामी हुनेछ । आजकल पानीको अभावले गर्दा हरेक घरमा इनार खनेको हुन्छ र इनारको पानी प्रयोग गर्दछ । एउटा घरको सेफ्टी ट्याङ्क अर्को घरको इनारसँगै बनाइदिँदा के हुन्छ ? के यो कुरालाई सम्बन्धित निकायले ध्यान दिएको छ ? वाटर प्रुफ ट्याङ्की नै बनाए तापनि आजकल शौचालय सफा गर्ने विभिन्न प्रकारका जीवाणु मार्ने या सफा गर्ने रासायनिक पदार्थ प्रयोग गरिएको हुन्छ । जसले गर्दा सेफ्टी ट्याङ्कभित्रको जीवाणु मर्न गई ठोस पदार्थलाई मलको रूपमा परिवर्तन गर्न सकिँदैन र सेफ्टी ट्याङ्क तुरून्त भर्छ । जुन सफा गर्न खर्चालु छ । अनि जनताले सेफ्टी ट्याङ्क बनाउन रूचाउँदैनन् ।
त्यसकारण नगरपालिकाले बनाएको कर्मकाण्डको नियमलाई लागू गर्ने र जनतालाई नक्सा पास गर्दा र निर्माण सम्पन्न लिन दुःख दिने या जनतालाई सेफ्टी ट्याङ्कबारे चेतना दिने हो ? या जनतामा महामारी रोग फैलिन दिने हो । कि त ढल भएको ठाउँमा यो नियमलाई हटाउने हो ? सम्बन्धित निकायको तुरून्त ध्यान जाओस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *