स्थानीय सरकारको बलबुट्टामा सफलतापूर्वक सञ्चालनमा रहेका ख्वप इन्जिनियरिङ्ग कलेज र ख्वप कलेज अफ इन्जिनियरिङ्ग नेपालको शैक्षिक इतिहासका महत्वपूर्ण कोशेढुङ्गा हुन् । २०४६ सालपछि बनेका सरकारहरूले देशमा नवउदार अर्थ प्रणालीलाई प्रश्रय दिए । सरकारले आफ्नो स्वामित्वमा कुनै नयाँ उत्पादन क्षेत्र सुरूवातमात्र नगरेको होइन, भएका सरकारी संस्थालाई समेत एकपछि अर्को गर्दै निजीकरण ग¥यो । अरू धेरै क्षेत्रसँगै शिक्षा क्षेत्र पनि सरकारको नवउदारवादी नीतिबाट प्रभावित बन्यो । निजी शैक्षिक संस्थाहरूको विस्तारलाई सरकारले नै प्रश्रय दियो भने सरकारी शैक्षिक क्षेत्र क्रमशः रूग्न बन्दै गए । शिक्षा र स्वास्थ्यजस्ता जनताको दैनिक जीवन र देशको भविष्यसँग प्रत्यक्ष रूपमा जोडिएका क्षेत्रलाई समेत नाफा–नोक्सानको तुलोमा नापियो । फलतः निम्न वर्गीय परिवारका विद्यार्थीको निम्ति शिक्षा क्रमशः दुर्गम विषय बन्दै गयो ।
राज्यको यो मूलप्रवाह नीतिलाई चुनौती दिँदा भक्तपुर नगरपालिकाले आफ्नै स्वामित्वमा विभिन्न कलेजहरू स्थापना ग¥यो । धारिलो प्रवाहविरूद्ध जानु सहज विषय पक्कै थिएन । तर व्यापक जनताको हितमा कसैले धार चिर्ने साहस नगरी इतिहास निर्माण हुने पनि थिएन । भक्तपुर नगरपालिकामा २०५४ साल निर्वाचित जनप्रतिनिधिहरूले इतिहास निर्माण गर्ने साहस गरे । आज भक्तपुर नपाअन्तर्गत सञ्चालित सात शैक्षिक संस्थाहरू नेपालका सबै स्थानीय तहको निम्ति उदाहरण बनेका छन् । शिक्षा र स्वास्थ्यजस्ता आधारभूत क्षेत्रलाई समेत व्यापारको आँखामा हेर्ने विचारको लागि यी शैक्षिक संस्थाहरू चुनौतीको रूपमा उभिएका छन् ।
बिहीबार ख्वप इ. कलेजले सत्रौं र ख्वप कलेज अफ इन्जिनियरिङ्गले दसौं वार्षिकोत्सव मनायो । झण्डै दुई दसकको यो यात्रा पक्कै पनि सहज र सरल थिएन । सत्ताले थोपरेको धार चिरेर हिंड्नु जोकसैका लागि सजिलो हुने थिएन । तर कठीन यात्राले दिने सफलता दिगो र दीर्घजीवी हुने गर्दछ । आज ती इन्जिनियरिङ्ग कलेजबाट तयार भएका इन्जिनियरहरू देशका हरेक जिल्लामा देश निर्माणमा योगदान गरिरहेका छन् । देशका लगभग सबै प्राविधिक कार्यालयहरूमा ख्वपले हुर्काएका विरूवाहरूले देशमा अक्सिजन दिइरहेका छन् । देश निर्माणमा ख्वपको योगदान कठीन यात्राबाट प्राप्त हुनसक्ने गौरव हो ।
ठूलठूला र चर्का चर्का कुरा गर्ने, सत्तामा जुगा टाँसिएजस्तै टाँसिएर बस्ने स्वार्थी राजनीतिभन्दा ख्वपको जग बनेको जनमुखी राजनीति देश निर्माणको लागि हितकारी भएको समयले पुष्टि गरेको सत्य हो । सत्तामा गएका राजनीतिक दलले सरकारी स्वामित्वमा भएका हिजो अब्बल मानिएका शैक्षिक निकायलाई आज दलीय भागवण्डा, भ्रष्टाचार, खिचातानीका कारण ध्वस्त बनाइसके भने निकै कम बजेट तर व्यापक जनसहभागितामा भक्तपुर नपाले ती शैक्षिक संस्थाहरू सफलतापूर्वक सञ्चालन गरिरहेको छ । यसले राजनीति सबै एकै प्रकारको हुने गर्दैन, नाफाको लागि बाँचेको राजनीति र जनताको राजनीतिबीच भेद रहेको कुरा घामजत्तिकै छर्लङ्ग बनाएको छ ।
निःसन्देह यात्रा अझै लामो छ । सन्तोष प्रगतिको शत्रु हो । भक्तपुरले अझै पनि गरेर देखाउन बाँकी विषय धेरै छन् । भक्तपुर नपाद्वारा सञ्चालित शैक्षिक निकायको सफलताका कारण छटपटी भइरहेका शासकहरूको निम्ति ख्वप विश्वविद्यालयको प्रस्ताव कालकुट विष समान भइरहेको छ । औडाहाले उनीहरू बेलाबेला हुँकार गरिरहेका हुन्छन् । तर यहाँसम्म अनेकन प्रतिकूलसँग पौठेजोरी खेल्दै आइसकेको शैक्षिक आन्दोलनसँग अब अघि बढ्नुको विकल्प छैन । प्रतिकूलतामा एकै जोडी हात र खुट्टाले यात्रालाई सफलतासम्म पु¥याउन कठीन हुनसक्छ । त्यसकारण अझ अघि बढ्ने सबैको साझा सपना साकार बनाउन सबैले होस्टेमा हैसे गर्नुपर्दछ । यहाँसम्मको कठीन तर सफल यात्राका उपलब्धि सबै नेपाली जनताको खुसी र गौरवको कुरा हो ।
स्थानीय तहलाई अधिकारसम्पन्न बनाएसँगै अब देशका धेरै स्थानीय सरकारहरू भक्तपुर नपाले दुई दसकअघि कोरेको बाटोमा अघि बढ्ने अवस्था बनेको छ । यसले अन्ततः देशका व्यापक जनताको हित हुनेछ । ख्वप नामको प्रकाशस्तम्भले आज देशलाई बाटो देखाइरहेको छ ।